+

प्रश्नोत्तर : माइग्रेनबारे के भन्छन् चिकित्सक ?

२०८० चैत  २१ गते १३:५१ २०८० चैत २१ गते १३:५१
प्रश्नोत्तर : माइग्रेनबारे के भन्छन् चिकित्सक ?

माइग्रेन के हो ?

माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने समस्या हो । माइग्रेन हुँदा टाउको एक भागमा असह्य टाउको दुखाइ हुन्छ । जसकारण यसलाई अर्ध टाउको दुखाइ पनि भनिन्छ । र, यो एक प्रकारको ‘न्युरोजेनिक डिसअर्डर’ हो ।

बै टाउको दुखा माइग्रेन हो ?

टाउको दुख्ने समस्या धेरै कारणले हुन्छ । मेडिकल भाषामा  भन्नुपर्दा टाउको दुख्ने समस्यालाई दुई किसिममा बाँड्न सकिन्छ, प्राइमरी प्रकारको टाउको दुखाइ र सेकेन्डरी प्रकारको टाउको दुखाइ ।’

प्राइमरी प्रकारको टाउको दुखाइ : कुनै रोग बिना वा ठोस कारण बिना टाउको दुख्नु प्राइमरी प्रकाको टाउको दुखाइ हो । प्रष्ट कारण देखिंदैन तर टाउको अकस्मात दुख्ने गर्छ । यसको मुख्य कारण माइग्रेन हो । यस अन्तर्गत शरीरमा हार्मोनको सन्तुलन नहुनु तथा रक्त सञ्चालनमा गडबडी तथा अवरोध हुनु नै टाउको दुखाइको कारण हुनसक्छ ।

सेकेन्डरी प्रकारको टाउको दुखाइ : कुनै रोगका कारण टाउको दुख्नु सेकेन्डरी प्रकारको टाउको दुखाइ हो  । कान, आँखा तथा दाँतको संक्रमणका कारण टाउको दुख्न सक्छ । त्यसैगरी टाउकोभित्रको ट्युमरका कारण टाउको दुख्न सक्छ । रक्तचाप कम वा बढी हुँदा तथा अनियन्त्रित मधुमेहका कारण पनि बढी टाउको दुख्न सक्छ ।

टाउको दुख्ने समस्या माइग्रेन हो कि होइन भनी कसरी छुट्याउने ?

दैनिक आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कञ्चट दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने आदि समस्या भए माइग्रेनका कारण हुनसक्छ । यस्ता समस्या भएकालाई घाम तथा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने तथा झर्को लाग्ने हुन्छ । खाली पेट हुँदा, ब्रत बस्दा एवं राम्रोसँग निद्रा नलाग्दा टाउको दुख्न सक्छ । तनाव तथा चिन्ताका कारण पनि टाउको दुख्छ ।

माइग्रेनको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ भनिन्छ किन ?

अहिलेसम्म यसको यही कारण भनेर पुष्टि भएको छैन । तर विभिन्न अध्ययनअनुसार पुरुषको तुलनामा महिलाहरु माइग्रेनको सिकार हुने बताइएको छ । जसअनुसार महिलामा माइग्रेनको दुखाइ महिनावारीको समयमा हुने गर्छ । किनभने महिनावारी हुने समयमा हार्मोनको गडबडी (प्रोजेस्टेरोन र एस्टेरोजेन हार्मोनको उतारचढाव) हुने  हुनाले, परिवार नियोजनको साधन पिल्स प्रयोग गर्दा पनि माइग्रेनको समस्या हुनसक्छ । यद्यपि महिलामा हुने सबै टाउको दुख्ने समस्या भने माइग्रेन होइन ।

यसको औषधि उपचार के छ ?

माइग्रेनको कुनै निश्चित औषधि उपचार छैन । नेपालमा मात्र नभई विश्वको कुनै पनि ठाउँमा माइग्रेनलाई पूर्णरुपमा निर्मूल गर्ने कुनै औषधि आजसम्म बनेको छैन । त्यसैले माइग्रेनको लक्षण देखापरेको खण्डमा चिकित्सकलाई जँचाइहाल्नुपर्छ । तर एकपटकमै टाउको दुख्नासाथ देखाइहाल्नुपर्दैन ।

तर कुनै मानिसलाई महिनामा चारदेखि पाँचपटकभन्दा बढी टाउको दुख्छ, १२ घण्टाभन्दा बढी दुख्छ, एकैचोटि अचानक दुख्छ र असह्य पीडा हुन्छ । र, टाउको दुखेकै कारण केही काम गर्न सकिंदैन भने त्यसबेला औषधि चलाउन आवश्यक हुन्छ । एकपटक औषधि चलाइसकेपछि कम्तीमा तीन महिनादेखि ६ महिनासम्म सेवन गर्नुपर्ने हुनसक्छ ।

कहिलेकाहीं त्यो भन्दा लामो समयसम्म पनि औषधि चलाउनुपर्ने हुनसक्छ । लामो समय औषधि चलाउँदा माइग्रेन समस्या क्रमशः घट्दै जान्छ । र, दुई-चार वर्ष माइग्रेनको समस्या नहुन सक्छ वा भए पनि कम टाउको दुख्ने हुन्छ ।

यसको उपचार के छ ?

व्यक्तिअनुसार कारण फरक-फरक हुनसक्छ । जसमध्ये तनाव, अनिद्रा, चिसो, लामो समय भोकै बस्दा, घाम, होहल्ला, गन्ध र खानेकुराले पनि हुनसक्छ (जस्तै, अजिनोमोटो भएका खानेकुरा, दूधजन्य परिकारको एलर्जी) कारणले पनि माइग्रेन हुनसक्छ । माइग्रेनको पूर्ण उपचार नभएपनि के कारणले भएको पत्ता लगाएर निश्चित उपचार विधि अपनाएर यसलाई कम गर्न सकिन्छ । जीवनशैलीमा परिवर्तन ल्याउन सके पनि यो समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।

के के कारणले हुनसक्छ माइग्रेन ?

माइग्रेनबाट बच्नका लागि औषधि भन्दा पनि आफूलाई के चीजबाट माइग्रेनको समस्या भएको छ त्यो कारण पत्ता लगाएर त्यसलाई व्यवस्थापन गर्ने वा त्यो चीजबाट टाढा बस्ने प्रयास गर्नुपर्छ । यसका लागि आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ, जस्तै समयमा खाने, आराम गर्ने, काम गर्ने र सुत्ने समय तालिका मिलाउनुपर्छ । यसले पनि माइग्रेनको समस्या कम गर्छ । त्यस्तै केही खानेकुरा खानेबित्तिकै टाउको दुख्ने हुन्छ भने त्यसलाई ध्यानमा राखेर त्यस्तो खानेकुरा नखाने गर्नुपर्छ ।

जोखिममा क ?

यो रोग विशेष गरी किशोरावस्था र वयस्क (५० वर्षमुनि) अर्थात् सक्रिय उमेरका मानिसमा धेरै देखिने गरेको पाइन्छ ।

डा. सुनिल कोइराला माइग्रेन
डा. सुनिल कोइराला
लेखक
डा. सुनिल कोइराला
वरिष्ठ कल्सल्टेन्ट न्युरोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३०२७ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), डीएम (न्युरोलोजी) हाल वीर अस्पतालको न्युरोलोजी विभागमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय