+
+

आत्तिएका दुर्गा प्रसाईंलाई अदालतको त्राण

बी एण्ड सी मेडिकल कलेजको पक्षमा सर्वोच्च अदालतको आदेश

छोटो समयमा सत्ताशक्तिको समेत साथमा आर्थिक महत्वाकांक्षालाई चकाचौध गरेका प्रसाईं पछिल्लो समय भने सबै मित्र तथा प्रेरकहरुसँग भड्केका थिए । अदालतको आदेशपछि उनलाई त्राण मिल्न सक्ने देखिन्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० चैत १२ गते २०:४५

१२ चैत, काठमाडौं । शीर्ष नेताहरुसँग पहुँच, अनि चिकित्सा शिक्षामा कहलिएका व्यक्तिहरुसँग निकटता बढाउन सफल हुँदा पनि दुर्गा प्रसाईंले बिर्तामोडस्थित बी एण्ड सी अस्पताललाई मेडिकल कलेजका रुपमा चलाउन सकिरहेका थिएनन् । उनले यो बीचमा पार्टी बदले, नेता बदले, अन्तिममा व्यवस्था नै बदल्छु भनेर समेत हिंडे ।

तिनै दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार उनको पक्षमा आदेश जारी गरेको छ ।

राज्यसंयन्त्र र सरोकारवाला निकायहरुलाई प्रभावित पारेर नेपालमा मेडिकल कलेजहरु खोल्ने लहर चलेका बेला २०६८ सालमा प्रसाईले झापाको बी एण्ड सी मेडिकल कलेजका लागि शिक्षा मन्त्रालयबाट आशयपत्र प्राप्त गरेका थिए । उनले २०७४ सालसम्म हरेक वर्ष आशयपत्र नवीकरण गराइरहेका थिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठ प्राध्यापकलाई उपेक्षा गरेर अनुकुलको व्यक्ति डिन नियुक्त गर्न थालेपछि डा. गोविन्द केसीले चरणवद्ध रुपमा सत्याग्रह सुरु गरेका थिए ।

आफू अनुकूलको डीन नियुक्त गर्ने र उसलाई विभिन्न मेडिकल कलेज सम्बन्धका लागि दबाब दिने क्रम बढेपछि आईओएममा चिकित्सा शिक्षा सुधार अभियान अघि बढ्यो ।

आईओएमभित्रकै संयन्त्रमाथि प्रश्न उठ्दा समेत काठमाडौं विश्वविद्यालयमा भने बेथिति रोकिएको थिएन । सम्बन्धमा प्रश्न उठेपछि उसले विस्तारित कार्यक्रमको नाममा देवदह र विराट मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो । प्रसाईको बी एण्ड सी मेडिकल कलेज पनि काठमाडौं विश्वविद्यालयबाटै सम्बन्धन पाउने दाउमा थियो ।

तर उनको प्रयासमा तगारो बन्न आइपुगे डा. गोविन्द केसी, जसले मेडिकल शिक्षा सुधारका लागि उच्चस्तरीय चिकित्सा शिक्षा आयोगको माग राखिरहेका थिए ।

सुरुमा मेडिकल कलेज सम्बन्धनमा देखिएको अनियमिततामाथि छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बन्यो । त्यही आयोगको सिफारिसमा कानुन बनेर चिकित्सा शिक्षा आयोग गठन भएको हो ।

आयोग गठन भइसकेपछि प्रसाईंलाई झन् प्रतिकूल अवस्था आइलाग्यो ।

तर प्रसाईं यत्तिकैमा गलेनन् ।

राजनीतिक पहुँचका आधारमा व्यवसाय अघि बढाएका प्रसाई शुरुमा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक थिए । माओवादी र एमालेको एकीकरणपछि उनी दुवैसँग नजिकिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाललाई घरमा बोलाएका थिए ।

एउटै डाइनिङ टेबलमा उनले नेताहरुलाई मार्सी चामलको खाना खुवाएको तस्विर सार्वजनिक भएको थियो । त्यही फोटो सार्वजनिक भएपछि स्वार्थ समूहले राजनीतिलाई गलत रुपमा उपयोग गरेको घटनालाई सांकेतिक रुपमा ‘मार्सी चामल’लाई बिम्ब समेत बनाइएको थियो ।

आफूलाई नकारात्मक बनाइएको मार्सी विम्ब यति चर्चित भयो कि त्यसैबाट हौसिएर उनले मार्सी नामक बियर समेत बजारमा ल्याए ।

सर्वोच्च अदालतको आदेशमा २०७७ सालमा नेकपा एकीकरण पूर्ववर्ती अवस्थामा फर्किपछि भने मेडिकल व्यवसायी प्रसाईले बाटो मोडे । उनी पुष्पकमल दाहालको साटो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक हुन थाले ।

