+
+

नेपाली सेनाले दोस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्रा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १९:०३

१५ चैत, गोरखा । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरू गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा शुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ ।

गोरखाबाट शुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुदैँ जितगढी पुगेर समापन हुने गणपति अशोक कुमार क्षेत्रीले बताए । उनका अनुसार यात्रामा अधिकृतको कमाण्डमा ४८ जना सेना सहभागी हुनेछन् ।

‘पृथ्वीनारायण शाहाले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन (पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) र जितगढीको लडाईमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुन्छन्,’ उनले भने, ‘आ–आफ्नो पल्टनको झण्डासहित उनीहरु यात्रामा निस्कन्छन् ।’

गोरखाको टोलि पालुङटारको सतिघाट पुगेर तनहूँलाई हस्तान्तरण गर्ने र तनहूँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । ‘पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोलि जितगढीमा पुगेर बिजय उत्सवमा सहभागी हुन्छ,’ गणपती क्षेत्रीले भने ।

उनका अनुसार नेपाल र तत्कालिन ब्रिटिस इस्ट इण्डिया कम्पनी बीच भएको लडाइमा बिजय प्राप्त गरेको दिन (बैशाख ७ गते) लाई बिजय उत्सवको रुपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा शुरु गर्न लागिएको बताइएको छ ।

चैत्र २७ गते औपचारिक कार्यक्रम गरी गोरखा दरवारबाट पदयात्रा सुरू हुने गणपती क्षेत्रीले बताए । ११ दिनको दिनमा जितगढीसम्मको दुई सय सात किलोमिटर दुरी पार हुने उनले जानकारी दिए । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहास जोगाउने लक्ष्यका साथ गत बर्षबाट पदयात्रा गर्न थालिएको उनले बताए ।

यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाई गरिने बताइएको छ । बाजागाजा सहित सहभागीलाई स्वागत र बिदाई गर्ने गरी स्थानीयतहसँगको समन्वय भईरहेको नेपाली सेनाले जनाएको छ ।

यो यात्राले गोरखादेखि जितगढीसम्म पर्यटन प्रर्वद्धनमा पनि मद्धत पुग्ने अपेक्षा गरिएको छ । पदयात्राको बिषयमा गत सोमवार सरोकारवालाबीच छलफल समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?