+
+
फिल्म समीक्षा :

धे ड्रिम्स : हामी ‘जलवायु शरणार्थी’ बन्न तयार भएका हौं ?

‘धे ड्रिम्स’ले यो जलवायु संकटको यो बृहत्तर पाटोमा प्रकाश पार्ने प्रयत्न गरेको छ । खासगरी कम पानी पर्ने अर्थात् ‘रेन स्याडो’ क्षेत्रमा पर्ने मुस्ताङ, मनाङ र डोल्पा यसबाट प्रभावित छन् । अहिले पनि उनीहरु जलवायु वित्तबाट लाभान्वित हुन सकिरहेका छैनन् ।

विष्णु शर्मा विष्णु शर्मा
२०८० चैत १२ गते १७:४२

मुस्ताङको धे गाउँको व्यथा कुनै ‘डिस्टोपियन’ फिल्मको पटकथा भन्दा कम छैन । ३ हजार ९०० मिटर उचाइको यो गाउँमा जलवायु संकटले ल्याएको त्रासदी यति गहिरो छ कि गाउँ नै उठिबास भइसक्यो ।

५५ हिउँद खेपेकी स्थानीय कुञ्चोक डोल्करलाई अहिले पनि घर नजिकै बग्ने कलकल खोलामा पौडी खेलेको सम्झना छ । अहिले खोलाको नामोनिसान छैन । एक गाग्री पानी भर्न घण्टौं हिंड्नुपर्ने बाध्यता कुञ्चोकजस्ता धे गाउँका महिलाको नियति हो । छोराछोरी पोखरामा बस्छन् तर कुञ्चोकलाई जन्मे हुर्केको थलो छाडेर बतासिन मन छैन ।

३५ वर्षकी लाक्पा चिन्जोङको व्यथा उस्तै छ । गाईवस्तु पाल्ने, बिहान-बेलुका देउतालाई धुप बाल्दैमा जीवन बित्दो छ । रित्तो घरमा उनी एक्ली हुन् । श्रीमान कमाउन विदेशिए । परिवारका सदस्यको रुपमा कुकुर र बिराला मात्र छन् ।

कुञ्चोक र लाक्पा मात्र होइन, गाउँका ५८ वर्षे जामाङ याङ्चुक, ४० वर्षे सोनम साङ्बो सबैको व्यथा उही मसीले लेखिएको छ । जलवायु संकटले गाउँ उठिबास भएको छ । गाउँमा अड्किएका वृद्धवृद्धा समेत पोखरा झर्ने तयारीमा छन् ।

तथ्यांक भन्छ- गाउँमा रहेका दुई दर्जन कृत्रिम पोखरी सुकेर समाप्त भएका छन् । एउटा सामुदायिक पोखरीले मात्र पानीको अभाव पूर्ति गर्दै आएको छ । यसरी हेर्दा जीवनयापनमा सुधार, पानीको सुविधा र खेतीपाती गर्ने जमिन खोज्दै गाउँ छाड्नेको मुख्य कारण देखिन्छ ।

धे गाउँका यी सबै महिला र पुरुष शान्ता नेपाली निर्देशित डकुमेन्ट्री फिल्म ‘धे ड्रिम्स’का पात्र हुन्, जो जलवायु संकटले सबथोक गुमाउन बाध्य छन् । नेपालको पहिलो ‘जलवायु शरणार्थी’को गाउँ भनेर चिनिने यो गाउँको कथामा उनले बनाएको २७ मिनेट लामो यो फिल्म हाम्रो भविष्य चिहाउने मिल्ने आँखीझ्याल पनि हो ।

गएको अक्टोबरमा अन्नपूर्ण आधार शिविर पुगेका राष्ट्रसंघीय महासचिव एन्टोनियो गुर्टेरेसले निकट भविष्यमै जलवायु विपत्ति आउन सक्ने चेतावनी दिए । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८)मा पनि उनले नेपालका हिमाल पग्लिएको, हिमाली क्षेत्रमा अभूतपूर्व रुपमा खानेपानी संकट देखिएको भन्दै विश्वको ध्यानाकर्षण गराए ।

यो मर्मस्पर्शी डकुमेन्ट्रीले राष्ट्रसंघका प्रमुखको उक्त ‘वेक अप कल’लाई सम्झाउँछ । धे जस्ता हिमाली गाउँ कसरी जलवायु विपत्तिले सिर्जना गरेको मानवीय, सामाजिक, लैंगिक र आर्थिक चुनौतीसँग जुध्न बाध्य छन् भन्ने चित्रण यो फिल्ममा छ ।

‘मेरा बच्चा कोही पनि गाउँमा बस्न मान्दैनन् । म बिरालोसँगै बस्छु । खानेपानी ल्याउन सके गाउँ छाडेर हिंडेका पनि फर्किने थिए,’ फिल्ममा कुञ्चोकको संवाद छ, ‘अरु यस्तै हो । बिरामी हुँदा निकै गाह्रो छ ।’ मुस्ताङको सबैभन्दा ठूलो पर्व यार्तुङ मनाउन कोही पनि गाउँ नफर्किने गुनासो उनको छ ।

