+
+

एमाले कास्कीमा खगराजको दबदबा, पृथ्वीसुब्बालाई धक्का

पदाधिकारीमा खगराज समूहको क्लिनस्वीप

अमृत सुवेदी अमृत सुवेदी
२०८० चैत १४ गते १९:५८
एमालेकाे कास्की जिल्ला कमिटीको पदाधिकारीमा निर्वाचितहरु बाँयाबाट क्रमश : अध्यक्ष बैनबहादुर अधिकारी, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, उपसचिव ललबहादुर परियार र सन्तु सुवेदी ।

१४ चैत, पोखरा । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् । पृथ्वीसुब्बा गुरुङ समूहका माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै खगराज अधिकारी समूहका अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैनबहादुरले ५५१ मत ल्याउँदा बास्तोलाले ३४७ मत पाए । कुनै पनि गुटमा सामेल नभएका विवेक त्रिपाठीले १७ मत पाए । सबै पाँच जना पदाधिकारी खगराज समूहकाले नै जितेका छन् ।

उपाध्यक्षमा खगराज समूहका भेषराज बरालले ५२७ मत पाएर विजयी हुँदा पृथ्वीसुब्बा समूहका शिव आचार्यले ३८८ मत पाए ।

सचिवमा खगराज समूहका दर्शन लामा ५९७ मत ल्याएर विजयी भए भने पृथ्वीसुब्बा समूहका सुरेन्द्र गुरुङले ३२० मत प्राप्त गरेका हुन् ।

उपसचिवमा लालबहादुर परियार ५८१ र सन्तु सुवेदी ५१० मत ल्याएर निर्वाचित भए । पृथ्वीसुब्बा समूहबाट उपसचिवका उम्मेदवार राधिका शाही योगीले ३४४ र सीता परियारले ३३४ मत पाए ।

सहमतिको प्रयास टुटेपछि खगराज र पृथ्वीसुब्बा समूहले मंगलबार बेग्लाबेग्लै भेला गरेर आआफ्नो समूहलाई जिताउन निर्देशन नै दिएका थिए ।

पृथ्वीसुब्बा समूहको नेतृत्व केन्द्रीय सदस्य जगत विश्वकर्मा र एमाले कास्कीका निवर्तमान अध्यक्ष मनबहादुर गुरुङलगायतले गरेका थिए भने खगराज समूहबाट केन्द्रीय सदस्य कृष्ण थापा र राजीव पहारीलगायतले गरेका थिए ।

२०७४ सालयता कास्कीमा पृथ्वीसुब्बा र खगराज समूहबाट प्रतिष्ठाको लडाइँ बन्दै आएको छ । अघिल्लो पटक पोखरा महानगर, कास्की जिल्ला कमिटी हुँदै स्थानीय तहको निर्वाचन र एमाले गण्डकीको प्रथम अधिवेशनमा त एकले अर्कालाई निषेध नै गर्ने गरी गुटगत राजनीति सतहमै देखिएको थियो ।

२०७८ मा भएको कास्की जिल्ला निर्वाचनमा पनि पृथ्वीसुब्बा र खगराज गुटबीच प्यानलगत प्रतिस्पर्धा हुँदा मिश्रित नतिजा आएको थियो ।

कास्कीमा २०७८ पुस २८ गते पृथ्वीसुब्बा समूहबाट अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी र खगराज समूहबाट सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) विजयी भएका थिए ।

एमाले गण्डकी प्रदेश कमिटीमा भने पृथ्वीसुब्बा समूह्यले जित हासिल गरेको थियो । त्यही चुनावका कारण कास्कीमा पनि जित निकाल्ने भन्दै हौसिएको पृथ्वीसुब्बा समर्थित समूहले नराम्ररी हार बेहोरेको हो ।

प्रदेशमा हार बेहोरेको खगराज समूहले कास्कीमा शाख फर्काउने रणनीतिसहित चुनावी मैदानमा होमिएको थियो भने उम्मेदवार छनोटमा पनि विशेष ध्यान दिएको नेताहरु बताउँछन् ।

खगराज समूहमा गाउँ कमिटीदेखि विभिन्न तह हुँदै कास्की सचिव बनेको बैनबहादुरलाई अध्यक्षको रुपमा उभ्याएको थियो भने उपाध्यक्ष, सचिव र उपसचिवमा पनि जिल्ला कमिटीमा रहेर काम गरेका, भूगोल तथा जातजाती मिलाएर उम्मेदवार चयन गरेको थियो । लोकप्रिय मत ल्याएर सचिवमा विजयी दर्शन लामा यसअघि उपसचिव थिए ।

