+
+
फिल्म समीक्षा :

बन्सिस अफ इनिसेरिन : गहिरा चरित्र, विस्फोटक दृश्यभाषा

विष्णु शर्मा विष्णु शर्मा
२०८० चैत ९ गते १७:२०

यो फिल्मको बीचतिरको एउटा दृश्यमा दुई प्रमुख पात्रको संवाद छ । प्याड्राइक भन्छ- ‘मैले तिमीलाई त्यस्तो के गरें ?’

कोलम जवाफ दिन्छ- ‘ठीकै छ, तिमीले मलाई केही गरेनौ । म तिमीलाई मन पराउँदिनँ ।’

प्याड्राइक फेरि भन्छ- ‘तर तिमीले मलाई हिजो मनपराउँथ्यौ ।’

यसरी दुई मित्र एकाएक चीर प्रतिद्वन्द्वी बन्छन् । कारणबिनै मित्रता टुंग्याउने कोलमको निर्णयपछि प्याड्राइक विचलित हुन्छ । ऊ मित्रतालाई टुंग्याउन चाहँदैन । ‘ब्रेकअप’ रोक्न प्रयत्न गर्छ ।

प्याड्राइक यत्तिमै रोकिंदैन । हठ् बढ्दै गएपछि कोलमले चेतावनी दिन्छ- ‘यदि तिमी गाउँमा मेरो कुरा काट्दै हिंड्यौ भने मलाई डिस्टर्ब गर्‍यौ भने प्रत्येक चोटि मेरो औंला काटिदिन्छु ।’

अनि सुरु हुन्छ दृश्यभाषाको सुन्दर सिलसिला । मार्टिन म्याकडोनाघको यो ‘दुःखद् हास्य’ ब्रह्माण्डभित्र डुबुल्की मार्दा मैले आफ्नै जीवनका धेरै अनुभूति सम्झिएँ । यी अनुभूति निजत्वदेखि, राजनीति, कूटनीति र सामाजिक आयाममा हामी वरपर छरपस्ट छन् । हामी बाँचिरहेको समयमा पनि यो सान्दर्भिक छ ।

निर्देशक म्याकडोनाघको डेब्यु कथानक ‘इन ब्रुग्स’ले दिमाग हल्लाएको थियो । त्यही फिल्मका मुख्य पात्रलाई एकठाउँमा ल्याएर उनले अहिले असाधारण कथा पस्किएका छन् । यो फिल्मलाई पछिल्लो दशककै महान् ‘ब्रेकअप’ फिल्म मान्न सकिन्छ जुन रमाइलो, डरलाग्दो र हृदयविदारक दृश्यको पटाक्षेप हो ।

चलिरहेको युद्ध एकाएक रोकिन सक्छ । लयमा बगिरहेको थलो एकाएक ध्वस्त हुनसक्छ । युद्ध त्रासदी झेलिरहेका गाजा होस् या रुस-युक्रेन, निर्देशकले पात्रको द्वन्द्वमार्फत दर्शकलाई त्यो संसारमा सयर गराउने प्रयत्न गरेका छन् । एकछिनलाई मानौं, इनिसेरिन टापु म्याकडोनाघको ब्रह्माण्ड हो र हामी त्यहाँका आदिवासी ।

आयरल्याण्डको देहाती चट्टानी टापु इनिसेरिन विश्व नक्सामा देखापर्दैन, यसको भूगोल अस्पष्ट छ । मनोहर ल्यान्डस्केपले यो थलो जति सुन्दर देखिन्छ, उत्तिकै निर्मम पनि । चारैतिर पानीले घेरिएको टापु कट्टर पितृसत्तात्मक र रुढिवादी प्रेरित छ । स्वेटर, भेडा, गिनिज बियरका चुस्कीदेखि खरानी छानासम्मले आइरिसको प्रामाणिकतालाई मात्र दर्शाउँदैनन्, कला डिजाइनमा गरिएको यो मेहनतलाई निर्देशक म्याकडोनाघको ब्रह्माण्ड पनि मान्न सकिएला ।

