+
+

आर्मीविरुद्ध हेल्प नेपाल : घरेलु भलिबल इतिहासकै एक उत्कृष्ट फाइनल

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत ११ गते ८:४९

११ चैत, काठमाडौं । शनिबार राइट टु प्रोटिनहाफ म्याराथनले बिहानैदेखि दशरथ रंगशाला क्षेत्रको रौनक अर्कै थियो । हाफ म्याराथन सकिएपछि आरबीबी आठौं एनभीए राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिला र पुरुषतर्फ फाइनल हुँदै थियो । महिलातर्फ नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल बीचको फाइनलमा नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल हाउसफुल हुन पुग्यो । ३-१ को सेटमा जित्दै एभरेष्ट च्याम्पियन बन्यो ।

कभर्डहलमा खुट्टा टिक्ने ठाउँ थिएन । तर पनि भलिबल संघले टिकट बिक्री गर्न छाडेको थिएन । दिउँसो तीन बजे टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच फाइनल भिडन्त थियो । उक्त फाइनललाई भलिबल समर्थकले भारत र पाकिस्तान बीचको खेलको रुपमा समेत हेरेका थिए । तीन पाकिस्तानी खेलाडी उस्मान, फखारउदीन र कासिफ नविद हेल्प नेपालमा थिए । आर्मीमा नेपाली भलिबलका कप्तान मानबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, हरि अधिकारी र दुर्गा खड्का सिनियर टोलीका खेलाडी थिए ।

फाइनल निर्धारित समयभन्दा एक घण्टा पछि सुरु भएको थियो । पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । हेल्प नेपालको यो अपेक्षाभन्दा खराब प्रदर्शन थियो । आर्मी सुरुवातदेखि नै फरक स्वभावमा मैदान उत्रेको थियो । अझ पाकिस्तानी खेलाडीको रणनीतिविरुद्ध राम्रो होमवर्क पनि गरेको थियो । त्यसैले स्पाइक फ्रन्टलाइनबाट हान्दै लगातार अंक जोडेको थियो ।

दोस्रो सेटमा हेल्प नेपाल १४/९ ले पछि परेपछि प्रशिक्षक उत्सव खड्काले दुई पाकिस्तानी खेलाडी फखार र कासिफलाई बाहिर राख्ने निर्णय लिएका थिए । ती दुई खेलाडी विश्रामपछि फर्किंदा हेल्प नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो । २२-२२ बराबर गर्न सफल भएको थियो । त्यसपछि प्रतिस्पर्धा उच्च भयो । खेल २५-२५ बराबरसम्म पुगेको थियो । त्यसपछि हेल्प नेपालले लगातार दुई अंक जोड्दै दोस्रो सेट २७-२५ ले जितेको थियो ।

तेस्रो सेटमा पनि कडा प्रतिस्पर्धा भए पनि अन्तिममा लगातार दुई अंक जोड्दै आर्मीले २५-२३ ले जितेको थियो । चौथो सेटमा आर्मी सुरुवातमा ८-० ले पछि थियो । आर्मीले उत्कृष्ट पुनरागमन गरेपछि खेल थप रोचक बन्यो । जित्नैपर्ने सेटमा हेल्प नेपालले २९-२७ मा पुगेर जितेको थियो ।

पाँचौं सेटमा त झन् उच्च प्रतिस्पर्धा भयो । पाँचौं सेट १५ मा सकिनु पर्ने थियो । कुनै पनि टोली हार मान्न तयार थिएनन् । २०-२० को बराबरी अवस्थासम्म पुगेको थियो । भलिबल फाइनल वा अन्तिम सेटमा यस किसिमको प्रतिस्पर्धा बिरलै देख्न पाइन्छ । अन्तिममा हेल्प नेपालले २२-२० ले जित्दै खेल र उपाधि जितेको थियो । हेल्प नेपालले उपाधि जित्यो अनि आर्मीले मन जित्यो ।

‘खेलमा अन्तिम ३० सेकेन्डमा पनि कसले जित्छ भनेर थाहा थिएन । साँच्चिकै फाइनल जस्तो खेल भयो । उपविजेता हुँदा हामीले चित्त बुझाउनै पर्छ’, आर्मीका स्पाइकर मानबहादुर श्रेष्ठले भने । त्यसैमा थपे, ‘समर्थकले विश्वास गर्न सक्नु भएको छैन होला । त्यसको लागि म क्षमा माग्न चाहन्छु ।’

‘पक्कै पनि घरेलु भलिबल इतिहासकै एक उत्कृष्ट फाइनल भन्न सकिन्छ । हेल्प नेपालमा तीन अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो । प्रतिस्पर्धा सबैले देख्नु भयो । गत वर्ष हामीले सोझो सेटमा हारेका थियौं, मानबहादुरले भने । उनले थपे, ‘आज टिमको योजना अनुसार प्रदर्शन आएको थियो । अन्तिम ३० सकेन्ड हुँदा हामीले अलिकति सम्हाल्न सकिएन । त्यसैले अलिकति गाह्रो भयो हामीलाई ।’

मौसमी परिवर्तनले मानबहादुर प्रतियोगिता सुरुदेखि नै खासै पूर्णरुपमा फिट थिएनन् । उनका अनुसार दुई पटक विरामी भएर फिट भएका थिए । सेमिफाइनल खेलमा शुक्रबार नेपाल पुलिस क्लबविरुद्ध पहिलो सेटमा केही समय बेन्चमा समेत बस्नु परेको थियो ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?