+
+

बीमाको साढे २ करोड हात पार्न हत्यामा संलग्न ५ जना सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते २०:१५

१३ चैत, काठमाडौं । बीमाको साढे दुई करोड रुपैयाँ हात पार्न नक्कली विवाह र दुर्घटना गराएर हत्या गरेको आरोप लागेका ५ जना सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सपना मल्लसहित ५ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको हो ।

अदालत स्रोतका अनुसार सपना मल्ल, सञ्जीव अर्याल, दीपक केसी र सरदार अहमद खाँलाई ८ वर्ष कैद सजाय भएको छ । रुपक राना भन्ने टोपबहादुर राना क्षेत्रीलाई भने ४ वर्ष कैद सजाय भएको छ ।

मल्ललाई ७२ लाख १८ हजार, अर्याललाई ८० लाख ३६ हजार, केसीलाई ६० लाख, खाँलाई २० लाख र रुपक रानालाई ३६ लाख ९ हजार रुपैयाँ जरिवाना समेत गराउने आदेश भएको छ ।

सपना मल्लले सञ्जीव अर्यालको योजना अनुसार २८ फागुन २०७७ मा सर्जन बिकसँग विवाह गरेकी थिइन् । त्यही मितिमा सर्जनको रिलायन्स लाइफ इन्स्योरेन्समा दुई करोड ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गरिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा बीमा गराउने सरदार अहमद खाँले बिकलाई पूर्वयोजना अनुसार मोटरसाइकल दिएर रातिको समयमा अन्यत्र पठाएको खुलेको थियो ।

सडकमा निस्किएका बेला दोषीमध्येका रुपक रानाले चलाएको माइक्रोबसको ठक्करबाट बिकको मृत्यु भएको थियो । यो कसूरमा जिल्ला अदालत, बाँकेमा २७ वैशाख २०७८ मा सवारी ज्यान मुद्दा दर्ता समेत भएको थियो । मृत्यु भएका बिकको अन्तिम संस्कार समेत भइसकेको थियो ।

सुरुमा अर्यालले सपना मल्ललाई सर्जनसँग डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने भनेका थिए । तर, पछि उनको मृत्यु भएको भन्दै अष्ट्रेलिया पठाउन नसक्ने बताएका थिए । त्यसपछि मृत्युपछि आउने बीमा रकमको केही हिस्सा दिने अफर गरेका थिए ।

पछि सर्जनको नाममा गरिएको जीवन बीमावापतको २ करोड ५० लाख रुपैयाँ दाबी गर्दै सपनाले इन्स्योरेन्स कम्पनीमा निवेदन दिएकी थिइन् । १४ साउन २०७८ मा बीमा वापतको रकम भुक्तानी समेत भएको थियो ।

तर, जीवन बीमा कर्मचारी स्थलगत अध्ययनमा जाँदा घटना शंकास्पद भएको देखेका थिए ।

घरमा जाँदा सर्जनको पारिवारिक स्थिति २ करोड ५० लाखको बीमाका लागि वार्षिक ५ लाख ४० हजार रुपैयाँ तिर्नसक्ने खालको थिएन । त्यसमाथि बीमा गरेको एक महिना नपुग्दै मृत्यु हुनु आफैंमा शंकास्पद थियो ।

बैंक विवरणको ‘केवाइसी फारम’ मा समेत वार्षिक आम्दानी २ लाख रुपैयाँ भनेर स्वघोषणा गरिएको थियो । सबै विषय हेर्दा सर्जनले ठूलो रकमको जीवन बीमा गर्नुपर्ने आधार र कारण नदेखिएपछि अनुसन्धानका लागि इन्स्योरेन्स कम्पनीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई खबर गरेको थियो ।

त्यसक्रममा अनुसन्धान गर्दा बीमाको साढे दुई करोड रुपैयाँ हात पार्न नक्कली विवाह र दुर्घटना गराएर हत्या गरिएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?