उनको कथ्य शैली, सौन्दर्य शास्त्र र शिल्प विन्याससँग परिचित हुनुहुन्छ भने ‘द बन्सिस अफ इनिसेरिन’ले तपाईंलाई नयाँ सिनेम्याटिक स्वाद दिलाउन सक्छ । उनको कथ्य युनिभर्ससँग परिचित हुनुहुन्न भने एड्भेन्चरका लागि तयार हुनुस् । फिल्मभित्र जे देख्नुहुन्छ- त्यसलाई विश्वास गर्नुपर्छ भन्ने पनि छैन, वास्तविक जीवनमा नहुन पनि सक्ला । तर पात्रको निष्कपट इमान्दारी र संघर्षबाट तपाईंमा मानवीय बाछिटाले पक्कै स्पर्श गर्नेछन् ।

यो फिल्मलाई सन् १९२३ को ‘टाइम एण्ड स्पेस’मा छायांकन गरिएको छ, जतिबेला आइरिस गृहयुद्ध सकिने संघारमा थियो । निर्देशकले आफ्नो पछिल्लो फिल्म ‘इन ब्रुग्स’ स्टारहरु कोलिन फारेल (प्याड्राइक सुइलेभान) र कोलम डोहर्टी (ब्रेन्डन ग्लेसन)को मित्रता कसरी चीर दुश्मनीमा परिणत हुन्छ भन्ने कथालाई आइरिस गृहयुद्धको विम्बसँग जोडेर भनेका छन्, जसले तत्कालीन राजनीतिप्रति निर्देशकीय अभिव्यक्तिलाई दर्शाउँछ ।

एउटा दृश्यमा कोलम बाटोमा एक्लै हिंडिरहेको देखिन्छ । समुन्द्रपारिको आइरिस मुख्यभूमिमा बम पड्किएको देखिन्छ । अचानक कोलमले आफू प्याड्रियाकसँग अबदेखि साथी नबन्ने घोषणा गर्छ । निर्देशकले द्वन्द्वसँगै ल्याउने विच्छेद र त्रासदीको गजबको रुपक हो यो ।

कुल मिलाएर यो फिल्म प्याड्राइक र कोलम वरपर फन्को मार्छ । सरल कथा तर दृश्यभाषाको विस्फोटक शक्तिलाई म्याकडोनाघले पटकथामा बुनेका छन् । प्याड्राइक एक मिलनसार गाईगोठालो हो । कोलम एक उदास संगीतकर्मी । कोलमले अचानक र एकतर्फी रूपमा मित्रताको अन्त्यको घोषणा नगरेसम्म उनीहरूले स्थानीय पबमा हरेक दिउँसो सँगै बियर पिउँछन् ।

कोलम एकदम गम्भीर छ । प्रत्येक चोटि प्याड्राइकले ऊसँग कुरा गर्ने हिम्मत गर्छ । तर कोलमको प्रतिबद्धता छ- यदि उसलाई बाधा पुग्यो भने उसले औंलाहरु काट्नेछ । एक भायोलिनवादकले दिएको यो तर्कहीन र चकित पार्ने धम्कीले फिल्मको गतिलाई रोचक ढंगले अघि बढाउँछ । केन्द्रीय द्वन्द्वमा प्रवेश गर्न ढिलाइ गर्दैन । पटकथाको यो कसिलो लयले दर्शकलाई पात्र र मनोदशासँगै यात्रा गराउँछ ।

कोलम वचनको पक्का छ । प्याड्राइकको घरको ढोकामा औंला छिनालेर फाल्छ । यो देख्दा दर्शकलाई कोलमको दिमागमा के चलिरहेको छ भन्ने कुरा स्वीकार्न मुस्किल पर्छ । यो बुझ्ने जिम्मा निर्देशकले दर्शकीय विवेकमा छाडेका छन् । फिल्म सकिंदासम्म दर्शकले एउटै प्रश्न आफैंलाई सोध्छन्- कोलमको मनमा के खेल्दैछ ? किन ऊ प्रश्न र सम्बन्धबाट भाग्न चाहन्छ ? ऊ किन रित्तो घरमा एउटा कुकुरलाई परिवार ठानेर मात्र बस्छ ?

