+
+

यी हुन् सुनको भाउ बढाउने ५ कारण, अझै कति पुग्ला ?

विश्वका केन्द्रीय बैंकहरूले सन् २०२२ देखि २०२३ सम्म दुई वर्षमै औसत १ हजार ६० टन सुन किनेको तथ्यांक छ ।

कमल नेपाल कमल नेपाल
२०८० चैत २१ गते १३:५३

२१ चैत, काठमाडौं । सुनको भाउले यतिबेला विश्व बजार तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । बुधबार तोलाको १ लाख ३३ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको भाउ मुख्यतः ५ कारणले बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका विभिन्न रिपोर्टले देखाउँछ । पहिलो, अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, दोस्रो, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, तेस्रो, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनु, चौथो, भूराजनीतिक द्वन्द्व र पाँचौ, आर्थिक गतिविधिमा सुस्तता देखिनु ।

सुनको भाउलाई यी विषयले असर पारेकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरू पनि सहमत छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विभिन्न कमोडिटी बजार अनुसन्धान अधिकृतहरूको भनाइ उद्धृत गर्दै मूल्य अझै बढ्ने प्रक्षेपण गरिरहेका छन् ।

गोल्डम्यान साक्स रिसर्च धातु प्रमुख निकोलस स्नोडन र विश्लेषक ल्याभिनिया फोर्सेलीले अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदरबारे अनिश्चितता देखाएकाले पनि मूल्यमा असर परिरहको रिपोर्टमा औंल्याएका छन् ।

फेडले मार्चमा ब्याज घटाउने अनुमान रहे पनि घटाएन, अहिले जुन महिनामा घटाउने अनुमान गरिन थालेको छ । ब्याजदर घट्दा सुनको भाउ बढ्ने आशले गर्दा अहिले ठूला लगानीकर्ताले पनि सुनको माग बढाइरहेका छन् । ‘कमोडिटी र स्टक मार्केटलाई पूर्वानुमानले धेरै असर पार्छ, ब्याजदर घट्छ र मूल्य अझै बढ्छ भन्ने भावना विकास भएको छ, जसले माग पक्ष बलियो बनिरह्यो भने आपूर्ति कमजोर बन्यो’ रिपोर्टमा उल्लेख छ ।

अर्कोतर्फ विश्वका केन्द्रीय बैंकहरूले विगत दुई वर्षमा अत्यधिक सुन खरिद गरे र उदीयमान बजारहरूमा बलियो खुद्रा मागले मूल्य बढेको उनीहरू बताउँछन् । ‘विगतका दुई वर्ष केन्द्रीय बैंकहरूको खरिद बलियो देखियो, अर्कातिर भूराजनीतिक तनाव पनि बढिरह्यो, जसले मूल्यमा दबाब परिरहेको छ,’ रिपोर्टमा छ । केन्द्रीय बैंकहरुले भण्डारणका लागि खरिद गरेको सुनले नियमित आपूर्तिमा अवरोध गर्दछ ।

कोभिड महामारी तथा रुस–युक्रेन युद्धपछि चीन, भारत, अमेरिका लगायत देशले सुन भण्डारण बढाए । विश्वका केन्द्रीय बैंकहरूले सन् २०२२ देखि २०२३ सम्म दुई वर्षमै औसत १ हजार ६० टन सुन किनेको तथ्यांक छ । जबकि २०१६ देखि २०१९ बीच तीन वर्षमा जम्मा ५ सय ९ टन किनेका थिए ।

‘चीनले अमेरिकी डलर सञ्चिति हटाउँदै सुन भण्डारण बढाउने र पोल्यान्डजस्ता देशले पनि भण्डारण बढाएपछि यो वृद्धि भएको हो,’ रिपोर्टमा उल्लेख छ । पछिल्लो समय चीनले अमेरिकी डलरलाई महत्व दिन छाडेको छ भने सुनलाई बढी महत्व दिँदै भण्डारण बढाएको छ । चीनले अन्य मुलुकसँग अमेरिकी डलरको सट्टा अन्य मुद्रामै कारोबार गर्न थालेको छ ।

