+
+

दुर्गा प्रसाईंलाई बैंकको सावाँ मात्रै साढे ५ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते २०:४१
फाइल तस्वीर

१२ चैत, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा ब्याज बाहेक नै बैंकहरुको करिब ५ अर्ब ५७ करोड कर्जा रहेको खुलेको छ ।

प्रसाईंलगायतको लगानीका ती कम्पनीमा ८ वटा बैंक तथा वित्तीय संस्थाको ५ अर्ब ५७ करोड कर्जा रहेको नेपाल राष्ट्रबैंक स्रोतले जनायो ।

प्रसाईंले मुख्य रुपमा यी दुई कम्पनी र अर्को एक होटलका लागि समेत ऋण लिएको स्रोतको दाबी छ ।

प्रसाईंले एक वर्षभन्दा बढी अवधिदेखि सो ऋणको ब्याज पनि तिरेका छैनन् । कुनै कर्जामा २०७९ असोज र कुनैमा पुससम्मको ब्याज तिरेको स्रोतले बतायो ।

होटल कर्जा भने ग्रेस अवधिमै रहेकोले राष्ट्र बैंकको नियामकिय व्यवस्था अनुसार ब्याज पूँजीकरण भइरहेको छ ।

सर्वोच्च अदालतले प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएसँगै बैंकहरुले समेत सन्तोषको सास फेरेको एक बैंकरले अनलाइनखबरलाई बताए ।

प्रसाईको बीएण्डसी मेडिकल कलेजमा साविकको जनता बैंकको नेतृत्वमा प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक (साविकको एनबी बैंक) कुमारी बैंक (साविकको एनसीसी बैंक) राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सको लगानी रहेको छ ।

सह–वित्तीयकरणमा लगानीको नेतृत्व साविकको जनता बैंकले गरे पनि उक्त बैंक ग्लोबल आईएमई बैंकमा मर्जर भएसँगै अहिले ग्लोबल आईएमई बैंकले नै उक्त कर्जाको नेतृत्व गरेको छ । यस बाहेक ग्लोबल आईएमई बैंकको नेतृत्वमा प्रसाईंकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा समेत बैंकहरूको लगानी रहेको छ ।

प्रसाईंको कर्जा असुलीमा समस्या भएसँगै बैंकहरूले धितो लिलामी गर्ने चेतावनी दिएका थिए । बैंकहरुले धितो लिलामी गर्ने चेतावनी दिएसँगै उनले झापा जिल्ला अदालतमा लगानीको नेतृत्व गरेको ग्लोबल आईएमई बैंकसहितका बैंकलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

‘प्रसाईंले सरकारले प्रारम्भिक स्वीकृति दिएसँगै आफूले स्वपूँजी र बैंक कर्जा लिएर मेडिकल कलेजका लागि आवश्यक संरचना बनाएको तर सरकारले मेडिकल कलेज सञ्चालनको स्वीकृत नदिएको भन्दै कर्जा सम्झौता अनुसार मेडिकल कलेज सञ्चालन नहुँदासम्म ब्याज तिर्नु नपर्ने’ दाबी सहित रिट दायर गरेका थिए ।

झापा जिल्ला अदालतले उक्त रिटको सुनुवाई गर्दै अर्को फैसला नहुाँदसम्म सावाँ ब्याज असुल नगर्नू भनेर अन्तरिम आदेश दिएको थियो । त्यसपछि बैंकहरुले उच्च अदालत इलाममा पुनरावेदन गरेका थिए । पुनरावेदनमा पनि झापा जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

झापा जिल्ला अदालतको आदेशसँगै बैंकहरुले बीएण्डसी मेडिकल कलेजको कर्जाको ब्याज पूँजीकरण गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

यसबाहेक पनि विभिन्न चारवटा बैंकले प्रसाईंकै झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि लगानी गरेका छन् ।

कुमारी बैंकको अगुवाइमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक र गुडविल फाइनान्सले २ अर्ब ४८ करोड रुपैयाँको कर्जा सम्झौता गरे पनि करिब १ अर्ब ७५ करोड रुपैयाँ ऋण दिए भने अन्य ऋण दिन आनकानी गरेपछि उक्त विषय पनि अदालतमा पुगेको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले कुमारी बैंकलाई तत्काल कर्जा असुली नगर्न आदेश दिएको छ ।

अदालतले कर्जा असुलीमा अवरोध गर्ने तर प्रसाईं भने बैंकको ऋण मिनाहा हुनुपर्छ भन्दै आन्दोलन चलाउने गर्न थालेपछि बैंकहरु तनावमा परेको एक बैंकरले बताए ।

‘बैंकहरुले सरकारले दिएको आशयपत्रका आधारमा धितो लिएर नै लगानी गरेका छन् । तर, दशकसम्म मेडिकल कलेजले सम्बन्धन पाएन । त्यसो हुँदा कर्जा असुलीमा उनलाई पक्कै पनि अप्ठ्यारो परेको हामी महसुस गर्छौं । तर, ऋण मिनाहा हुनपर्ने माग राख्दै उनले आन्दोलन नै गर्दा बैंकहरु दबाबमा आएका हुन्,’ ती बैंकरले भने ।

तर, प्रसाईंलाई कलेज सञ्चालको पूर्वस्वीकृति दिएर सञ्चालन अनुमति नदिने काम गलत रहेको र अदालतले त्यसलाई सच्याइदिएको ती बैंकरले बताए ।

‘तत्काल कर्जा असुलीमा समस्या रहे पनि अदालतको आदेशबमोजिम कलेजले सम्बन्धन पायो भने बैंकहरुको लगानी उठ्छ,’ ती बैंकर बताउँछन् ।

नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारी पनि प्रसाईं अराजक भए पनि मेडिकल कलेजको लगानीमा भने राज्यले प्रसाईंमाथि अन्याय गरेको र अदालतले त्यसलाई सच्याएको बताउँछन् ।

‘सरकारले स्वीकृत दिएको ठाउँमा बैंकहरुले लगानी गरेका हुन् । यसमा बैंकको गल्ती देखिन्न । व्यवसाय सञ्चालन अनुमति नदिनु राज्य प्रणालीकै कमजोरी थियो,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?