+
+

विश्वप्रकाशको ब्रिफिङ : ३० वर्षपछि इलाम–२ मा कांग्रेसलाई अवसर

यो पटक सुवास नेम्वाङ छैनन् र ३० वर्षपछि कांग्रेसले इलाम २ मा चुनाव जित्ने अनुकुल परिस्थिति रहेको महामन्त्री विश्वप्रकाश शर्माको विश्लेषण छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १९:५६

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम–२ मा उपचुनाव जित्ने अवस्था रहेको नेतृत्वलाई ब्रिफिङ गरेका छन् ।

पूर्वसभामुख सुवास नेम्बाङको निधनपछि रिक्त  इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेले नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उठाएको छ ।

कांग्रेसले भने उम्मेदवार छानेको छैन । उम्मेदवार टुंगो लगाउन संसदीय बोर्डको बैठक भोलि मंगलबार दिउँसो २ बजे बोलाइएको छ । त्यसको अघिल्लो दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बसेको बैठकमा हालै इलाम गएर फर्किएका महामन्त्री शर्माले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए । २०७९ मंसिरको चुनावमा नेम्बाङ ३० हजार २० मतका साथ निर्वाचित हुँदा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

दुई उम्मेदवारको मतान्तर ११४ मात्र भएपनि कांग्रेसले पाएको मतमा माओवादी र एकीकृत समाजवादीको पनि मत छ । अहिले माओवादी र एकीकृत समाजवादी कांग्रेससँग छैन । त्यसैले एमालेभन्दा ४ हजार मत कम छ भन्ने मानेर चुनावको तयारी गर्नुपर्ने कांग्रेस महामन्त्री शर्माले बतााएका छन् ।

समानुपातिक पद्धतितर्फ दुई दलको मतअन्तर ४ हजार छ । इलाम–२ मा समानुपातिकतर्फ एमालेले २६ हजार ५६३ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो ।

तर त्यो चुनाव र यो चुनावमा केही फरक रहेको महामन्त्री शर्माको विश्लेषण छ । नेम्बाङको राष्ट्रिय छविका कारण इलामको राजनीतिमा अरु दल दबाबमा हुन्थे । सुवास नेम्बाङ कहिलेसम्म भन्ने प्रश्नका कारण जति मत घट्थ्यो, उनको पर्सनालिटीका कारण आउने मतले त्यसलाई पूर्ति गर्थ्यो । यो पटक कांग्रेसको सिंगो पङ्क्ति  त्यसबाट मुक्त भएको शर्माको विश्लेषण छ ।

हुन त एमालेले नेम्बाङकै छोरा ३२ वर्षका सुहाङलाई उम्मेदवार बनाएको छ । यो कारण सान्त्वना भोट आउनसक्छ, तर त्यति नै भोट काट्न सकिने कांग्रेसको विश्लेषण छ । किनकी यो पटक सुहाङलाई ‘युवराज’ भन्ने आरोप लागेको छ ।

चुनावी अभियानका क्रममा समेत उनले यसबारे स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । सुहाङभन्दा विद्यार्थी राजनीतिबाट आएका र हाल एमाले इलामका उपसचिव रहेका रवीन्द्र सुवेदीलाई एमालेले टिकट दिएको भए फरक परिस्थिति हुने कांग्रेसको विश्लेषण छ ।

उपचुनावलाई रास्वपाले पनि प्रतिष्ठाको विषय बनाएको छ । उसले निकै जोडबलका साथ माओवादी पृष्ठभूमिका पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । तर नयाँ पार्टी भनेपनि जात हेरेर उम्मेदवार उठाएकाले रास्वपाको उल्लेख्य प्रभाव नदेखिएको कांग्रेस नेताहरुको विश्लेषण छ । यद्यपि अघिल्लो पटक समानुपातिकमा पाएको (४ हजार ६८६) भन्दा केही बढ्नसक्ने भन्दै शर्माले पार्टी बैठकमा भनेका छन्, रास्वापा कमजोर नै छ ।’

कांग्रेसको कार्यकर्ता तहमा चुनाव जित्नुपर्छ, जितिन्छ भन्ने भाव पाएको पनि महामन्त्री शर्माले सुनाए । उम्मेदवारका आकांक्षीहरुमा भने म भए मात्र जित्छु भनेर गुटगत भावना पनि देखिएको भन्दै उनले भने, ‘जित्ने मान्छेलाई टिकट दिनुपर्छ, हामीले चुनाव जित्छौं ।’

इलाम २ मा पछिल्लो पटक कांग्रेस २०५१ मा चुनाव जितेको थियो । त्यो बेला ३ वटा क्षेत्र थियो, जसमध्ये १ र ३ एमालेले जित्दा २ मा कांग्रेसका कुलबहादुर गुरुङ विजयी भएका थिए । ०५६ मा सुवास नेम्वाङ आएसँगै इलाम २ मा कांग्रेस अहिलेसम्म जित्न सकेको छैन । ०६४, ०७०, ०७४ र ०७९ मा सुवासले जितेका थिए । यो पटक सुवास छैनन् र ३० वर्षपछि कांग्रेसले इलाम २ मा चुनाव जित्ने अनुकुल परिस्थिति रहेको शर्माको विश्लेषण छ ।

इलाम–२ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र चन्द्रकला राई नाम सिफारिस भएको छ ।

भेषराज २०७०, केशव २०७४ र डम्बर २०७९ मा उम्मेदवार थिए । नेताहरुका अनुसार लामो समयसम्म अवसर नपाएको भनेर भेषराजप्रति सहानभूति छ । तुलनात्मक रुपमा स्रोत साधनले सम्पन्न डम्बरलाई भने संस्थापन पक्षको साथ छ । पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले डम्बर खड्कालाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा महामन्त्री शर्माले भने प्रष्ट कसैलाई संकेत गरेनन् । ‘उहाँको यही उम्मेदवार हुनुपर्छ भन्ने थिएन । आकांक्षी उम्मेदवारलाई मिलाउनुपर्छ भन्ने थियो’, बैठकमा सहभागी नेताले भने । २०७९ वैशाखमा भएको स्थानीय तहको चुनावमा एमाले र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा पनि कांग्रेस एक्लै लड्दा राम्रो नजिता आएको स्मरण गर्दै महामन्त्री शर्माले यो पटक पनि एक्लै लड्दा कांग्रेस एकतावद्ध हुने र इलाम २ मा चुनाव जित्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?