+
+

दुर्गा प्रसाईंले कसरी पाए देशभर हतियार लिएर हिँड्ने लाइसेन्स ?

गृह मन्त्रालयले थाल्यो छानबिन

प्रसाईंले लिएको लाइसेन्समा ‘नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न र प्रयोग गर्न पाउने’ उल्लेख छ । यसरी लाइसेन्स दिनु त्रुटिपूर्ण भन्दै गृह मन्त्रालयले नै छानबिन सुरु गरेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० चैत ६ गते २०:४९

६ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई निजी सुरक्षागार्डं सोमबार हतियारसहित सर्वोच्च अदालत छिर्ने क्रममा पक्राउ परे ।

आफूसँग सम्बन्धित एक मुद्दाको सुनुवाइ हुने भएपछि प्रसाईं हतियारसहितका सुरक्षागार्ड लिएर अदालत प्रवेश गर्न खोजेका थिए ।

तर, हतियार लिएर जान नमिल्ने भन्दै अदालत गेटमै प्रसाईं र उनका सुरक्षागार्डलाई ड्यूटीमा खटिएका इन्स्पेक्टर विजय भण्डारीले रोकेका थिए । त्यसक्रममा केहीबेर वादविवादसमेत भएको थियो ।

प्रसाईंले आफूसँग देशभर जहाँसुकै हतियार बोक्न मिल्ने गरी प्रशासनले दिएको इजाजत पत्र (लाइसेन्स) भएको जिकिर गरे । उनले भनेजस्तै लाइसेन्समा ‘नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न र प्रयोग गर्न पाउने’ उल्लेख रहेको थियो ।

प्रसाईंले पाँच वर्षयता जहाँसुकै हतियार लिएर हिँड्ने गरेका छन् । उनले एक अन्तरर्वार्तामा आफूले एक हजार राउण्डभन्दा बढी गोली बोकेर हिँड्ने बताएका छन् ।

तर, लाइसेन्स प्रदान गरिएको भन्दा फरक व्यक्तिले हतियार बोकेको भेटिएपछि दुई जना सुरक्षागार्डलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् ।

अनलाइनखबरलाई प्राप्त लाइसेन्सको प्रतिलिपिमा दुुर्गा प्रसाईंको नाम छ । वाहकका रुपमा बुद्धशान्ति–३, झापाका दीपक खड्का उल्लेख छ ।

तर, काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, सोमबार अदालतमा प्रहरीले सोधपुछ गर्दा हतियार खड्काको साथमा थिएन ।

‘रामकुमार धिमालको साथबाट हतियारसहित १०० राउण्ड गोली, म्यागजिन र दुई वटा मोबाइल बरामद गरेका छौं’, एसएसपी खत्रीले भने, ‘हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार उनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढ्छ ।’

प्रसाईंले देशभर बोक्न मिल्ने व्यहोरा उल्लेख भएको लाइसेन्स देखाएपछि प्रहरी अधिकृतहरुले अनौठो मानेका थिए । यसपछि यो विषय गृह मन्त्रालयमा रिपोर्टिङ भएको थियो ।

स्रोतका अनुसार, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको छलफलपछि प्रसाईंको लाइसेन्सबारे छानबिन गर्ने निर्णय भएको छ ।

मन्त्रालयका उपसचिव एकदेव अधिकारीले पनि प्रसाईंले जिल्ला प्रशासन कार्यालय, झापाबाट लाइसेन्स लिएको खुलेपछि निर्णयको प्रतिलिपी माग्दै परिपत्र गरिएको अनलाइनखबरसँग बताए ।

‘२०७५ सालमा गृह मन्त्रालयबाट एउटा परिपत्र समेत जारी भएको थियो, जसमा निश्चित क्षेत्रमा मात्र हतियार लिन इजाजत दिने भनिएको छ’, उनले अनलाइनखबरसँग भने, ‘अर्को जिल्लामा जानुपर्‍यो भने जिल्ला सुरक्षा समितिको अनुमति अनिवार्य हुने पनि परिपत्रमा उल्लेख छ ।’

तर, प्रसाईंले पाँच वर्षयता जहाँसुकै हतियार लिएर हिँड्ने गरेका छन् । उनले एक अन्तरर्वार्तामा आफूले एक हजार राउण्डभन्दा बढी गोली बोकेर हिँड्ने बताएका छन् । जबकि, उनलाई २०० थान खरखजाना राख्न पाउने अनुमति छ ।

‘मलाई चलायो भने कमसेकम ४०/५० जना मर्छ, त्यो हिसाबले हिँड्छु’, उनले सार्वजनिक रुपमै धम्की दिएका छन्, ‘मार्न आउँछ भने मार्ने हो ।’

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला भने प्रसाईंले २०७५ सालमा हतियारका लागि इजाजत लिएर नियमित नवीकरण गराइ रहेको पाइएको बताउँछन् । ‘कहाँ लिएर हिँड्न पाउने, नपाउने भन्ने विषयमा कानुन स्पष्ट रहेनछ’, उनले भने, ‘यो विषयमा के भएको हो भन्ने मन्त्रालयसँग समन्वय गरिरहेका छौं ।’

प्रसाईंले भने आफूले सरकारसँग निजी सुरक्षा अधिकृत (पीएसओ) मागेपनि विगतमा खोसिएको बताएका छन् । ‘फेरि पीएसओ दिने भन्ने कुरा आएको थियो, पत्रकारले विवाद गरिहाल्छन्, त्यसपछि निजी सुरक्षा अधिकृत राखेको हुँ’, प्रसाईंले भनेका छन् ।

