+
+

सबै प्रदेशमा आलोपालो, ११ महिनामै मुख्यमन्त्री हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १५:१२

२० चैत, काठमाडौं । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ ।

प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभामा नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु दलसँग छलफल गरेका थिए ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुुसार शीर्ष तहबाट भागबण्डा टुंगिएको छ । ‘सबै प्रदेशमा आलोपालो गर्ने सहमति भएको छ,’ ती पदाधिकारी भन्छन्, ‘पहिलो चरणमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगियो ।’

पहिलो चरणमा कुन प्रदेशमा कसको नेतृत्व ?

कोशी : एमाले

मधेश : जसपा

बागमती : माओवादी

गण्डकी : एमाले

लुम्बिनी : माओवादी

कर्णाली : एमाले

सुदूरपश्चिम : नाउपा

सत्ता गठबन्धनमा कोशी प्रदेश सरकारमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

तर तत्काल सरकार बनिहाल्ने अवस्था छैन । सरकार गठनको अन्तिम विकल्पका रुपमा संविधानको धारा १६८ (५) अनुसार २७ असोजमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । नयाँ गठबन्धन बनेपछि एमालेले उनको राजीनामा मागेको छ, तर मुख्यमन्त्री कार्की राजीनामा नदिने अडानमा छन् । आफूले राजीनामा दिए प्रदेश मध्यावधि चुनावमा जाने उनको तर्क छ ।

नयाँ सरकार गठनको प्रष्ट बाटो नदेखिएकाले माओवादी र एकीकृत समाजवादीले पनि मन्त्रीहरु फिर्ता बोलाएका छैनन् । सत्ता गठबन्धनका एक नेताका अनुसार सरकार गठनका कानुनी पाटोबारे प्रधानमन्त्रीले परामर्श गरिरहेका छन् । कानुनी परामर्श सकिएपछि संविधानको धारा १६८ (५) अनुसार नै एमाले नेतृत्वमा सरकार बनाउने एमाले–माओवादी गठबन्धनको तयारी छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । केन्द्रको सहमति कार्यान्वयन भए एमाले र माओवादीले २२/२२ महिना कोशीमा सरकारको नेतृत्व गर्ने छन् ।  कांग्रेसका २९ र राप्रपाका ६ सांसद छन् ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादव नेतृत्वको सरकारले निरन्तरता पाउने छ । मुख्यमन्त्री आफ्नो दलले लिने शर्तसहित जसपाले केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेकाले थप छलफल भएको छैन । एक नेता भन्छन्, ‘सबै प्रदेशमा आलोपालो भन्ने छ, त्यसले मधेशमा पनि छलफल हुन्छ ।’

१०७ सदस्यीय प्रदेशसभामा  एमालेका २२ (सभामुख बाहेक), जसपाका १९ (तीन स्वतन्त्र सांसद पार्टी प्रवेश गरेकाले), माओवादीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन्, जुन प्रष्ट बहुमत हो । प्रतिपक्षमा रहेको कांग्रेससँग २२ सांसद छन् भने जनमत पार्टी १३ र लोकतान्त्रिक समाजवादी पार्टीका ९ सांसद छन् ।

बागमती प्रदेशमा माओवादी, एमाले र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने छन् । पहिलो चरणमा सरकारको नेतृत्व माओवादीले गर्ने सहमतिअनुसार मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सोमबार नै विश्वासको मत लिएका छन् ।

एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक सांसदको समर्थन पाएका उनले टुप्लुक्क ५६ मत पाएका थिए । बहुमतका लागि एक मत कम भएपछि उनले विश्वासको मत लिनुअघि हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृतिमन्त्री बनाएर बहुमत पुर्याएका थिए ।

केन्द्रमा भएको सहमतिअनुसार जम्मकट्टेलले १५ महिनापछि मुख्यमन्त्री पद छाड्नुपर्ने छ । एमाले र एकीकृत समाजवादीले पनि सरकारको नेतृत्व गर्ने सहमति भएपछि माओवादीपछि कसको पालो भन्ने छलफल हुन बाँकी रहेको नेताहरु बताउँछन् ।

सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा अहिले एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । यद्यपि माओवादी केन्द्रको गण्डकी प्रदेशका नेताहरुले पहिलो पालोमा मुख्यमन्त्री आफ्नो दलले लिनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । संसदीय दलका नेता हरिबहादुर चुमान सहितका नेताहरु काठमाडौंमा आएका थिए ।

६० सदस्यीय प्रदेशसभामा एमालेका २२ र माओवादीका ७ (सभामुख बाहेक) सांसद छन् । स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दिपक मनाङे पार्टी छाडेर कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका छन् । एमाले–माओवादी गठबन्धनले मनाङेलाई फकाउने प्रयास जारी राखेका छन् भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे फेरि कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रयासमा छन् ।

लुम्बिनी प्रदेशको नेतृत्व माओवादीले लिने सहमति भएको छ । अहिले कांग्रेस नेतृत्वको सरकार छ । नागरिक उन्मुक्ति पार्टीको सामर्थन लिएर संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखकहाँ जाने माओवादी तयारी छ । ‘आलोपालो सहमतिअनुसार अहिले हामीले सरकारको नेतृत्व गर्ने भन्ने भएको छ’ माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने, ‘आज गठबन्धनमा छलफल गर्छौं । बहुमत सांसदको हस्ताक्षर जुटाएपछि सरकार गठनका लागि दाबी पेश गर्छौं ।’

८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, माओवादीका ९, जसपाका ३ र एकीकत समाजवादीका एक सांसद छन् । गठबन्धनले बहुमत (४४) का लागि ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समर्थन खोेजेको छ ।

कर्णाली प्रदेशमा अहिले माओवादी संसदीय दलका नेता राजकुमार शर्मा नेतृत्वको सरकार छ । शीर्ष नेताहरुले भने आलोपालोमा अहिले एमाले नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् । ‘एमालेले नमानेपछि हामीले सरकारको नेतृत्व छाडेका हौं,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘त्यसले थोरै समस्या छ ।’

४० सदस्यीय प्रदेशसभामा गठबन्धनको प्रष्ट बहुमत (माओवादीका १३ र एमालेका १० र एकीकृत समाजवादीका १) पनि छ । तर मुख्यमन्त्री शर्माले शीर्ष तहमा भएको सहमति अनुसार सरकार छाड्न मानेका छैनन् । पार्टीका प्रदेशसभा सदस्यहरुको साथ पाएका उनले आज (मंगलबार) नै विश्वासको मत लिने तयारी गरेपछि सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

एमाले–माओवादी नेताहरुले सुदूरपश्चिममा पनि सरकार बनाउने गरी भागबण्डा गरेका छन् ।

तर गठबन्धनको बहुमत (२७) छैन । ५३ सदस्यीय प्रदेशसभामा माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । अहिले प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेस (१८) सबभन्दा ठूलो दल हो, तर मुख्यमन्त्री कमलबहादुर शाहसँग पनि बहुमत छैन ।

सरकार गठनमा निर्णायक नाउपा (७) विभाजित छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्ष एमाले–माओवादी गठबन्धनको पक्षमा रहेपनि संरक्षक रेशम चौधरी पक्षले ५ सांसदलाई कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनाइसकेको छ । नाउपाका कारण सरकार गठनमा अलमल भएपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार विहान रञ्जिता र रेशमसँग छुट्टाछुट्टै छलफल गरेका छन् । तर अहिलेसम्म नाउपाले साथ दिने प्रष्ट नभएकाले सरकार गठन अलमलमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?