+

टाउको दुखाइ माइग्रेन हो कि होइन ?

२०७९ फागुन  ३० गते १६:५४ २०७९ फागुन ३० गते १६:५४
टाउको दुखाइ माइग्रेन हो कि होइन ?

टाउको दुखेपछि धेरैले अनुमान लगाउँछन्, ‘मलाई त माइग्रेन भएजस्तो छ ।’ टाउको दुख्नु आम समस्या हो । कहिले तनावले टाउको दुख्छ, कहिले अनिद्राले । भोक, होहल्ला, चर्को घाम, मदिरापानजस्ता कुराले पनि टाउको दुख्न सक्छ ।

कतिपय अवस्थामा यसैपनि टाउको भारी हुन्छ । केही समय दुख्छ, फेरि आफैं ठीक हुन्छ । के टाउको दुख्नु भनेको माइग्रेन नै हो त ? माइग्रेन हुँदा र नहुँदा टाउको दुख्ने अवस्थामा कति फरक हुन्छ ? यससँगै अर्को प्रश्न पनि जोडिन्छ । माइग्रेन चाहिं के हो ? यसले के समस्या ल्याउँछ ? यसको उपचार कसरी हुन्छ ?

टाउको विभिन्न कारणले दुख्छ । टाउको दुख्ने समस्या भएकामध्ये पाँच प्रतिशतलाई मात्र माइग्रेन हुन सक्छ । खासमा टाउको दुख्नुको ९० प्रतिशत कारण ‘टेन्सन टाइप हेड्याक’ हो । टेन्सन भनेपछि हामीले चिन्ता भनेर बुझ्छौं । तर यसले चिन्ता मात्र भन्ने बुझाउँदैन । यस्तो किसिमको दुखाइ विभिन्न कारणले हुन सक्छ । अर्थात् बेलाबखत टाउको दुख्नु माइग्रेन होइन ।

यदि टाउकोको पूरै भाग दुखेको छ भने त्यो सामान्य दुखाइ हो । यस्तो दुखाइ दुई, चार घण्टा वा बढीमा एक दिनसम्म दुख्न सक्छ । तर यदि टाउकोको आधा मात्र भाग दुख्छ । त्यो पनि नियमित रुपमा । दुई, चार दिनसम्म दुखिरहन्छ भने त्यो माइग्रेन हुन सक्छ ।

खासमा माइग्रेन के हो ?

माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, खासगरी यसलाई वंशाणुगत समस्याको रुपमा पनि लिन सकिन्छ । जस्तै आमालाई यस्तो समस्या छ भने छोरीलाई पनि हुन्छ । जसलाई परापूर्वकालमा आधा कपाल दुखाइ पनि भन्ने गरिन्थ्यो । हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइएको छैन ।

प्रा. डा. राजीव झा

टाउकोको छालामा विभिन्न कारणले गर्दा एक किसिमको रसायन उत्पादन हुन्छ । जस्तै, कसैलाई खानेकुराबाट दूध, दही, मही, चीज, चक्लेट वाइन, गुन्द्रुक, सिसीमा राखेको बनाएको अचार यस्तो खानाहरु खाँदा टाउको छालामा रसायन बढ्छ । अर्को गन्धबाट पनि यस्तो रसायन उत्पादन हुन्छ ।

माइग्रेन हुँदा कसरी टाउको दुख्छ ?

माइग्रेन हुँदा टाउकोको आधा भाग मात्र दुख्छ । कहिले दायाँतिर त कहिले बायाँतिर दुख्छ । साथै टाउकोको नसाहरु सबै जगरिएजस्तो कडा हुने, नसा चरचर चलेको जस्तो हुने गर्छ ।

माइग्रेनको टाउको दुखाइ तीनदेखि चार दिनसम्म निरन्तर एकदम दुख्ने हुन्छ । त्यसबेला देखिने लक्षण आँखा खोल्न गाह्रो हुने, उज्यालो प्रकाश सहन नसक्ने, बोल्न मन नलाग्ने, ध्वनि सुन्दा रिसाउने, अँध्यारो कोठामा सुत्न मन पराउने, खानामा अरुचि हुने, बान्ता हुने जस्ता समस्या हुन्छ ।

माइग्रेनले निम्त्याउन सक्ने जोखिम के हो ?

माइग्रेनले त्यस्तो जटिल समस्या निम्त्याउँदैन । यसको कारण मृत्यु हुँदैन । यदि माइग्रेनको समयमा उपचार भएन वा के कारणले भएको थाहा पाउन सकिएन वा बिरामीलाई धेरै बान्ता हुने भएको खण्डमा शरीर कमजोर हुने र डिहाइड्रेसन हुन्छ, जुन शरीरमा पानीको कमिले हुने गर्छ ।

यसको उपचार कसरी हुन्छ ?

पहिलो चरणमा माइग्रेन के कारणले भएको पत्ता लगाउन जरुरी छ । यसको लागि टाउको दुखाइको क्यालेन्डर बनाउन सकिन्छ । अर्थात् आफूलाई टाउको दुखेको लक्षण, समय आदिलाई याद गरेर त्यसको नोट बनाउने हो ।

जसले गर्दा कुन बेला टाउको दुख्छ ? टाउको दुख्ने बेला के–के हुन्छ ? टाउको दुखाइको किसिम थाहा पाउने (धेरै, थोरै ठिक्क) कसरी दुख्छ टाउको ? बान्ता आउँछ कि आउँदैन ? वाकवाकी मात्र लागेको हो थियो कि ? त्यो दिन के के खाएको थियो ? यी कुराको विवरण स्पष्ट आउँछ ।

यी कुरालाई मध्यनजर गरेर बिरामीलाई खास के कारणले माइग्रेन भएको हो ? पत्ता लगाइन्छ । बिरामीलाई के हुँदा, कस्तो अवस्थामा, के खाँदा टाउको दुख्छ त्यो कुरा पत्ता लगाएर उपयुक्त सुझाव दिन सकिन्छ । यदि कारण पत्ता लागेन भने औषधि पनि दिन सकिन्छ ।

यस्तो औषधि सामान्यतया महिनाको चारदेखि पाँच चक्की खुवाउने गरेका छौं, त्यो पनि टाउको दुखेमा मात्र । माइग्रेनको यो बाहेक अरु कुनै उपचार छैन । यो सिटी स्क्यान, एमआरआईबाट पत्ता लगाउन सकिंदैन । अहिलेसम्म संसारमा कुनै माइग्रेन पत्ता लगाउने कुनै मेसिन बनेको छैन ।

माइग्रेन कसलाई हुन्छ ?

माइग्रेन खासगरी १८ देखि ३५ वर्षसम्मको युवा उमेर समूहलाई बढी देखिन्छ । ५ देखि १३ वर्षसम्मका बालबालिकालाई पनि माइग्रेनको समस्या देखिएको छ । माइग्रेन पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । बच्चाहरुमा स्कुल जान मन नपराउने, पढाइमा ध्यान नहुने जस्ता सामान्य खालका लक्षण देखा पर्छन् ।

टाउको दुखाइ माइग्रेन
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

यौन दुर्बलताको के छ समाधान ?

यौन दुर्बलताको के छ समाधान ?

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?