निर्देशक नेपालीले धे गाउँसहित मुस्ताङी पठारको कथाव्यथा भन्न यी पात्र छनोट गरेकी छन् । यी पात्रले गाउँमा बस्दाका दुःखजिला क्षण, हिउँ नपर्दा अन्नबाली नउब्जिएकोदेखि पछिल्लो समय वर्षातमा आउने बाढीले ल्याउने विनाशका कथा डकुमेन्ट्रीमा बताएका छन् ।

मौमसी परिवर्तनले धेजस्ता मुस्ताङका हिमाली गाउँले ‘जलवायु शरणार्थी’ समस्या झेलिरहेको भन्ने कथ्य डकुमेन्ट्रीको सार हो । केही वर्षअघिसम्म २६ घरधुरीका १६३ जनसख्ंया गाउँमा रहेपनि यीमध्ये आधाजसो बाहिरिएका छन् ।

गाउँ छाड्नेमा युवा र कमाउने उमेर समूहका बढी छन् । हिंड्न नसक्ने वृद्धवृद्धा मात्र गाउँमा रोकिएका छन्, जो थातथलो छाड्न चाहँदैनन् । जलवायु संकटको सिधा असर अझै महिलामाथि पर्न गएको देखिन्छ ।

उपयुक्त कथामा उपयुक्त पात्रको चित्रण डकुमेन्ट्री फिल्म निर्माणको पूर्वसर्त हो । ‘सिनेम्याटिक लिबर्टी’को सुविधा यसमा हुँदैन । ‘धे ड्रिम्स’ले यस्ता यथार्थपरक र संकटबाट ग्रसित वास्तविक पात्रको अनुभवलाई जसरी चित्रण गरेको छ, यो मर्मस्पर्शी देखिन्छ । कुञ्चोक र लाक्पा त प्रतिनिधि उदाहरण मात्र हुन्, मुस्ताङसहित हिमाली क्षेत्र अहिले यो अभूतपूर्व वातावरणीय संकटमा पिल्सिएको छ ।

वृत्तचित्रले प्रमुख पात्रको संवाद, दैनिकी, स्याउ उत्पादन, त्यसको बिक्री र उनीहरुको मनोदशालाई चित्रण गरेको छ । ६-६ महिनाको अन्तरालमा खिचिएकाले पनि उनीहरुको खेतीपाती, पर्व र संघर्षको चक्रलाई मिहिन ढंगमा उतार्न सकेको देखिन्छ । बर्खामा खोलाको बाढीले बाटो बिराएर बालीनाली र बाटो तहसनहस पर्ने समस्या पनि प्रस्तुत छ । यसका लागि निर्देशकले आर्काइभ भिडियोको प्रस्तुतिमार्फत दृश्यलाई अझै मार्मिक र चोटिलो बनाउने प्रयास गरेकी छन् ।

कथ्य संरचनामा नवीनता छैन । कथावस्तु र प्रस्तुतिले इन्गेज चाहिं तुल्याउँछ । किनभने अहिलेसम्म बाहिरी विश्वले मुस्ताङी सौन्दर्य र पर्यटनको मात्र चर्चा गर्‍यो । तर त्यहाँको जीवनको अँध्यारो पाटोबारे चर्चा भएन । त्यो विषम आयामलाई फिल्मले सार्वजनिक प्रयत्न गरेको छ ।

हिमालपारिको जिल्लाबारे नदेखिएको यो पक्षलाई पर्दामा हेर्दा यसले दर्शकमा एकैसाथ कौतुहलता र चिन्ता थपिदिने पक्का छ । चिन्ता यसर्थ कि, विश्वव्यापी उष्णताले ल्याएको असर हाम्रा हिमालमा देखिन सुरु भइसकेको छ ।

सूचना दिन र समस्या पहिल्याउन फिल्म सक्षम पनि छ । स्क्रिप्टको अनुसन्धान जलवायु संकटले महिलाको जीवनमा ल्याएको चुनौतीमा बढी केन्द्रित छ । अक्षर नचिन्ने र नेपाली भाषा बोल्न नआउँदा झन् उनीहरुमाथि पीडा छ । जसले गर्दा बाहिरी समाजसँग खुल्न उनीहरु सक्दैनन् । पर्दामा मनोदशा, मानवीय सूक्ष्मता हेर्दा उनीहरु भिन्न संसारमा बाँचेका छन् । जलवायु दुष्चक्रले जीवनको गति धीमा भएको छ ।

दर्शकको रुपमा हामीले अझै मानवीय र सांस्कृतिक पाटोमा आएको परिवर्तनको आयाम बुझ्न यो फिल्मबाट अपेक्षा गर्न सकिन्थ्यो । किनभने विकास र आधुनिकताको नाममा अहिलेको मुस्ताङमा सुविधासँगै सांस्कृतिक विनाश पनि निम्तिएको छ ।

