+
+

एमालेको कास्की अधिवेशन : पृथ्वीसुब्बा र खगराज गुटकै प्रतिस्पर्धा

अमृत सुवेदी अमृत सुवेदी
२०८० चैत ११ गते १८:२५

११ चैत, पोखरा । नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहे पनि नेकपा एमालेको कास्की जिल्ला कमिटीको अधिवेशनमा प्यानलगत रुपमा नै प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाईं यसपटकको अधिवेशनमा पनि देखिएको छ ।

यो अधिवेशनले १२० सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्र्टीबाट आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्ने अध्यक्ष मनबहादुर गुरुङले बताए ।

यसअघि २०७८ सालमा भएको जिल्ला अधिवेशनमा पनि प्यानलगत रुपमा नै प्रतिस्पर्धा भएको थियो । २०७८ पुस २८ गते पृथ्वीसुब्बा समूहबाट अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी र खगराज समूहबाट सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) विजयी भएका थिए ।

कास्की र आसपासको राजनीतिमा खाइखेली गरेका खगराजको क्षेत्रमा संघीयतापछि पृथ्वीसुब्बा जब गण्डकी प्रदेशको मुख्यमन्त्री हुन आइपुगे त्यतिबेलादेखि नै यी दुई समूहको प्रतिष्ठासँग जोडिँदै आएको हो ।

२०७९ को स्थानीय तहको निर्वाचन हुँदै एमाले गण्डकीको प्रथम अधिवेशनसम्म आइपुग्दा त यी दुईबीचको प्रतिस्पर्धा निकै पेचिलो र निषेधकै तहमा देखिएको थियो ।

गत असोजमा भएको गण्डकी अधिवेशनमा पृथ्वीसुब्बा र खगराज समूहले प्यानलै बनाएर प्रतिस्पर्धामा जाँदा अध्यक्ष र पदाधिकारीसहित अधिकांश सदस्यमा पृथ्वीसुब्बा समूहले जितेको थियो ।

यसपटक कास्की जिल्ला अधिवेशनको प्रतिनिधि छनोटमै दुई गुटबीच विवाद देखिएको थियो । पृथ्वीसुब्बा पक्षका एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले सुरुको ४० जनामा १ प्रतिनिधि र त्यसपछि प्रत्येक २१ जनामा थप एक प्रतिनिधि ल्याउने गरी सर्कुलर जारी गरेका थिए ।

पार्टीले पहिलो आधार ४० मान्ने र त्यसपछि पनि थप ४० जनामै अर्को प्रतिनिधि ल्याउने गरी गरेको निर्णयविपरीत सर्कुलर जारी गरिएको भन्दै स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज थममाया थापा केन्द्रमै उजुरी लिएर पुगेकी थिइन् ।

केन्द्रले ३ चैतमा प्रतिनिधि छनोट प्रक्रिया स्थगित गर्दै फेरि बैठक बसेर विवाद टुंग्याउन परिपत्र गरेको थियो । परिपत्रपछि मध्यमार्गी रुपमा पहिलो आधार ४० जनालाई मान्ने र त्यसपछि प्रत्येक ३० जना बराबर थप १ प्रतिनिधि आउने सहमतिपछि शनिबार अधिवेशन उद्घाटन भयो । आइतबार अधिवेशनको बन्दसत्र चलिरहेको छ ।

कास्की जिल्ला अधिवेशनमा पनि प्यानलै चुनावमा प्रतिस्पर्धा गर्ने संकेत नेताहरुले गरिरहेका छन् । अहिले केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै फेरि गण्डकी मुख्यमन्त्री हुने दिनको पर्खाइमा रहेका खगराज यतिबेला एमालेको कास्की अधिवेशनमा लचिलो देखिएका छन् ।

उपमहासचिव पृथ्वीसुब्बाले पनि पोखरामै बसेर गुटगत तयारीमा भने लामो समय खर्चिएनन् । तर, खगराज समूहबाट स्वयं स्थायी कमिटी सदस्य थममाया थापा र कृष्ण थापाले नेतृत्व गरिरहेका छन् भने पृथ्वीसुब्बा समूहबाट जगत विश्वकर्मा, भीम कार्कीले नेतृत्व गरिरहेका छन् ।

