+
+
ब्लग :

खेलकुदको अध्यात्म साइनो

खेलकुद भनेको केवल रमाइलोको लागि गरिने सामान्य क्रियाकलाप मात्र होइन यो अध्यात्मको सुगन्धले सजिएको सिकाउने महत्वपूर्ण अभ्यास हो । यहाँ खेल मार्फत अप्रत्यक्ष रूपमा अध्यात्मको महत्वपूर्ण अभ्यास भइरहेको हुन्छ ।

विश्वास अर्याल विश्वास अर्याल
२०८० चैत १२ गते १३:४७

सामान्य रूपले हेर्दा खेल शारीरिक गतिविधि हो जुन मनोरञ्जन, स्वास्थ्य र प्रतिस्पर्धाको निम्ति खेलिन्छ । धेरैजसो मानिसहरू रमाइलो, शारीरिक तथा मानसिक स्वास्थ्यको लागि खेल खेल्छन् । शरीरका सम्पूर्ण अंगलाई क्रियाशील तथा स्वस्थ राख्न खेल आवश्यक र महत्वपूर्ण छ । त्यसबाहेक खेलले मानिसहरूमा आत्मानुशासन, सहकार्य, सद्भाव एवम् मानसिक शान्तिको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसकारण बालबालिकादेखि वृद्धवृद्धासम्मले विभिन्न खेल खेल्न र हेर्न मन पराउँछन् ।

संसारभर विभिन्न प्रकारका खेलहरू आविष्कार भएका छन् । मानिसहरूले खेलिरहेका छन् । रमाइलो, शारीरिक तथा मानसिक स्वास्थ्यसँगै खेल व्यवसाय र राष्ट्रिय पहिचान एवम् सम्मानको आधार पनि बनेको छ । आज विश्वभर मुख्य रूपमा फुटबल र क्रिकेटका क्लबहरू ठूलो उद्योगको रूपमा फस्टाइरहेका छन् ।

विश्वभर खेलकुदको अर्थतन्त्र हरेक वर्ष बढिरहेको छ । यसको मतलब खेलकुद महत्वपूर्ण व्यवसाय बनेको छ । नेपालमा पनि व्यवसायी खेलाडीहरू खेलबाटै स्थापित भएका छन् । फुटबलबाट ब्राजिल, क्रिकेटबाट भारत जस्तै थुप्रै देशहरू आफ्नो खेलकुदबाट संसारभर चिनिएका छन् । संसारभर खेलबाट राष्ट्रहरू परिचित र सम्मानित पनि बनेका छन् ।

वास्तवमा खेलले बाहिर मात्र होइन हरेक खेलाडीलाई भित्रबाट पनि विकसित एवम् आनन्दित बनाइरहेको छ । एउटा कुशल खेलाडी बन्न समर्पण र सजगता अति आवश्यक छ । एउटा खेलाडीले तबसम्म खेलमा राम्रो गर्न सक्दैन जबसम्म उसले आफ्नो मन र शरीरको सम्बन्ध बुझ्दैन ।

सुरुमा खेलाडीले सोचेर वा मनको निर्देशन अनुसार खेल खेल्छ । सोचेर, योजना बनाएर विस्तारै अभ्यस्त भएपछि खेलाडीले आफसेआफ नसोची खेल्न थाल्छ । कता बल हान्ने, कसरी हान्ने केही सोच्नुपर्दैन । सबै स्वतः हुन्छ । यो अवस्थालाई विचारशून्य अवस्था भनिन्छ । हरेक खेलाडी विचारशून्य भएर ध्यानको अवस्थामा खेल्छन् ।

खेल खेल्दा एकप्रकारको गहिरो ध्यानको अभ्यास पनि भइरहेको हुन्छ । यसरी खेलकुद अध्यात्मसँग पनि जोडिएको छ । शरीर, मन र आत्माको सम्बन्धको विस्तृत अध्ययन नै अध्यात्म हो । यदि हामीले खेललाई अध्यात्मसँग जोड्न सके प्रत्येक खेल ध्यान हुन्छ । र त्यो ध्यानको अभ्यासबाट उसले आफ्नो खेलकुद तथा समग्र जीवनमा अभूतपूर्व विकास गर्न सक्छ ।

खेलाडी हरदम सजग हुनुपर्छ । त्यसको लागि उसले आफ्नो श्वास–प्रश्वासलाई ख्याल गर्न सक्छ । जति ऊ श्वाससँग जोडिन्छ त्यति ऊ अस्तित्व र ऊर्जासँग जोडिन्छ । यसरी अस्तित्व र ऊर्जासँग जोडिनु नै ‘नो माइन्ड’ को अवस्था हो । केन्डो र आईकिडो जस्ता जापानी मार्शल आर्टस्हरूमा जेन (ध्यान) को प्रयोग हुन्छ ।

निरन्तर अभ्यास मार्फत अभ्यासकर्ताहरूले ‘मुसिन’ वा नो माइन्डको अवस्था हासिल गर्न सक्छन् । यसले उनीहरूलाई अनेक परिस्थितिहरूमा सहज र शानदार रेस्पोन्स् दिन सक्षम बनाउँछ । यस्तो अभ्यासले खेलाडीमा सजगता र वर्तमान क्षणमा उपस्थित हुन सिकाउँछ । ध्यानको अभ्यास गर्ने खेलाडीहरूले विचलनको स्थितिलाई शान्त गरेर र आफ्नो खेलमा ध्यान दिएर आफ्नो पूर्ण क्षमताको उपयोग गर्न सक्छन् ।

ध्यानले सबैभन्दा पहिले मनमाथि काम गर्छ । मनमाथि नियन्त्रण लिने विधि नै प्रसन्नताको लामो गहिरो श्वासको अभ्यास हो । खेलको बखत मन शान्त भएको अवस्थामा खेलाडीले गरेको निर्णय हितकार हुन्छ । खेल पनि आकर्षक बन्छ । खेलाडी र परिवारहरूप्रति पनि सद्भावपूर्ण व्यवहार बन्छ ।

अतः खेलकुद भनेको केवल रमाइलोको लागि गरिने सामान्य क्रियाकलाप मात्र होइन यो अध्यात्मको सुगन्धले सजिएको सिकाउने महत्वपूर्ण अभ्यास होस् । यहाँ खेल मार्फत अप्रत्यक्ष रूपमा अध्यात्मको महत्वपूर्ण अभ्यास भइरहेको हुन्छ । कोही गुरुजनसँग जोडिएर यसबारे थप कुराहरू सिक्न सके संसारका हरेक खेलाडीहरूले खेल मार्फत उन्नत जीवनको लागि महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्छ ।

(अर्याल तेक्वान्दो प्रशिक्षक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?