कोलमको मुड बुझ्न उसको घरमा झुण्डाइएका मास्क र खेलौनाको आकृति हेरे पुग्छ । यस्तो लाग्छ, ऊ आफूभित्र अर्को एक अलग संसार बाँचिरहेको छ । म्याकडोनाघको ‘ट्राजिकमेडी’ जुन शैली छ, उनले कोलममार्फत उक्त दर्शनलाई देखाउन खोजेका छन् । नत्र, दर्शकलाई लाग्न सक्छ- किन कोलम प्याड्राइकसँग रिसाएको होला ?

मिहिन ढंगले केलाउँदा, दर्शकले यसको जवाफ पाउँछन् । किनभने कोलम दिनचर्यामा परिवर्तन ल्याउन अधैर्य छ । ऊ नयाँ धुन कम्पोज गर्दैछ । उसलाई लाग्छ- पिउने साथीसँग बिताएको समयले सम्भावित उत्कृष्ट धुन सिर्जनाबाट विचलित तुल्याउन सक्छ । तर उसले जुन धम्की दिएको छ, त्यो धम्कीको पनि उत्कर्ष हो ।

म्याकडोनाघको ब्रह्माण्ड यो मात्र होइन । कोलम र प्याड्राइक मान्छे र अन्य प्राणीसँग पनि जोडिएका छन् । कोलम एक बिरामी कुकुरसँग बस्छ । पशुपालन गर्ने प्याड्राइक जेनी नामको गधासँग आत्मीय छ । ऊ आफ्नी समझदार बहिनी सिओभान (केरी कन्डोन)सँग बस्छ जसको सपना चुपचाप इनिसेरिन टापु छाड्नु हुन्छ ।

छायाकार बेन डेभिस र प्रोडक्सन डिजाइनर मार्क टिल्डेस्लेले चित्रकारी सजावट पोतेका छन् । यो दृश्य भव्यता र सौन्दर्य हेर्दा हामीलाई भर्मीरको क्यानभास र डेनिस निर्देशक कार्ल थिओडोर ड्रेयरको रचनाको सम्झना आउँछ । ब्याकग्राउण्ड स्कोरर कार्टर बुर्वेलले पार्श्वध्वनिमा यस्तो मीठो लय सिर्जना गरेका छन्, जसले दर्शकीय मनोविज्ञान सिर्जना गर्छ ।

इनिसेरिन टापुको संसार कोमलताले भरिएको जस्तो पनि देखिन्छ । जसका प्रत्येक पात्र एकल, विधवा र एक्लो छन् । हामी यी पात्र, उनीहरुको भोगाइ र दृश्य कम्पोज हेर्दा निस्सारता र रित्तो महसुस गर्छौं । कोलमले चर्चको पास्टरलाई भने जस्तै दुई युद्धरत पुरुष कहिल्यै पनि आत्माका असल मित्र हुन सक्दैनन् । म्याकडोनाघको चुपचाप र भव्य फिल्म यति डरलाग्दो र उदास देखिन्छ कि निर्देशकको रुपमा उनी दर्शकीय दिमाग हल्लाउन सक्षम छन् ।

यदि तपाईं परम्परागत मापदण्डमा आधारित कमेडी वा नाटकको आशा राख्नुहुन्छ भने यो फिल्म केही अपुरो हुनसक्छ । बरु, यसलाई राम्रोसँग चम्काइएको र रङ पोतिएको कुनै सानो गाउँको गसिपको टुक्राको रुपमा लिनु उपयुक्त हुन्छ । इनिसेरिन वास्तविक भूगोल त नहुनसक्छ तर यसका विलक्षण पात्र, हिंसात्मक दृश्य, जीवन्त स्थानीय कथाले यसलाई एक आकर्षक पर्यटकीय गन्तव्य चाहिं अवश्य बनाउँछन् ।

