+
+

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री समक्ष निजी क्षेत्रको माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १५:०६

९ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले उद्योगमन्त्री भण्डारीसँग भेट्दै निर्यात गृहको अवधारणा अविलम्ब लागु गर्न आग्रह गरेको हो ।

‘स्थानीय उत्पादनहरुको एकीकृत प्रवर्द्धन, बजारीकरण एवम् गुणस्तर मापन पछि एकद्वार प्रणाली मार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आवश्यक छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चेम्बरले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई सुझाव दिएको छ ।

रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो ।

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै चेम्बरले संसदमा विचाराधिन आर्थिक विधेयकहरुलाई तत्काल पारित गर्न भूमिका खेल्न समेत आग्रह गरेको छ ।

सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियमहरू बाधक रहेकाले समयमै समस्या हल गर्न आग्रह गरेको छ ।

वर्तमान समयमा कालोबजार ऐन २०३२ का कतिपय प्रावधानहरु असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्न पनि चेम्बरले आग्रह गरेको छ ।

स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवम् वनजन्य उद्योगहरुमा आवश्यक कानुन बनाई निर्यात प्रवर्द्धन गरिनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।

एकद्वार प्रणालीमा आधारित स्थायी संयन्त्र मार्फत बजार अनुगमन गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।

चेम्बर अध्यक्ष मल्लले बजार अनुगमनका नाममा व्यवसायीले अनावश्यक दुःख पाइरहेको बताए । उनले उद्योगी व्यवसायीलाई पहिला सुन्ने अनि मात्रै कानुनी प्रक्रियामा जान पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?