+
+

मृत्यु जितेर शानदार पुनरागमन गरेका ऋषभ पन्त

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत २२ गते २०:५१

२२ चैत, काठमाडौं । युवा आक्रामक विकेटकिपर ऋषभ पन्त २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध दुई टेष्ट खेलको सिरिज सकेर भारत फर्किँदा आमालाई सरप्राइज दिन चाहन्थे । उनको तयारी थियो, जानकारी नदिई सिधैं उत्तराखण्डस्थित घर गएर भन्ने– मम्मी म आएँ, गेट खेल्नुस् ।’

दिल्लीबाट आफैं कार चलाउँदै घरतर्फ लागे । थकान अनि लामो ड्राइभिङले ३० डिसेम्बर बिहान साढे ५ बजेतिर पन्त झुप्प निद्रामा झिमिक्क आँखा पारे । तीव्र गतिमा गुडेको कार अनियन्त्रित भएर रुड्की सडक छेउको डाइभर्सनमा पछारिन पुग्यो ।

बिहानी हुँदा सडकमा चहलपहल कम थियो । त्यही सडकमा हिँडेका बस चालक सुशील कुमारले त्यहाँ गएर हेरे । गाडीको सीसा फुटाएर सडकको छेउमा ल्याए । अनुहारमा रगत हुँदा सुरुमा बस चालकले ऋषभ पन्त भनेर चिन्न सकेनन् । एयर ब्यागको कारण बाँच्न सफल भएका पन्त आफ्नो नाम मात्रै बताउन सक्थे ।

पन्तलाई एम्बुलेन्समा हालेर नजिककै म्याक्स हस्पिटलमा लगियो । उनको दायाँ खुट्टा डिसलोकेट भएर बाङ्गो भएको थियो । खुट्टा, घुँडा, हात, मेरुदण्ड, पछाडि भाग, आँखा र टाउकोमा चोट लागेको थियो । सबभन्दा ठूलो चोट दायाँ खुट्टाको घुँडामा थियो । म्याक्सपछि थप उपचार गर्न मुम्बईको कोकिलाबेन अस्पतालमा लगिएको थियो ।

घटनाबारे थाहा पाएका धेरैले भन्थे, धन्न बचेछन् पन्त । उनी क्रिकेटमा फर्किने आश निकै कमले गरेका थिए ।

‘मैले जिन्दगीमा पहिलो पटक अब मेरो समय आयो भनेर सोच्न थालेको थिएँ’ त्यो त्रासदीपूर्ण घटना सम्झिँदै पन्तले हालै स्टार स्पोर्ट्ससँग भनेका छन्, ‘मलाई कसले बचायो, त्यो पनि थाहा थिएन । त्यो समयमा मेरो सोच चोटको पीडा कम होस् भन्ने मात्रै थियो । अरु के भएको थियो थाहा थिएन ।’

घुँडाको शल्यक्रियापछि पन्त एक महिनासम्म हिँडडुल गर्न सकेनन् । ह्वीलचेयरमा बस्ने उनी ३÷४ जना सहयोगीको भरमा यताउता गर्थे । आफ्नो त्यो अवस्थाले साह्रै पीडा दिन्थ्यो । निराश बनाउँथ्यो ।

‘जिन्दगीमा दोस्रो जीवन, जोकोहीलाई मिल्दैन । डाक्टरले मलाई भाग्यमानी हुँदा यस्तो दुर्घटनाबाट बच्न सफल भएको बताएका थिए । सुरुमा यस्तो अवस्था देख्दा आफूलाई लक्की लागेन । तर पछि सोचेँ यत्रो दुर्घटनाबाट बाँच्न पाउनु नै भाग्यमानी हो ।’

उनको उपचारमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कुनै कसर बाँकी राखेको थिएन ।

दुर्घटना भएको १ महिना १० दिनपछि वैशाखीको सहारामा पहिलो पटक खुट्टाले टेक्न सके । त्यसपछि घरको सिँढी चढ्न थाले । आफ्नो स्वास्थ्य सुधारको अपडेड सामाजिक सञ्जालमा राख्न थाले । चोटमा देखाएको माया उनको लागि एउटा प्रेरणा थियो ।

क्रिकेट खेल्न भन्दा हेर्न गाह्रो

२०२३ अप्रिल ४ मा ऋषभ दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा गुजरात टाइटन्सविरुद्ध खेल हेर्न गए । मैदानभित्र गएर खेल्नुभन्दा बाहिर बसेर हेर्न गाह्रो हुने सुनेका थिए, यसपटक आफैंले भोगे । आफू मैदानमा भएको भए यस्तो वा उस्तो गर्थे । त्यो भन्दा यो राम्रो हुन्थ्यो ।

यस्तै अनेक कुरा उनको मनमा खेलिरह्यो । जसले उनलाई थप पीडा दियो । त्यसपछि केही समय क्रिकेट नै हेर्न छाड्दिए ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको एजेस ट्रफी हेरे । २०२३ अगष्टमा पन्त विजयनगरमा एक खेल हेर्न गए । पन्तको मनले मानेन । त्यहाँ केही बल क्रिकेट खेले । दुर्घटनापछि उनी मैदान फर्किएको त्यो नै पहिलो खेल थियो ।