उद्घाटन सत्रमा खगराजले गुटको राजनीति अन्त्य गर्दै उदाहरण पेश गर्न आह्वान गरे । ‘कमरेडहरु कहिलेकाहीँ सोचेजस्तो नहुन सक्छ, मैले पाइन भन्ने हुन सक्छ । तपाईंहरुले नै सर्वसम्मत बनाउन सक्नुहुन्छ’, शनिबार उद्घाटन सत्रमा खगराजले भने, ‘फुट र गुट मुर्दावाद, नेकपा एमाले जिन्दावाद भनेर जानेछौं ।’

पृथ्वीसुब्बा अर्को कार्यक्रममा भएकाले उद्घाटन सत्रमा ढिला गरी आइपुग्दा प्रमुख वक्ता महासचिव शंकर पोखरेल बोल्न थालेसकेकाले अवसर पाएनन् ।

गण्डकी अहिलेसम्म अधिवेशन भएका २ जिल्लामध्ये म्याग्दीमा सर्वसम्मत रुपमा कमिटी चयन भएको थियो भने गोरखामा चुनावै भएर पृथ्वीसुब्बा समूहको वर्चश्व देखिएको थियो । गण्डकीका ११ जिल्लामध्ये अधिवेशन हुने कास्की तेस्रो जिल्ला हो ।

अधिवेशनबाटै एमाले नेताको होइन, जनताको बनाइदिन खगराजले आह्वान गरेका थिए । अधिकारी कास्कीमै आफ्नो वर्चश्व गुमाउन चाहन्नन् । भरसक उनी नेतृत्व र केही पदाधिकारी आफ्नो पक्षका उम्मेदवारलाई दिलाएर सर्वसम्मत होस् भन्ने चाहन्छन् ।

खगराज समूहबाट अध्यक्षमा हालको सचिव बैनबहादुर अधिकारी र सचिवमा उपसचिव दर्शन लामाले उम्मेदवारी दिने पक्काजस्तै भइसकेको छ । यी दुबै उम्मेदवार खगराज समूहका सबैभन्दा बलिया बन्ने विश्लेषण नेताहरुले पनि गरिरहेका छन् ।

पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा अहिलेका उपाध्यक्ष तेजनारायण अधिकारी र नेता माधव बास्तोलाले दाबी गरिरहेका छन् । उपाध्यक्ष रहेका तेजनारायणलाई दिँदा पार्टी कार्यकर्ताको भावना उनीप्रति बढ्न सक्ने र बास्तोलालाई दिँदा युवा मत आउन सक्ने विश्लेषण गर्दै यो समूहले टुंगो लगाइसकेको छैन ।

केन्द्रीय सदस्य जगत विकले यो समूहबाट बास्तोलालाई अध्यक्ष उठाउन चाहेका छन् भने पृथ्वीसुब्बा पनि सकारात्मक देखिएका छन् ।

पृथ्वीसुब्बा समूहबाट सचिवमा सुरेन्द्र गुरुङको बढी सम्भावना देखिएको छ । अन्य पदाधिकारीमा पनि टुंगो लगाउन नेताहरुलाई सकस परिरहेको छ ।

कास्कीमा खगराज समूह बलियो देखिएको र उम्मेदवार पनि जनस्तरमा भिजेको तथा अनुभव बटुलेका हिसाबले पनि स्वभाविक देखिएकाले पृथ्वीसुब्बा समूहलाई बढी नै दबाब सिर्जना भइरहेको सोही समूहका नेताहरुले बताइरहेका छन् । तर, दुबै पक्षले चुनावी गृहकार्य र जितको दाबी भने गरिरहेका छन् ।

आइतबार अधिवेशनको बन्द सत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुँदै पारित भएर मनोनयनको चरणमा प्रवेश गर्ने छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?