प्रसाईले प्रधानमन्त्री ओलीबाट झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गराए । उदघाटनका लागि उनले प्रधानमन्त्री ओली लगायत थुप्रै अतिथिहरूलाई झापा बोलाएका थिए । हेलिकप्टरबाट पत्रकार एवं सञ्चारकर्मीहरु समेत ओसारे ।

उद्घाटन कार्यक्रममा प्रसाईले ओलीको तारिफ गरे । ओलीले विएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने घोषणा गरेका थिए ।

‘यो क्यान्सर अस्पताल मात्र हैन, बी एन्ड सी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ,’ ओलीले त्यसबेला भनेका थिए, ‘केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं । यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदै छ ।’

एकातिर आशयपत्र नवीकरण भएको थिएन भने अर्कोतर्फ कतिपय कागजात नपुगेका कारण शिक्षा मन्त्रालयले उनको सम्बन्ध प्रक्रिया अघि बढाउन सकेन । कानुनी रुपमा कलेजले सम्बन्धन नपाउने भएपछि उनले पटकपटक राजनीतिक चाल अघि बढाएका थिए ।

राजनीतिमा समेत सक्रिय हुने घोषणा गरेका प्रसाई चितवनमा भएको एमाले महाधिवेशनपछिको बैठकबाट केन्द्रीय सदस्य मनोनित भएका थिए । एमालेको केन्द्रीय सदस्य रहेकै बेला एउटा कार्यक्रममा झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई आमन्त्रण गरेपछि उनी एमालेबाट निष्काशित भए ।

कानुनी रूपमा कलेजको अहिले सम्बन्धन नपाउने कारण प्रसाईंले राजनैतिक चाल चले । यही सिलसिलामा प्रधानमन्त्री ओली स्वयं अग्रसर भएका थिए । प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको प्रत्यक्ष तजबिजमा बालुवाटारमा बसेको काठमाडौं विश्वविद्यालयको सिनेटले एजेण्डामै नभएको सम्बन्धन सम्बन्धी निर्णय समेत गरेको थियो ।

मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा गोविन्द केसीले आमरण अनशन गर्दै आएका छन् । एकातिर मापदण्ड पूरा नहुने, अर्कोतर्फ डा. केसीको आन्दोलनका कारण मेडिकल कलेजहरुलाई जथाभावी सम्बन्धन बाड्ने विकृति धेरै हदसम्म रोकिएको थियो । आयोगले पनि सम्बन्ध दिने प्रक्रिया रोकेको थियो ।

प्रसाईंले आयोगको उक्त अडानलाई चुनौती दिंदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । चिकित्सा शिक्षा ऐन आउनुभन्दा अघि आशयपत्र लिएको मेडिकल कलेजका हकमा ऐन लागू नहुने भन्दै उनले सम्बन्धनको माग राखेका थिए ।

एकातिर सम्बन्धन नपाएका कारण प्रस्तावित मेडिकल कलेज र अस्पतालले बैंकको व्याज तिर्न नसक्ने, अर्कोतर्फ राजनीतिक रुपमा समेत ‘कर्नर’मा परेपछि उनले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध आन्दोलन अघि बढाएका थिए ।

पछिल्लो समय उनी निश्चित व्यापारिक समुदायमाथि आक्रमण गर्ने, बैंक तथा वित्तीय संस्थाविरुद्ध आक्रोश व्यक्त गर्ने अभियानमा थिए, त्यहीक्रममा केही महिनाअघि काठमाडौं केन्द्रित विरोध प्रदर्शन समेत गरेका थिए ।

उनका क्रियाकलापहरु प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई टाउको दुःखाइ समेत बनेको थियो । अनेक क्रियाकलापका कारण चर्चामा आइरहने प्रसाईले अहिले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं भन्ने नारा अघि सार्दै आफ्नो अभियान चलाइरहेका छन् ।

किन रोकिएको थियो सम्बन्धन ?

२०७५ मा चिकित्सा शिक्षा ऐन बन्नुपूर्व सम्बन्धित विश्वविद्यालयहरुलाई नै सम्बन्धन दिने अधिकार थियो । विश्वविद्यालयका पदाधिकारीले प्रभावमा परेर जथाभावी सम्बन्धन दिलाएको आक्षेप लागेपछि सम्बन्धन लगायतका प्रक्रिया सबै ऐनमार्फत आयोगमा ल्याइएको थियो ।

मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा. गोविन्द केसीले आमरण अनशन गर्दै आएका छन् ।

बी एण्ड सीले सम्बन्धनका लागि भन्दै फागुन २०७६ मा आयोगमा निवेदन दिएको थियो । चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार, आयोगले अध्ययन गरेर आशयपत्र नवीकरण नभएको भन्दै प्रक्रिया अघि बढाउन नमिल्ने लिखित जवाफ दिएको थियो ।

