+
+

बागमती प्रदेश : आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १३:३३
बागमती प्रदेशमा एकीकृत समाजवादी संसदीय दलको नेता कृष्णप्रसाद शर्मा खनाल

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो ।

प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भयो । त्यहाँ आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लिने सहमति भएको एक नेताले जानकारी दिए । ‘आलोपालोमा एकीकृत समाजवादीलाई पनि समेट्ने भन्ने भएको छ’ उनले भने, ‘अहिले माओवादी नेतृत्वको सरकारले निरन्तरता पाउने छ ।’

नेताहरुका अनुसार सुदूरपश्चिममा पनि एकीकृत समाजवादीले मुख्यमन्त्रीमा पालो पाउनेछ । यो सहमतिअनुसार एमाले, माओवादी र एकीकृत समाजवादीमध्ये पहिलो पालो एकीकृत समाजवादीले पाउनेछ । तर तीन दलको मात्र बहुमत नपुग्ने भएकाले नेताहरुले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समेत समर्थन खोजेका छन् । त्यसका लागि पहिलो पालोमा मुख्यमन्त्री दिने सत्ता गठबन्धनको प्रस्ताव छ ।

तर नाउपाभित्र विवाद छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नयाँ गठबन्धनको पक्षमा निर्णय गरेकी छन्, तर ७ प्रदेश सांसद भएको नाउपाका ५ जना कांग्रेस नेतृत्वको अहिलेको सरकारमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?