+
+

नौबहिनीको आधारभूत तहको परीक्षामा ११ प्रतिशत विद्यार्थी उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १६:४३
नौबहिनी गाउँपालिकाकाे कार्यालय ।

२२ चैत, काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिकाले आधारभूत तह (कक्षा ८) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार जम्मा परीक्षार्थीमध्ये करिब ११ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी भएका १८ विद्यालयका ७४३ जना विद्यार्थीमध्ये जम्मा ८१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

कक्षा ५ र ८ को परीक्षा व्यवस्थित गर्न र सिकाइ गुणस्तर उकास्न प्रयास भइरहेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मेघराज बोहराले बताए । उनले भने ‘हामीले परीक्षा व्यवस्थित गराउन र सिकाइ गुणस्तर बढाउन अलि कडाइ गरिरहेका छौं । अर्को वर्षदेखि नतिजामा सुधार आउँछ ।’

गाउँपालिकाले दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको शाखा प्रमुख मेघराज बोहराले बताए । उनका अनुसार ४१० जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

बुधबार परीक्षाको नतिजा सार्वजनिक गरेको गाउँपालिकाले ७ दिनभित्र ६ र ७ वैशाखमा हुने ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फारम भर्न सूचित गरेको छ । साथै नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योगको लागि ५ दिनभित्र शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

नौबहिनीले चैत १ देखि ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । सरकारले गत वर्षदेखि विद्यालय तहमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू गरेको छ । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था छ ।

त्यस्तै कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा माथिल्लो कक्षा पढ्न पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?