+
+

‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १२:०९

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ चीनको बेइजिङ फिल्म फेस्टिभलमा छनोट भएको छ । बेइजिङ पानोरमा विधामा फिल्म छनोट भएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलोपटक कुनै नेपाली फिल्म बेइजिङमा छनोट भएको हो ।

बेइजिङमा छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको निर्माताले जनाएका छन् । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र अन्तर्राष्ट्रियकरणमा टेवा पुर्‍याउनेछ भन्ने आशा लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ ।

फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत र किशोर आचार्यको ध्वनि छ । मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको फिल्ममा सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता छन् । फिल्मका निर्माता नवीन सुब्बा हुन् ।

फिल्म यस वर्ष क्यानडाको टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो । त्यसपछि दक्षिण कोरियाको बुसान, भारतको मुम्बई फिल्म फेस्टिभल लगायतमा स्क्रिनिङ भइसकेको छ ।

फेस्टिभलबाटै फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । मुभी बफ पोर्टलका लागि लेखिएको फिल्म समीक्षामा क्रिटिक पौल इमानुएल एनिकोलाले ‘मानवीय अवस्था चित्रण गर्ने दार्शनिक खोज’ भन्दै फिल्मको प्रशंसा गरेका थिए ।

‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्मको निर्माता कम्पनी बाँसुरी फिल्म्सले नेपाल प्रदर्शनका लागि मेन्छयम पिक्चर्ससँग सहकार्य गरेको छ । नेपालमा जेठ १८ गते प्रदर्शन तय छ । यस वर्षको बेइजिङ फिल्म फेस्टिभल अप्रिल १८ देखि २६ सम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?