अहिले आफूसँग तालिम प्राप्त १०० जना कमाण्डो रहेको प्रसाईंले बताएका छन् । त्यसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट अवकाश पाएकाहरु छन् ।

हाल दुर्गा प्रसाईंबाट बरामद हतियार ‘पोइन्ट टुटु’ भएको प्रहरी अधिकृतहरु बताउँछन् । इजाजत लिएपछि उनले जर्मनीबाट हतियार खरिद गरेको पाइएको छ ।

फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल कसैलाई सुरक्षाका निम्ति मान्छे राख्न बन्देज नभएको बताए । तर, हतियार लिनेवित्तिकै जहाँसुकै लान पाइन्छ र समाजमा त्रास फैलाउन भने नपाइने उनको भनाइ छ ।

‘मुलुकभर भनिएकै छ भने पनि अदालत, सिंहदरबार, प्रधानमन्त्री कार्यालय लगायतमा लिएर हिँड्न कसरी पाइयो ?’, उनले भने, ‘त्यसमाथि देशभरि भनेर तोकेर लाइसेन्स दिनु नै त्रुटिपूर्ण छ ।’

लाइसेन्स दिने अधिकारीले समेत त्यस विषयमा विचार गर्नुपर्ने भएको खरेलले बताए ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी जहाँसुकै लिएर हिँड्न मिल्ने गरी लाइसेन्स दिनुले हतियारको दुरुपयोग हुने सम्भवना अधिक हुने बताउँछन् । हुन पनि विगतमा लाइसेन्स प्राप्त हतियारकै आडमा गुण्डागर्दी भएका प्रशस्त उदाहरणहरु छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले २७ जेठ २०७५ मा लाइसेन्स प्राप्त हतियारका आडमा गुण्डागर्दी गरेको आरोपमा मिटरब्याजी वीरेन्द्रलाल श्रेष्ठ, गुण्डा नाइकेका रुपमा चिनिएका होटल व्यवसायी बलराम सापकोटा ‘बले’, निर्माण व्यवसायी आङकाजी शेर्पा र म्यानपावर व्यवसायी रघुनाथ पुरीको हतियार खोसेको थियो ।

उनीहरुले हतियारको दुरुपयोग गरेको रिपोर्ट प्रहरीसमक्ष पुगेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गरेर इजाजत नै रद्द गरिएको तत्कालीन कार्यालय प्रमुख धिरजप्रताप सिंह (आईजीपीबाट अवकाश प्राप्त) बताउँछन् ।

‘लाइसेन्स प्राप्त हतियारको आडमा आतंक मच्चाइरहेको पाइएपछि अनुसन्धान गरेका थियौं’, उनी भन्छन्, ‘त्यतिबेला पोइन्ट टुटु, अत्याधुनिक जीएसथ्री जर्मन हतियार, १२ बोरलगायत राखेको पाइएको थियो ।’

हाल दुर्गा प्रसाईंबाट बरामद हतियार पनि ‘पोइन्ट टुटु’ भएको प्रहरी अधिकृतहरु बताउँछन् । इजाजत लिएपछि उनले जर्मनीबाट हतियार खरिद गरेको पाइएको छ । विगतका केही घटना र सोमबार दुर्गा प्रसाईंको हतियार प्रकरणले हातहतियार तथा खरखाजना ऐनमाथि नै संशोधन गर्नुपर्ने आवश्यकता देखिएको जानकारहरु बताउँछन् ।

ऐनले हतियार कहाँ कहाँ लैजान पाउने, कसले प्रयोग गर्ने जस्ता विषयमा स्पष्ट गर्न नसकेको अधिकारीहरु बताउँछन् ।

मन्त्रालयका उपसचिव एकदेव अधिकारी भने कानुन संशोधनका लागि केही समयअघिबाटै गृहकार्य भइरहेको बताउँछन् । उनी थप्छन्, ‘यो घटनाले त्यसको थप आवश्यकता देखाएको छ ।’

हाल नेपालमा सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिको सिफारिसमा व्यक्तिले हतियार राख्न पाउने व्यवस्था छ । लाइसेन्स लिनेहरुमा तीन किसिमका मानिसहरु देखिने मन्त्रालयका एक अधिकृत बताउँछन् ।

पहिलो, धेरैले सोखका लागि लामो समयदेखि नवीकरण गर्दै हतियार राख्ने गरेका छन् । उनीहरुले बाबु–बाजेको पालादेखि नै हतियार राखेर मृत्युपछि परिवारका अन्य सदस्यले नामसारी गर्दै आएको विवरण रहेको मन्त्रालयका एक अधिकृत बताउँछन् ।

दोस्रो, शिकारमा रुचि भएका व्यक्तिहरुले हतियारको लाइसेन्स लिएका छन् । ढोरपाटन शिकार आरक्ष शिकार प्रयोजनका लागि खुला गरिएपछि उनीहरुले निजीरुपमा हतियार राख्न इजाजत लिएका थिए ।

तेस्रो, व्यवसायी र विभिन्न आवरणमा गुण्डागर्दीमा संलग्न व्यक्तिले लाइसेन्स प्राप्त हतियार लिएका छन् । उनीहरुले त्यस्ता हतियारको चरम दुरुपयोग गर्ने गरेको जानकारहरु बताउँछन् ।

‘प्रसाईंजीको हकमा सुरक्षा चुनौती पनि होला तर जथाभावी लिएर हिँड्नु त भएन’, एक अधिकृत भन्छन्, ‘चुनौती हुँदा प्रशासनलाई खबर गरेर राज्यको सुरक्षा माग गर्ने ठाउँ नभएको होइन ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?