+
एनपीएल २०२६ :

इफ्तिखार र हुनेन शाह फर्किने, पीसीबीको अन्तिम जवाफ कुर्दै जनकपुर

२०८३ कात्तिक  ११ गते ११:४५ २०८३ कात्तिक ११ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पीसीबीले अनुमति दिने संकेत नदेखाएपछि जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह फर्किने भएका छन्।
  • जनकपुरले पीसीबीको अन्तिम जवाफका लागि बिहीबारसम्म पर्खिने र बुधबारसम्म स्पष्ट निर्णय नआए दुवै खेलाडी टोलीमा नराख्ने तयारी गरेको छ।
  • सीईओ निरोज खतिवडाले पीसीबीसँग फ्रेन्चाइजको प्रत्यक्ष कुरा नभएको र खेलाडीको अनुपस्थितिले टोली सन्तुलन तथा रणनीतिमा असर परेको बताए।

११ कात्तिक, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनुमति दिने संकेत नदेखाएपछि जनकपुर बोल्ट्सका दुई पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह फर्किने भएका छन्। जनकपुरले पीसीबीको अन्तिम जवाफका लागि बिहीबारसम्म पर्खिने र त्यसपछि खेलाडी फर्काउने तयारी गरेको छ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाका अनुसार फ्रेन्चाइजले पीसीबीलाई इमेलमार्फत सम्पर्क गरे पनि आधिकारिक जवाफ पाएको छैन। बुधबारसम्म स्पष्ट निर्णय नआए दुवै खेलाडीलाई टोलीमा राखिरहनुको औचित्य नहुने उनले बताए।

‘हामीले पीसीबीलाई इमेल गरेका छौँ। बुधबारसम्म स्पष्ट जवाफ आएन भने खेलाडी फर्कनुहुन्छ। उहाँहरूलाई यहाँ राखेर नखेलाई बसाउनु पनि राम्रो हुँदैन’ खतिवडाले भने।

पीसीबीले पाकिस्तानी खेलाडीलाई एनपीएल खेल्न अनुमति दिन २५ हजार अमेरिकी डलर मागेको भन्ने विषयमा भने खतिवडाले फ्रेन्चाइजसँग बोर्डको त्यस्तो कुनै प्रत्यक्ष कुराकानी नभएको स्पष्ट पारे। उनका अनुसार उक्त रकम मागिएको विषय सार्वजनिक सञ्चारमाध्यममा आएको भए पनि जनकपुर बोल्ट्सलाई पीसीबीले आधिकारिक रूपमा त्यस्तो माग गरेको जानकारी छैन।

‘फ्रेन्चाइजसँग पीसीबीको कुरा नै भएको छैन। खेलाडी र उनीहरूको बोर्डबीचको विषय हो। हामीलाई उनीहरूलाई अनुमति दिने वा नदिने विषयमा प्रत्यक्ष सम्बन्ध राख्ने अधिकार पनि छैन’ खतिवडाले भने।

उनका अनुसार पाकिस्तानी खेलाडीको अनुपस्थितिले जनकपुरको टोली सन्तुलन र रणनीतिमा असर परेको छ। प्रतियोगिताको सुरुवात हुनुभन्दा दुई दिनअघि मात्र समस्या स्पष्ट हुँदा वैकल्पिक खेलाडी खोज्नसमेत कठिन भएको उनले बताए।

‘हामीले जुन योजनाका साथ टोली बनाएका थियौँ, त्यसमा असर परेको छ। दुई जना गुणस्तरीय खेलाडीलाई बेन्चमा राख्नुपर्ने अवस्था आयो। उनीहरूका लागि बनाइएको योजना कार्यान्वयन हुन सकेन’ खतिवडाले भने।

जनकपुरले पाकिस्तानी खेलाडीको अनुपस्थितिलाई ध्यानमा राख्दै वैकल्पिक खेलाडीको व्यवस्था गर्नुपरेको छ। खतिवडाका अनुसार टोलीले ब्याकअपका रूपमा कुशल परेरालाई पनि अनुबन्ध गरेको थियो। तर, खेलाडीको उपलब्धतामा अन्तिम समयमा आएको अनिश्चितताले टोलीको तयारी प्रभावित भएको उनको भनाइ छ।

उनले फ्रेन्चाइज क्रिकेटमा यस्ता चुनौती आउन सक्ने भए पनि प्रतियोगिताको बीचमा खेलाडीको उपलब्धता अनिश्चित हुँदा टोली व्यवस्थापनलाई कठिन हुने बताए। नेपाली समर्थकलाई निराश हुन नदिन सकेसम्म बलियो टोली उतार्ने प्रयास गरिरहेको पनि उनले बताए।

एनपीएल २०२६ जनकपुर बोल्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय