+
+
एनभीए भलिबल च्याम्पियनसिप :

आर्मीमाथि रोमाञ्चक जितसँगै हेल्प नेपाल च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते १९:०१

१० चैत्र, काठमाडौं । हेल्प नेपालले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ ।

शनिबार  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ ले विजयी हुँदै उपाधि जितेको हो ।

हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७, २२-२० ले जितेको हो ।

पहिलो सेटको सुरुवातमा आर्मी ८-४ को अग्रता लिएको थियो । आर्मीलाई कभर्डहलमा दर्शकको पनि राम्रो साथ मिलेको थियो । आर्मीले लगातार ४ अंकको अग्रता कायम गरेपछि हेल्प नेपाल दबाबमा परेको थियो ।

सेमिफाइनलमा चल्न नसकेका मानबहादुरले पहिलो सेटदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । धनबहादुर र हरि अधिकारीले पनि त्यतिनै प्रभाव छाडे । २३-१८ हुँदै सहज जितको आधार तय गरेको थियो । आर्मी २५-२० ले विजयी हुँदै सेटमा विजयी सुरुवात गरेको थियो ।

दोस्रो सेटको सुरुवातदेखि नै प्रतिस्पर्धा उच्च बनेको थियो । तीन पाकिस्तानी खेलाडीलाई रोक्दै आर्मी ११-८ ले अघि बढेको थियो । १४-९ ले पछि परेपछि हेल्प नेपालले पाकिस्तानका दुई खेलाडी फखार उदिन र कासिफ नवीदलाई बेन्चमा राखेको थियो ।

केही समय विश्रामपछि फर्केका पाकिस्तानी खेलाडीले राम्रो पुनरागमन गराए । लगातार ४ अंक बटुल्दै २३-२२ ले हेल्प नेपाललाई अघि बढाएपछि खेल रोचक बनेको थियो । दुर्गा महतोको चलाखीपूर्ण स्पाइकमा २४-२४ बराबर भएको थियो ।

धन र मानबहादुरको शक्तिशाली स्पाइकको सहयोगमा आर्मीले तेस्रो सेट २५-२३ ले जितेको थियो ।

चौथो सेटको सुरुमा हेल्प नेपालले १०-७ को अग्रता लिएको थियो । एक समय ५ अंकले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै १८-१७ हुँदै अघि बढेको थियो ।

चौथो सेटमा हेल्प नेपालले ८-० को सुरुवात गरेको थियो । आर्मी खेलमा फर्किंदै १३-१५ नजिक पुगेको थियो । राजेन्द्र बिस्ट र धनले लगातार अंक जोडेपछि २२-२२ बराबर भएको थियो ।

 २७ बराबरको रोमान्चक खेलमा हेल्प नेपालले लगातार २ अंकका साथ २९-२७ ले जित्यो ।

निर्णायक पाँचौ सेटमा आर्मीले ५ बराबरबाट लगातार दुई अंक जोडेको थियो । आर्मीले ८-६ मा कोर्ट परिवर्तन गरेको थियो । हेल्प नेपालले ९ मा पुगेर बराबरी गरेको थियो । उच्च प्रतिस्पर्धा भएको खेल २०-२० बराबरीमा पुगेको थियो । हेल्प नेपालले २२-२० ले जित्न सफल हुँदै च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस तेस्रो बने । महिलातर्फ फाइनलमा एभरेष्ट भलिबल क्लब बुटवलले जितेको जित्यो । एभरेष्टले फाइनलमा पुलिसलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?