त्यसपछि पन्तले फिजियो थेरापीसँगै फिटनेसमा ध्यान दिन थाले । भारतीय क्रिकेट बोर्डको नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा प्रशिक्षण गर्न थाले । एनसीएले पन्त फिट भएको जानकारी दिएसँगै उनी आईपीएल खेल्ने पक्का भयो ।

अनि शानदार पुनरागमन

आईपीएल २०२४ मा धेरैको जिज्ञासा पन्त कस्तो क्रिकेट खेल्छन् र, मुम्बईमा हार्दिक पान्ड्याको कप्तानी र समर्थकको रियाक्सन कस्तो हुन्छ भन्ने थियो ।

चोटपछि आफ्नै लयमा फर्किन हरेक खेलाडीलाई केही समय लाग्छ । २३ मार्चमा पञ्जाब किंग्सविरुद्ध दिल्लीको कप्तानी गर्दै पुनरामगन गरेका पन्तले गज्जबको सुरुवात गरे । पञ्जाब किंग्सविरुद्ध १३ बलमा २ चौकासहित १८ रन बनाएका उनी राजस्थान रोयल्सविरुद्ध २६ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाएर आउट भए । त्यसपछि आक्रामक क्रिकेटका साथ लगातार दुई अर्धशतक हानेका छन् ।

चेन्नई सुपर किंग्सलाई २० रनले हराउन पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनको इनिङ खेले । चेन्नइविरुद्ध १७ औं ओभरमा मुस्ताफिजुर रहमानलाई एक हातले छक्का हान्दै समर्थकमा पुरानै ऋषभ पन्तको झल्को पनि दिए ।

कोलकातासँग पन्तले २५ बलमा ४ चौका र ५ छक्कासहित ५५ रनको आक्रामक इनिङ खेले । उनले वेंकटेस ऐरलाई १२ औं ओभरमा ४ चौका र २ छक्कासहित कुल २८ रन जोडेका थिए ।

आईपीएलमा शानदार पुनरागमनसँगै पन्तले आगामी जुन र अमेरिकामा हुने टी–२० विश्वकप खेल्ने सम्भावना बढेको छ । पन्त नहुँदा भारतको टोलीमा विकेटकिपरका रुपमा लोकेश राहुल, सञ्जु स्यामसन र जितेश शर्माले सीमित ओभरको क्रिकेट खेलेका थिए ।

धोनीसँग तुलना

भारतीय क्रिकेटमा बेलाबेला विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीसँग पन्तको तुलना हुने गर्दछन् । उनलाई धोनीको उत्तराधिकारी पनि भनिन्छ । जसको कारण पन्तलाई भने दबाब हुने गरेको छ ।

धोनी र पन्तको सम्बन्ध निकै राम्रो छ । पन्तले धोनीलाई आफ्नो गुरु मान्छन् । सल्लाह सुझाव लिइरहेका हुन्छन् । ‘मेरो धोनीसँग तुलना नै हुन सक्दैन । यो तुलना देख्दा मलाई दुःख लाग्छ’, पन्तले भने, ‘म धोनीबाट हरेक कुरा सिक्छु । हरेक कुरा सजिलै बोल्न सक्छु । जुन कुरा अरुसँग सक्दैन । ५०० भन्दा बढी खेल खेलेका धोनीसँग भर्खर सुरुवात गरेको मान्छेसँग तुलना गर्नु नै गलत हो ।’

उनले भेटेको बेला धोनीलाई भनेका थिए, ‘तपाईं लेजेन्ड्स हुनु भयो र सबै दबाब मलाई दिनुभयो ।’

नेपालले सिक्नुपर्ने पाठ

खेलाडीको करिअरमा चोट एउटा पाटो मानिन्छ । तर नेपालमा धेरै खेलाडीको करिअर सामान्य चोटले नै सकाउने गरेको छ । क्रिकेटमा पृथु बास्कोटा, अविनाश कर्ण, सागर पुन, ललित भण्डारी र जितेन्द्र मुखिया पछिल्लो उदाहरण हुन् ।

कमलसिंह ऐरीको ब्यूटीबोनमा चोट लागेपछि २०२२ पछि नेपाली टोलीमा फर्किन प्रयास गरेका छन् । तीव्र गतिका बलर ललित भण्डारी २०२२ मा मोटरसाइकल दुर्घटना भएको चार वर्षपछि घरेलु क्रिकेटमा बल्लतल्ल खेल्न थालेका छन् ।

जितेन्द्रलाई ब्याक, सागर र अविनाशलाई एकंल तथा पृथुलाई घुँडामा चोट लागेको थियो । नेपालमा सामान्य चोट लागेपनि समयमै ठीक हुन सकेको छैन । ठीक हुनुको सट्टा बल्झिएर झन् समस्या थपिने गरेकोछ ।

सन् २०२० देखि २०२२ सम्म सोमपाल कामी ब्याकपेनका कारण निकै संघर्ष गनु परेको थियो । तर चोट जस्तोसुकै भएपनि उपचार सही र समयमै पाएमा खेलाडी आफ्नो लयमै फर्किन सक्छन् भन्ने पन्त एउटा गतिलो उदाहरण हुन् ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?