भूराजनीतिक जोखिम, घरेलु मुद्रास्फीति र अमेरिकी डलरको कमजोरीका कारण रिजर्भ पोर्टफोलियो विविधीकरण गर्ने प्रयासमा विश्वका केन्द्रीय बैंकहरूबाट बलियो खरिद माग रहँदा सुनको भाउ बढेको विश्व सुन परिषद् बजार रणनीतिकार जोसेफ काभाटोनीले सीएनबीसीलाई बताएका छन् ।

रिपोर्ट अनुसार सुनमा लगानीको माग अझै बढ्न सक्ने छ । रुस–युक्रेन द्वन्द्व र अमेरिकामा सिलिकन भ्याली बैंक संकटजस्ता प्रमुख अवरोधले सुन खरिद र भण्डारणमा उत्प्रेरित गरेको रिपोर्टमा उल्लेख छ । लगानी व्यवस्थापन कम्पनी गेबेली फन्डका पोर्टफोलियो प्रबन्धक सिजर ब्रायनले चीनमा घरजग्गा क्षेत्रको मन्दी र त्यहाँको स्टक मार्केटले विगत १ वर्षदेखि राम्रो प्रदर्शन नगर्दा पनि ठूला लगानीकर्ता सुनतर्फ मोडिएको बताएका छन् ।

त्यस्तै विभिन्न मुलुकको आर्थिक गतिविधिमा सुस्तता देखिएको र यसले गर्दा निजी क्षेत्रको लगानी विविधीकरण हुन नसकेको जनाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य समय क्रममा नै विश्व जटिलताहरू आइरहँदा मूल्य बढिरहेको र एकपछि अर्को रेकर्ड बनिरहेको बताउँछन् ।

‘सुरुमा कोभिड महामारी देखियो र मूल्य बढ्दै गयो, त्यसपछिको रुस–युक्रेन युद्ध, हमास–इजरायलको युद्धले मूल्य बढाइरह्यो,’ उनले भने, ‘अहिले ती युद्ध जारी नै छन्, तीबाहेक अमेरिका र चीनको भूराजनीतिक सम्बन्धले पनि असर परेको छ ।’

युद्ध बढ्दा, भूराजनीतिक तनाव बढ्दा विश्वका केन्द्रीय बैंक र ठूला लगानीकर्ताले समेत सुनमा लगानी बढाउने गरेको शाक्य बताउँछन् । ‘विश्वभर आर्थिक गतिविधिमा सुस्तता देखिएकाले औद्योगिक तथा अन्य उत्पादन क्षेत्रतर्फ लगानी जान सकेन, सो लगानी पनि सुनमै हुन थालेपछि मागसँगै मूल्य बढ्यो’ उनले भने ।

कतिसम्म बढ्ला भाउ ?
सुनको भाउ कतिसम्म जान्छ भनेर कसैले सही अनुमान गर्न सक्दैन । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो ।

अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गरिरहेका छन् । इकोनोमी फोरकास्ट एजेन्सीका विज्ञहरूले सुन २०२४ मेको अन्त्यसम्म २ हजार ३ सय ७० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् ।

उनीहरूले प्रक्षेपणका आधारहरु खुलस्त भने पारेका छैनन् । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार २ सय ८५ डलर हाराहारी छ । इकोनोमी फोरकास्ट एजेन्सीका विज्ञहरूको प्रक्षेपणलाई आधार मान्ने हो भने पनि अरु दुई महिनामा अझै १ सय डलर महँगिन सक्नेछ । मेपछि भने सुनको मूल्य केही घट्न सक्ने प्रक्षेपण उनीहरूको छ । यो प्रक्षेपण मात्रै भएकाले वास्तविक परिवेशमा नमिल्न सक्ने भएकाले विश्वास गरेर कारोबार नगर्न उनीहरूले आग्रह पनि गरेका छन् ।

यदि प्रक्षेपण मिल्ने हो भने हालभन्दा करिब ४ प्रतिशत बढी हो । हाल नेपाली बजारमा प्रतितोला १ लाख ३३ हजार रुपैयाँ रहेकाले थप ६ हजारसम्म महँगिएर १ लाख ३९ हजारसम्म पुग्न सक्ने छ । ‘हाललाई सुनको मूल्य घट्ने आधार त बलियो देखिँदैन, तर कसैका प्रक्षेपण मिल्छ भन्ने पनि हुँदैन,’ शाक्यले भने ।