घोडा र खच्चर बेचेर मुस्ताङीले मोटर किन्न थालेका छन् । अब यो हिमाली पठारमा तिनको क्याराभान देखिंदैन, बरु धुलो उडाउँदै बत्तिएका मोटरको लस्कर देख्न सकिन्छ । तर खास मुद्दा र पात्रमा आधारित रहेर गरिएको यो सही अनुसन्धान पक्कै हो । स्क्रिप्ट अनुसन्धानको परिधिलाई फराकिलो तुल्याउन सकेमा अझै मुस्ताङले भोगिरहेको चुनौती बुझ्न सजिलो हुन्थ्यो ।

यति हुँदाहुँदै पनि फिल्मले एउटा विचार निर्माण गर्छ, प्रेरणा दिन्छ र संवेदना बाँड्छ । पात्र, छायांकन र ब्याकग्राउण्ड स्कोरको संयोजन उत्कृष्ट छ । पात्र स्थापना, उनीहरुको द्वन्द्व र दर्शकीय अन्तरक्रिया गराउने कार्यमा निर्देशक सफल छिन् । फिल्म उत्कृष्ट हुन ‘लार्जर देन लाइफ’ हुनुपर्छ भन्ने छैन । मामुली पात्रलाई लिएर बनाइएका गहिरा र सरल चरित्र भए मात्र त्यो फिल्मले जीवन बोक्छ ।

आकर्षक ल्याण्डस्केप खिचेर मात्र छायांकन उत्कृष्ट हुने होइन । राम्रा दृश्य कम्पोज गरेर मात्र सिनेम्याटोग्राफी हुने होइन । ‘धे ड्रिम्स’का प्रत्येक सट अर्थपूर्ण छन् । प्रत्येक सटले दर्शकीय मनोविज्ञान सिर्जना गर्छन् । शून्यतालाई पनि फिल्मभित्र ध्वनि मानिन्छ । ध्वनिले कथावाचनको सघनता र लोकेसनको आञ्चलिकतालाई दर्शाउन सक्नुपर्‍यो । पार्श्व ध्वनिको पक्ष यसको अर्को अब्बल पक्ष हो ।

निर्माण गुणस्तर, छायांकन, पार्श्व ध्वनि र सम्पादनले कथावाचनलाई मद्दत गरेका छन् । वाचनको जुन गति छ, त्यसले दर्शकीय रुचिलाई अन्त्यसम्म जीवितै राख्छ । कुनै एउटा हिमाली गाउँभित्र लगेर फिल्मले दर्शकलाई त्यहाँका मान्छे, संघर्ष, संस्कृति र भाव बुझ्न मद्दत गरेको छ, जुन दृश्यभाषाको सफलता हो ।

जलवायु परिवर्तनको चपेटामा जसरी हिमाल पग्लिरहेका छन् र हिमाली गाउँको इको-सिस्टम प्रभावित बनिरहेको छ, संसारलाई हाम्रा कथा सुनाउन ढिला भइसक्यो । तेस्रो ध्रुवको रुपमा रहेको सगरमाथा र हिमालय क्षेत्रको हिउँ पग्लिनु भनेको भविष्यमा हिन्दकुश हिमालय क्षेत्रको करिब दुई अर्ब जनसंख्याले पिउने पानी, सिंचाई र जलविद्युत प्रभावित हुनु हो । किनभने हिमालबाटै बगेर आउने पानीले हिमाली गाउँ सिञ्चित हुने हो ।

‘धे ड्रिम्स’ले यो जलवायु संकटको यो बृहत्तर पाटोमा प्रकाश पार्ने प्रयत्न गरेको छ । खासगरी कम पानी पर्ने अर्थात् ‘रेन स्याडो’ क्षेत्रमा पर्ने मुस्ताङ, मनाङ र डोल्पा यसबाट प्रभावित छन् । अहिले पनि उनीहरु जलवायु वित्तबाट लाभान्वित हुन सकिरहेका छैनन् ।

तपाईंलाई जलवायु संकट र यसले नेपालको हिमाली क्षेत्रमा पारेको असरबारे जान्न मन छ भने यो फिल्म दर्शनीय हुनसक्छ । यो फिल्मले दर्शकलाई राष्ट्रसंघका प्रमुख एन्टोनियो गुर्टेरसले भनेजस्तै ‘वेक अप कल’बारे जानकारी दिन्छ ।

यो ‘वेक अप कल’बारे सरकार र विश्वलाई सुनाउन ढिला भइसक्यो । ‘धे ड्रिम्स’ फिल्मले हामीलाई पुनः सोध्छ- के हामी ‘जलवायु शरणार्थी’ बन्न तयार छौं ? होइन भने अब जाग्ने बेला भइसक्यो ।

निर्देशक : शान्ता नेपाली

अनुसन्धानकर्ता र लेखक : सारा फ्रेनिङ, अन्देज अधिकारी

छायांकन : शिशिर बिशंखे, शान्ता नेपाली

ब्याकग्राउण्ड स्कोर : विश्व शाही

सम्पादन र रंग संयोजन :ञ्जीवरत्न शाक्य

(डकुमेन्ट्री फिल्म ‘धे ड्रिम्स : भोइसेज फ्रम द रुफ अफ द वर्ल्ड’ले नेपालयुरोपियन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।)

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?