+
+

गोरखा अस्पतालका चिकित्सक बिदामा, प्रसूति सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १८:०२

९ चैत्र, गोरखा । गोरखा नगरपालिका–१० की प्रतिमा राना मगर सुत्केरी गराउन बुधबार गोरखा अस्पताल पुगिन् । तर चिकित्सकले सामान्य चेकजाँचसमेत नगरी भरतपुर रेफर गरिदिए । ‘हामी केही दिन बिदामा हुन्छौं, त्यसैले यहाँ हुँदैन भरतपुर जानुस् भन्नुभयो,’ प्रतिमाका श्रीमान् विनोद राना मगरले भने ।

जिल्लामै उपलब्ध सेवाका लागि भरतपुर जानुपर्दा समस्या भएको उनले गुनासो गरे । मगरले भने, ‘गर्भवती भएदेखि नियमित चेकजाँच गोरखा अस्पतालमै गरियो । घर नजिकै भएर सजिलो पनि भएको थियो । तर अहिले सुत्केरी गराउन बाहिर जानुपर्‍यो ।’

शहिद लखन गाउँपालिका–९ का सन्तोष विश्वकर्मा ७ चैतमा श्रीमतीलाई सुत्केरी गराउन गोरखा अस्पताल पुगेका थिए । विश्वकर्माकी श्रीमतीलाई पनि सामान्य परीक्षणसमेत नगरी चिकित्सकले भरतपुर लैजान भने ।

यसरी ७ चैतदेखि सुत्केरी गराउन गोरखा अस्पताल आएका गर्भवती महिलालाई विना चेकजाँच भरतपुर रेफर गर्न थालिएको छ । चिकित्सक अभाव भन्दै अस्पतालले सुत्केरी सेवा दिइरहेको छैन ।

गोरखा अस्पतालमा दुई जना गाइनोक्लोजिस्ट छन् । उनीहरूमध्ये एक जना ७ चैतदेखि तालिममा रहेको अस्पतालका निमित्त मेसु सिद्धार्थ खनालले बताए । ‘एक जना चिकित्सक मात्रै हुँदा सेवा प्रवाहमा समस्या देखिएको हो,’ उनले भने, ‘‘सिजरियन’ नभए पनि ‘नर्मल डेलीभरी’ भइरहेको छ ।’ खनालका अनुसार आज (शुक्रबार) देखि अर्का चिकित्सक पनि घर बिदामा बसेका छन् । यसले गर्दा १० र ११ चैतमा भने सम्पूर्ण प्रसूति सेवा ठप्प हुने उनले जानकारी दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले यो कुरा स्वीकार गर्दै कमजोरी भएको बताए । ‘चिकित्सक नभएर भरतपुर रेफर गरेको भन्ने कुरा मैले पनि सुनेँ,’ उनले भने, ‘यो गलत भयो ।’ यस विषयमा मेडिकल सुपरिटेन्डेन्टसँग कुरा भएको र आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?