+
+

दुर्गा प्रसाईंका बडिगार्डलाई छाेड्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १९:२०

१३ चैत, काठमाडौं । हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो ।

लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै प्रसाईका बडिगार्डका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

उनीहरू दुवैलाई प्रहरीले ५ चैतमा सर्वोच्च अदालत प्रवेश गर्दैगर्दा पक्राउ गरेको थियो । उनीहरूको साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने १ सय राउण्ड गोली समेत बरामद भएको थियो ।

हतियार बोक्न पाउने लाइसेन्स खड्काको नाममा थियो । तर अदालत प्रवेश गर्दा हतियार भित्र लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले तर्क गरेको छ ।

इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको आदेशमा उल्लेख गरिएको छ ।

‘लाइसेन्स सहितको हतियार सर्तसहित बोकेको र अदालत परिसरभित्र प्रवेश गर्दा लैजान नमिल्ने भन्दै अदालत बाहिरै रहेन व्यक्तिलाई बोक्ने दिएको अवस्थामा पक्राउ गरी म्याद थपसमेत गरेर अनुसन्धान तहकिकातको कार्य कानूनसम्मत नभइ निवेदकको थुना गैरकानूनी देखिन आयो । अतः निवेदनकलाई दिएको जरुरी पक्राउ पूर्जी, थुनुवा पूर्जी तथा म्याद थपको आदेश तथा पत्र लगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानूनी थुनाबाट आजै मुक्त गरिदिनू भनी विपक्षीहरूका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’ आदेशमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?