+
+

गोरखामा आत्महत्या दुरुत्साहनमा ४ जनाविरुद्ध मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते ७:०३

२० चैत्र, गोरखा । सिरानचोक गाउँपालिका–७ अमिलेडाँडाका ७१ वर्षीय मनबहादुर खड्कालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मृतक खड्काका छोराले दिएको जाहेरीको आधारमा प्रहरीले सोही वडाका ५५ वर्षीया बुद्धिकुमारी गुरुङ, ६० वर्षीय रुपकाजी भन्ने सन्तबहादुर गुरुङ, ४५ वर्षीय मिनु गुरुङ र पुष्पा कुमारी गुरुङ रहेका छन् ।

आइतबार पक्राउ परेका उनीहरुलाई सोमवार आत्महत्या गर्न दुरुत्साहन दिएको कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ ।

मनबहादुर गत शनिवार घर नजिकै खनियोको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीका अनुसार १५ चैतमा मनबहादुर (मृतक) सधैझैं घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए । सोही क्रममा गोठाला गएका बुद्धिकुमारी र उनका श्रीमान् रुपकाजी भन्ने सन्तबहादुर गुरुङसँग उनको भेट भयो ।

भेटमा बुद्धिकुमारीले केही रकम आवश्यक परेको भन्दै मनबहादुरसँग सहयोगको अपेक्षा गरिन् । मनबहादुरले पनि ‘चाहिएको बेला काम चलाइदिउला’ भने । त्यही कुरालाई बाङ्गो अर्थ लगाएर गाउँलेहरुबीच अनावश्यक भ्रम फैलाइयो ।

१६ चैतमा नवज्योती महिला समूहकी अध्यक्ष मिनु गुरुङ र सचिव पुष्पाकुमारी गुरुङको अगुवाइमा महिला समूहले कचहरी गरेर मनबहादुरलाई झिकाए ।

अनुचित दबाब र प्रभावमा पारी केरकार गरी बुद्धिकुमारीलाई अभद्र व्यवहार गरेको भन्दै मिथ्या आरोप लगाए । दोषी ठहर गरे । डर–त्रास देखाएर उनीहरुले मनबहादुरलाई १५ हजार रुपैयाँ जरिवानासमेत गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक बासुदेव पाठाकले बताए ।

झुठो आरोप लगाएर समाजमा आफूलाई बदनाम गर्नुका साथै अपमानित गरेकोले मनबहादुरले १७ चैतमा आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको प्रहरी उपरीक्षक पाठकले बताए ।

‘एक त मनबहादुरले भनेको कुरालाई बाङ्गो अर्थ लगाएर अनावश्यक भ्रम समाजमा फैलाउने काम भएको अनुसन्धानबाट खुल्न आयो,’ प्रहरी उपरीक्षक बासुदेव पाठकले भने, ‘अर्काे महिला समूह आफैं न्यायाधीश बन्न खोजे ।’

समाजमा भएका घटनालाई आफूखुशी जरिवाना तिराई आपसी रुपमा मिलाउन खोज्नु गैरकानूनी भएको भन्दै उनले थपे, ‘महिला समूहले कानुन हातमा लिन खोज्नुभयो, उहाँहरु पनि कारबाहीको भागिदार हुनुहुन्छ ।’

घटनापछि मृतकका छोराले बुद्धीकुमारी, उनका श्रीमान् सन्तबहादुर, महिला समूह अध्यक्ष मिनु र सचिव पुष्पाकुमारी विरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरी मुद्दा दर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?