+
+
त्रिशूली ट्याक्सी दुर्घटना :

दाइ म डुब्न लागेँ भन्दै अर्जुनले गरेका थिए फोन

विकास मरहट्टा विकास मरहट्टा
२०८० चैत १७ गते १९:२२
दुर्घटनामा मृत्यु भएका ट्याक्सी चालक अर्जुन सिर्मल

१७ चैत, गोरखा । शनिबार बिहान काठमाडौंबाट गोरखा आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भयो ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–७ पौवाखेतकी ७० वर्षीया जुनकिरी रोका, वडा नं ४ फिनामकी ४१ बर्षीय हरिमाया रोका, ८ बर्षीय आगमन उपरकोटी, याङकोटकी २८ वर्षीया अञ्जना रोका र चालक गोरखा नगरपालिका–७ बतासेका ३५ वर्षीय अर्जुन सिर्मल रहेका छन् । पौवाखेतका १८ ‍वर्षीय विवश रोका अझै वेपत्ता छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

गोरखा नगरपालिका-७ पौवाखेतका शंकर रोकाको क्यान्सरबाट मृत्यु भएपछि उनीहरु दाहसंस्कारका लागि शुक्रबार काठमाडौं गएका थिए । शुक्रबार राति करिव ११ बजे दाहसंस्कारको काम सकेपछि गोरखा फर्कने निधो गरे । दुई वटा ट्याक्सी र एउटा माइक्रोबस रिजर्ब गरेर उनीहरु सँगसँगै काठमाडौंबाट गोरखातर्फ लागे ।

एउटा ट्याक्सी अर्जुनले चलाएका थिए भने अर्को उनका जेठान प्रकाश रोकाले चलाएका थिए । अर्जुनले चलाएको ट्याक्सीमा काठमाडौंमा दाहसंस्कार गरिएका शंकरका परिवारका सदस्यहरु थिए । प्रकाशले चलाएको ट्याक्सीमा भने अर्जुनकी श्रीमतीसहितका अरु आफन्तहरु  थिए ।

बिहान ४ बजे पृथ्वी राजमार्गको चरौदीमा पुगेर उनीहरुले चिया खाजा खाएका थिए । ‘त्यहाँबाट म अगाडि लागेँ । बाटोमा अर्जुन ज्वाँइले फोन गरेर बाबुलाई खुवाउन स्याउ किन्नुपर्‍यो, मुग्लिनमा रोक्नुस् है भन्नुभयो’, प्रकाशले भने ।

उनी मुग्लिन आएर पर्खिरहे । माइक्रोबसले उनलाई उछिनेर गयो । तर अर्जुनले चलाएको ट्याक्सी अझै आइपुगेन । ‘सँगै आएको माइक्रोले उछिनेको १०–१५ मिनेट भइसक्दा पनि नआएपछि मैले ज्वाइँलाई दुई पटकसम्म फोन गरेँ तर उठेन,’ उनले भने, ‘पछि उतैबाट फोन आयो ।

फोन उठाउँदा एक्कासी दाई म डुब्न लागेँ मलाई बचाउनुहोस् भन्दै अत्तालिदै बोल्नुभयो ।’ त्यतिबेला बिहान ५ बजेर ६ मिनेट गएको थियो ।

प्रकाशले लोकसेन भन्नुस् भनेर बारम्बार कराए । तर उताबाट ‘म डुब्न लागे बचाउनुस्’ भन्ने वाक्य मात्र दोहोरिरह्यो । आवाज सानो हुँदै गयो । त्यसपछि प्रकाश ट्याक्सी लिएर मझिमटारतिर फर्किए ।

‘माइक्रोले उहाँहरुलाई मझिमटारमा ओभरटेक गरेको रहेछ, त्यसैले त्यहाँबाट यता बाटोमा केही भयो भन्ने लागेर सिधै मझिमटार गयौ’, प्रकाशले भने । मझिमटारबाट खोज्दै उनीहरु कुरिनटार आइपुगे । नभेटिएपछि प्रहरीलाई खबर गरे । प्रहरीले विभिन्न ठाउँमा खबर गर्‍यो ।

फर्कदै गर्दा प्रहरीहरु उद्धारमा खटिएको देखेपछि बल्ल दुर्घटना भएको थाहा पाए । मृतकहरुको शव गोरखा अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?