‘बी एण्ड सी कलेजको आशयपत्र नवीकरण भएको थिएन । विश्वविद्यालयको सहमतिपत्र पनि थिएन’ पूर्व उपाध्यक्ष डा.गिरीले भने, ‘आशयपत्रका लागि कागजपत्र नपुगेका कारण हामी अनुगमनको चरणमा पनि पुगेका थिएनौं ।’ बी एण्ड सीले १५ फागुन, २०७३ मा काठमाडौं विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन पेश गरेको थियो ।

झापाको बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज ।

मेडिकल कलेजको सम्बन्धनमा चिकित्सा शिक्षा आयोग सर्वाधिकार सम्पन्न छ । अब सम्बन्धन पाउन आयोगको निर्णय चाहिन्छ भने आयोग गठन हुनुअघि आशयपत्र लिएका र पूर्वाधार तयार गरेका प्रस्तावित कलेजहरुको हकमा आयोगले नै निर्णय गर्न पाउँथ्यो । तर आयोगले आशयपत्र नवीकरण नभएको भन्दै बीएण्डसीको निवेदन अघि बढाएन ।

नयाँ कानुन अनुसार कुनै पनि विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेज सञ्चालन गर्न सक्दैनन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले यसअघि नै ५/५ वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका छन् । अरु विश्वविद्यालयले चिकित्सा शिक्षा कार्यक्रम अघि बढाएका छैनन् । त्यसैले गर्दा उनले सम्बन्धन पाउने अवस्था थिएन ।

आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

चिकित्सा शिक्षा ऐनमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था छ । काठमाडौं विश्वविद्यालयले यसअघि नै ११ भन्दा बढी मेडिकल र डेन्टल कलेजलाई सम्बन्धन दिइसकेको छ ।

काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा आयोगको निर्णय नै सर्वोपरि हुन्थ्यो । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ । आयोगले सम्बन्धनको सिफारिस गरेमा मात्रै काठमाडौं विश्वविद्यालयले थप नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने बाटो खुल्छ ।

आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको हो ।

सोमबार सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गर्‍यो, जसमा न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले दुर्गा प्रसाईले दायर गरेको निवेदनमाथि उत्प्रेषणको आदेश जारी गरेको थियो ।

‘रिट निवेदनमा जे मागदावी थियो, इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ,’ सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । विस्तृत विवरण त संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा होला ।’

शिक्षा मन्त्रालयबाट आशयपत्र लिएर मेडिकल कलेज निर्माण अघि बढाए पनि त्यसले पूर्णता पाएपछि सम्बन्धन नदिइएको भन्दै प्रसाईले २०७७ सालमा तीन महिनाको फरकमा छुट्टाछुट्टै दुईवटा रिट निवेदन दिएका थिए ।

सबै पूर्वाधार तयार भइसक्दा पनि सम्बन्धन नदिएर ‘आफ्नो वैध अपेक्षा पूरा नगरेको’ प्रसाईको दाबी थियो । तिनै दुई निवेदनमा सर्वोच्च अदालतले उत्प्रेषणको आदेश जारी गरेको हो । निवेदनको माग जायज देखेमा कुनै काम गर्नु भनी अदालतबाट जारी हुने आदेशलाई उत्प्रेषणको आदेश भनिन्छ ।

छोटो समयमा सत्ताशक्तिको समेत साथमा आर्थिक महत्वाकांक्षालाई चकाचौध गरेका प्रसाईं पछिल्लो समय भने सबै मित्र तथा प्रेरकहरुसँग भड्केका थिए । अदालतको आदेशपछि उनलाई त्राण मिल्न सक्ने देखिन्छ ।

यति हुँदाहुँदै पनि पूर्णपाठ नआउँदासम्म आगामी प्रक्रियाहरु के हुन्छ भन्ने बारे स्पष्ट नहुने जानकारहरु बताउँछन् । उनको आशयपत्र नवीकरण नभएकाले थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन । आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झा उक्त विषय पुरानो भएकाले आफूलाई जानकारी नभएको बताउँछन् । डा. झाले भने ‘सर्वोच्चबाट पूर्णपाठ आएपछि मात्रै जवाफ दिन सकिन्छ ।’

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने ‘रिट जारी’ भन्ने आदेशबाहेक अरु केही पनि विवरण सार्वजनिक नभएकाले थप प्रतिक्रिया दिन नसकिने बताए ।

उनले भने, ‘निर्णयको संक्षिप्त प्रति वा पूर्णपाठ आएपछि मात्रै कसको हकमा के आदेश भयो, किन त्यस्तो आदेश जारी भएको हो भन्ने विस्तृत जानकारी पाउन सकिएला ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?