मनोनयन दर्ता गर्ने समय नजिकिई सक्दा पनि उम्मेदवारको टुंगो लगाउन पृथ्वीसुब्बा समूहलाई सकस परेको थियो । पृथ्वीसुब्बा समर्थित समूहबाट युवा संघ, मदन भण्डारी फाउण्डेन हुँदै आएका माधव बास्तोलालाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

कास्कीकै उपाध्यक्ष रहेका तेजनारायण अधिकारीले पनि अध्यक्षको दाबी गरिरहँदा जिल्ला, प्रदेशमा अहिलेसम्म पदाधिकारी नै नरहेका बास्तोलालाई पृथ्वीसुब्बा समूहले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

२०५४ सालमै गाविसमा उपाध्यक्ष निर्वाचित हुँदै जिल्ला समन्वय समिति कास्की प्रमुखसमेत भइसकेका र सचिव हुँदै अध्यक्षमा उम्मेदवारी दिएका बैनबहादुरले सहानुभूतिको मतसमेत प्राप्त गरेको विश्लेषण खगराज समूहको छ ।

शिक्षण पेशाा हुँदै राजनीतिमा लागेका भेषराज बराललाई उपाध्यक्ष, यसअघि पोखरा–१३ का वडाध्यक्षसमेत भइसकेका उपसचिव दर्शनलाई खगराज समूहले सचिवको उम्मेदवार बनाएको थियो ।

पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा पोखरा–३३ पूर्व वडाध्यक्ष शिव आचार्य र सचिवमा सांगीतिक क्षेत्रमा क्रियाशील तर पार्टीको विशेष पदमा रहेर काम नगरेका सुरेन्द्र गुरुङलाई उम्मेदवार बनाएको थियो ।

कास्कीमा पनि शाख जोगाउन नसके धेरै ठाउँमा धक्का खेप्नुपर्ने निश्कर्षसहित खगराज समूहले चुनावी रणनीति बनाएको थियो । अहिलेसम्म अधिवेशन भएका गण्डकीका २ जिल्ला म्याग्दी र गोरखामा पनि पृथ्वीसुब्बा समूहको वर्चश्व हुँदा कास्कीमा खगराज समूह दबाबमा थियो ।

म्याग्दीमा पृथ्वीसुब्बा समूहले नेतृत्वसहित अधिकांश पदाधिकारी र सदस्य लिएर सर्वसम्मत भएको थियो भने गोरखामा निर्वाचनबाटै पृथ्वीसुब्बा समूहको पल्लाभारी भएको थियो ।

कास्कीमा दुई नेताको गुट हाबी हुँदा प्रतिनिधि छनोटमै विवाद उत्पन्न भएको थियो । अध्यक्ष मनबहादुर र सचिव बैनबहादुरबीच समन्वय नहुँदा केन्द्रबाटै परिपत्रसमेत आएको थियो । दुबै समूहको दाबीलाई मध्यमार्गी बाटो हुँदै प्रतिनिधि छनोटको विवाद नेताहरुले टुंग्याएका थिए ।

४० जना जनालाई आधार मानेर १ जना प्रतिनिधि छनोट गर्ने र त्यसपछि थप ३० जनालाई आधार मानेर अर्को एक प्रतिनिधि ल्याउने गरी सहमति भएपछि करिब ९ सय ३० जना हाराहारीमा प्रतिनिधि सहभागी गराउँदै अधिवेशन सुरु भएको हो ।

पृथ्वीसु्ब्बा पक्षका एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले सुरुको ४० जनामा १ प्रतिनिधि र त्यसपछि प्रत्येक २१ जनामा थप एक प्रतिनिधि ल्याउने गरी सर्कुलर जारी गरेका थिए । यो पार्टीले पहिलो आधार ४० मान्ने र त्यसपछि पनि थप ४० जनामै अर्को प्रतिनिधि ल्याउने गरी गरेको निर्णय विपरीत भएको भन्दै स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज थममाया थापा केन्द्रमै उजुरी लिएर पुगेकी थिइन् ।

अध्यक्षमा निर्वाचित बैनबहादुरले आफू सधैं पार्टीको एक सिपाही भएर काम गरेकाले प्रतिनिधिको रोजाइमा परेको र अब सबैलाई समेटेर एमालेलाई सुदृढ बनाउन लागि पर्ने बताए ।

‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा हो । सर्वसम्मत नभएपछि प्रक्रियामा जानुपर्थ्यो, हामी गयौं’, बैनबहादुरले भने, ‘हिजोदेखि नै ग्राउण्ड लेबलबाट काम गर्दै आएको म एक सिपाही हुँ । सधैं नेता कार्यकर्तासँगै रहेकाले पनि मलाई प्रतिनिधिले माया दर्शाउनुभयो ।’

यो अधिवेशनले १२० सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । अब थप १० प्रतिशत अर्थात १२ जना मनोनित हुनेछन् भने थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर १४४ सदस्यीय कमिटी बन्ने छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?