+
+

यसपटक कर्णाली सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १५:१९

८ चैत, सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् ।

एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताएका हुन् ।

कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठीक नभएको पनि उनले बताए ।

‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौं भने त्यो उदारता कर्णालीका माओवादी साथीहरूमा हुनुपर्छ,’ महासचिव पोखरेलले भने, ‘अगाडि बढेर उहाँहरूले नै भन्नुपर्छ- हामीले धेरै पटक नेतृत्व गर्‍यौं कमरेड, अब एक पटक तपाईंहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौं ।’

एमालेले मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा सरकारको नेतृत्व गरिसकेको र कर्णालीमा परीक्षण हुन बाँकी रहेको महासचिव पोखरेलले बताए ।

‘कर्णालीमा अहिलेसम्म माओवादीकै साथीहरूको नेतृत्व गरिरहनुभएको छ । एमालेका नेता कार्यकर्ताले पनि एक पटक हामीले नेतृत्व गर्ने मौका पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले हार्दिकतापूर्ण तरिकाले स्वीकार्नुपर्छ । र, स्वागत गर्नुपर्छ’, उनले भने ।

महासचिव पोखरेलले प्रदेश सरकारको नेतृत्वका लागि नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको पनि बताए ।

‘कर्णालीमा माओवादी साथीहरू आफ्नै नेतृत्वको निरन्तरताका लागि काठमाडौं गएको कुरा सही हो भन्ने मलाई लाग्दैन । नेतृत्वका लागि एमाले, माओवादीका कमरेडहरू काठमाडौं धाउनुपर्दैन । नेतृत्वले विवेक पुर्‍याउँछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?