आइरिस ग्रामीण इलाकाको यो सबैभन्दा सुन्दर र शान्त पृष्ठभूमिमा यो एक सरल र प्रभावशाली कथावाचन हो । यो फिल्म एकैसाथ हृदयस्पर्शी र हृदयविदारक छ । सोच्नका लागि तपार्इंलाई यसले भावनात्मक तौल बोकाइदिन्छ । अर्थपूर्ण मानव अन्तरक्रियामा केन्द्रित अभूतपूर्व छायांकन शैली, जहाँ नायक वा खलनायक छैनन् । न कुनै भयंकर लडाइँ छ । न कुनै सीजीआई र स्पेसल इफेक्ट । मात्र सुन्दर छायांकन, उत्कृष्ट अभिनय र पात्रहरु ।

यो डार्क-कमेडी फिल्म सकिंदासम्म मैले यसमा अपेक्षाभन्दा पनि धेरै भावनात्मक ‘ट्रिटमेन्ट’ पाएँ । अवसाद, मानसिक रोग, दुर्व्यवहार, अराजकता, एक्लोपन र निराशाका चित्र मस्तिष्क वरपर घुमिरहें, हुनसक्छ म्याकडोनाघले आफ्नो ब्रह्माण्डमा अस्तित्ववादी निराशाको यो अध्याय लेख्ने प्रयत्न गरिरहेका छन् ।

उत्कृष्ट फिल्म बनाउन राम्रो लेखन, कलाकार, विशेषज्ञ सिनेम्याटोग्राफी र वातावरण चाहिन्छ भन्ने उदाहरण यसमा छ । मार्मिक पार्श्वध्वनिले दर्शकलाई अन्तर्मनको जुन यात्रा गराउँछ, यो अब्बल छ । पटकथाको लयमा छायांकन र पार्श्वध्वनिको संयोजन जसरी बुनिएको छ, यो निकै सुन्दर छ । फिल्म कथा होइन, त्यसको प्रस्तुतीकरण हो । जटिल दश्यभाषाको दबदबा भइरहेको समकालीन विश्व फिल्ममा ‘द बन्सिस अफ इनिसेरिन’ले फिल्म सरल हुनुपर्छ सन्देश दिन्छ ।

म्याकडोनाघ, फारेल र ग्लेसन विश्व फिल्मका अविश्वसनीय त्रिकुट हुन् । तिनीहरूले सँगै काम गर्दा रचनात्मक चमक सिर्जना हुन्छ । पछिल्लो समय विश्व फिल्मको उत्कृष्ट प्रस्तुतिको रुपमा मैले यसलाई पाएँ । सुन्दर छायांकन, प्रमुख पात्रको जटिलता, बौद्धिकता र राजनीतिक आयाममा यो हाम्रो समयको उत्कृष्ट फिल्म हो । धेरै समयसम्म यो फिल्मको दृश्यभाषा हाम्रो मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहनेछ ।

फिल्म : द बन्सिस अफ इनिसेरिन

निर्देशन/पटकथा : मार्टिन म्याकडोनाघ

कास्ट : कोलिन फारेल, ब्रेन्डन ग्लेसन, ब्यारी के ओघन, केरी कोन्डन

(काठमाडौंमा जारी नेपाल-युरोपियन फिल्म फेस्टिभलको ओपनिङ फिल्मको रुपमा ‘द बन्सिस अफ इनिसेरिन’को प्रदर्शन गरिएको थियो । यो फिल्म ओस्कार अवार्डका ९ विधामा मनोनयन भएको थियो । सन् २०२२ का संसारका १० उत्कृष्ट फिल्ममध्ये यसलाई समावेश गरिएको छ ।)

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?