+
+
सुदूरपश्चिम सरकारको एक वर्ष :

आधा समय सरकार बनाउँदै बित्यो, आधा अलमलमा

जनक विष्ट जनक विष्ट
२०८० माघ २७ गते २१:३०

२७ माघ, धनगढी । नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार बनेको आज (शनिबार) वर्षदिन पूरा भएको छ । गत वर्ष मंसिरको चुनावपछि २६ माघमा शाह दोस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका थिए ।

शाहभन्दा अघि नेकपा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री थिए । गत वर्ष १० पुसमा नेकपा एमाले नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा रावल सुदूरपश्चिमका मुख्यमन्त्री निर्वाचित भएका थिए ।

तर रावलले विश्वासको मत पाउन सकेनन् । अप्रत्यासित मत पाएर प्रदेश सभामा निर्णायक शक्ति बनेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदहरुले विश्वासको मत नदिंदा रावल एक महिनामै पदमुक्त भएका थिए ।

त्यसपछि एमाले बाहेकका दलहरुको समर्थनमा कांग्रेस नेता शाह मुख्यमन्त्री निर्वाचित भए र विश्वासको मत समेत पाए । तर नाउपाले फेरि पनि अडान लिदा मुख्यमन्त्री शाहले ६ महिनासम्म मन्त्रिपरिषद् पूर्ण हुन सकेन ।

मुख्यमन्त्री बनेको चार महिनापछि ६ जेठमा मुख्यमन्त्री शाहले दोस्रो पटक मन्त्रिपरिषद् बिस्तार गरे । तर सरकारलाई पूर्णता दिन भने उनले १७ साउनसम्म कुर्नु पर्‍यो । त्यसदिन नाउपालाई सहभागी गराउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिए ।

अर्थात् मुख्यमन्त्री बनेपछि आधा समय सरकार टिकाउनकै निम्ति शाहले खर्चनु पर्‍यो । बाँकी अवधि पनि मुख्यमन्त्री शाहले ढुक्कले सरकार चलाउने अवस्था बनेन । सत्तारुढ दलहरुभित्र एकपछि अर्को समस्या आइरहँदा देखाउनेगरी कुनै ठोस् काम प्रदेश सरकारले गर्न सकेन ।

प्रदेश सभाका नेताहरु प्रदेश सरकारले वर्षदिनमा देखाउन मिल्ने कुनै ठोस् काम गर्न नसकेको बताउँछन् । ‘सरकारको प्रशंसा गर्न मन लागेको थियो, तर हेर्दा केही काम नगरेर बिताएको देखियो’, डडेल्धुराबाट निर्वाचित स्वतन्त्र सांसद डा.तारा जोशी भन्छन् । काम गर्ने अवसर हुँदा पनि त्यसै समय खेर फाल्ने काम भएको उनी बताउँछन् । ‘एक वर्ष धेरै ठूलो समय हो । तर त्यो खेर गयो । केही नगर्नु पनि ठूलो भ्रष्टाचार हो’ उनी भन्छन् ।

एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री रावल, सरकारको वर्ष दिन घुमघाममै बितेको बताउँछन् । ‘संसदलाई विजनेश दिने, बजेट कार्यान्वयन गर्ने, कानुन, कार्यविधि निर्माण कुनै चासो छैन । घुमघाममै सरकारले दिन गुजारेको छ’ उनी भन्छन्, ‘विधि विधानलाई फलो गरेको छैन । एउटा पनि जनपक्षीय काम गरेन ।’

सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेताहरु भने मुख्यमन्त्रीको बचाउ गर्छन् । कांग्रेस प्रदेश सभा सदस्य सरस्वती खड्का, अघिल्लो सरकारले गरेका कमजोरी सुधार्दा समय गएको बताउँछिन् । ‘पहिले सरकारले गरेको कमजोरीलाई सच्याएर यो सरकारले काम गरिरहेको छ । बजेट विनियोजनका सम्बन्धमा पारदर्शी बजेट ल्याउन सफल भएका छौं’ उनले भनिन्, ‘केही नीतिगत काम गर्न बाँकी छन् । तर अहिले ऐन, कानुन निर्माणलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने वर्षदिन पूरा भएको अवसरमा आज सरकारको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ । ‘विगतमा टुक्रे योजना बाड्ने प्रवृत्ति थियो, त्यसलाई निरुत्साहित गर्दै स-साना योजना नराखेर बजेटलाई व्यवस्थित गर्ने काम भएको छ’ मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोखरेलले भने ।

विगतमा थालनी भएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुनु, आवश्कयताअनुसार ऐन, कानुन संशोधन गर्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्ने पोखरेल बताउँछन् ।

उत्साह ल्याउन नसकेको स्वीकार्छन् मुख्यमन्त्री

मुख्यमन्त्री शाह भने आफू नेतृत्वको सरकारले एक वर्षमा गरेको कामबाट सन्तुष्ट हुनुपर्ने दावी गर्छन् । यद्यपि चाहाना भएर पनि अनेक कारणले धेरै कुरा गर्न नसकिएको उनी बताउँछन् ।

‘यो एक वर्ष पूर्ण सफल बित्यो भनेर भन्न मिल्दैन, फेरि कमजोरी छ भन्ने कुरा पनि होइन’ शाहले भने, ‘सुशासन, भ्रष्टाचार नियन्त्रण संघीयता र प्रदेश सरकारबारे विभिन्न टिकाटिप्पणी हुने गरेका थिए । तिनलाई मिनिमाइज गर्ने क्रममा हामीले धेरै कुरा अघि बढाएका छौँ, राम्रो सन्देश गएको छ ।’

संविधान र संघीयतासँग सम्बन्धित धेरै कानुन बन्न बाँकी रहेको र संविधानसम्मत दिनुपर्ने अधिकार संघले नदिएकाले समस्या चाहेजस्तो गर्न नसकिएको उनको तर्क छ । ‘यही कारणले ठोस् रुपले गर्नुपर्ने विभिन्न कामहरु गर्न नसकिएको अवस्था पनि छ । त्यो कारणले चिन्ता छ,’ शाहले भने, ‘सोचेअनुसार जनतालाई दिनुपर्ने डेलीभरी, विकासका सम्बन्धमा ठोस रुपमा गर्नुपर्ने काम इच्छा शक्ति हुँदा पनि गर्न नसकेको अवस्था पनि हो ।’ तर ती समस्याहरुलाई सहज बनाएर जाने प्रयास भइरहेको उनले बताए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?