पाँच वर्षमा २.२१ गुणा बढ्यो भाउ
अन्तर्राष्ट्रिय बजार र नेपालमा सुनको मूल्य वृद्धिको लय करिब उस्तै रहने गरेको छ । पछिल्लो पाँच वर्ष हेर्दा अन्तर्राष्ट्रिय भन्दा नेपाली बजारमा मूल्य उच्च दरमा बढेको देखिन्छ ।

अमेरिकी डलरको मूल्यवृद्धि र सरकारले बढाउने करका कारण अन्तर्राष्ट्रिय भन्दा नेपाली बजारमा उच्च दरमा बढेको हो । पाँच वर्षअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार २ सय ८८ डलर रहेको सुन अहिले २ हजार २ सय ८० हाराहारी पुग्यो । अर्थात्, १.७७ गुणा बढ्यो ।

तर, सोही पाँच वर्ष अवधिमा नेपाली बजारमा भने २.२१ गुणाले बढेको छ । बुधबार तोलामा १ लाख ३३ हजार रुपैयाँ पुगेको छ। २०७५ चैत २५ मा सुनको भाउ तोलामा ६० हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक छ । पछिल्लो एक महिना हेर्दा सुन तोलामा २० हजार, दुई वर्ष हेर्दा ३० हजार, र तीन वर्ष हेर्दा ४० हजार बढेको देखिन्छ ।

विगत डेढ वर्षमा सुनको अन्तर्राष्ट्रिय मूल्य ट्रेन्ड 

सुन महँगिदा के असर पर्छ ?
नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

‘अर्कातर्फ सुनलाई इज्जत र प्रतिष्ठासँग जोडेर हेरिने गरेकाले विवाह, विभिन्न चाडपर्व तथा सांस्कृतिक कार्यमा सुन अवलम्बन गरिँदै आएको छ, यसले त्यस्ता कार्यमा खर्च बढाउँछ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्यले भने ।

विश्वका विभिन्न देशका कमोडिटी बजारमा सुन कारोबार हुन्छ । तर, नेपालमा कमोडिटी बजार नै छैन । केही वर्षअघि सञ्चालनमा रहेका कमोडिटी बजार समेत नीतिगत व्यवस्था पर्याप्त नरहेको भन्दै बन्द गरेको धितोपत्र बोर्डले नयाँ सञ्चालनका लागि खास तदारुकता देखाएको छैन ।

कमोडिटी बजार सञ्चालन भए भविष्यमा हुन सक्ने मूल्यवृद्धिलाई आजै अनुमान गरेर सुन खरिद गर्न सकिन्छ । खरिद भएको सुन चाहेका बेला भौतिक रूपमै ग्रहण गर्न सकिन्छ वा नाफा लिएर बेच्न सकिन्छ । तर, नेपालमा कमोडिटी बजार नहुँदा त्यो अवसरबाट राज्यले वञ्चित गराएको छ ।

नेपालमा काँचो सुन खरिद गर्ने वा भविष्यमा मूल्यवृद्धिको सुरक्षाबाट जोगिने अवसर पनि नरहेको महासंघ महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । ‘काँचो सुन किनबेच गर्न वा खरिद गर्न पाइँदैन, यो अवैधानिक छ तर गहनाका रूपमा कसैले भौतिक रूपमा भने खरिद गरेर राख्न सक्छ,’ उनले भने ।

गहनाका रूपमा सुन खरिद गर्दा कुल मूल्यको थप १५ प्रतिशतसम्म जर्ती तथा ज्याला व्यवसायीले लिने गरेका छन् । हाल १ तोला सुनको गहना बनाउनुपरे यसको मूल्य १ लाख ३३ हजार छ, त्यसैको १५ प्रतिशत थपिँदा कुल १ लाख ५३ हजार रुपैयाँसम्म पर्न आउँछ । तर पछि त्यहीं १ तोलाको गहना बेच्दा प्रचलित बजार मूल्य मात्रै पाइन्छ । जसकारण संभावित मूल्यवृद्धिको जोखिमबाट बच्न, वित्तीय व्यवस्थापन सहज बनाउन चाहनेलाई राज्यले वञ्चित गराएको छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?