+
+

तीर्थ पुनले जिते लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १३:५१

२४ चैत, काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि तीर्थ पुनले जितेका छन् । शनिबार भएको म्याराथनमा उनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे ।

उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै २ घण्टा २१ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै खड्कबहादुर खड्का दोस्रो भए । उनले नगद ३ लाख रुपैयाँ पाए । २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भएका दुर्गाबहादुर बुढाले २ लाख रुपैयाँ पाए ।

प्रतियोगितामा अनिश थापा चौथो, किरण बोगटी पाँचौं, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरे दसौं स्थानसम्म आए । चौथो देखि १० औंसम्म आउनेले क्रमश ८० हजार, ६० हजार, ४० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । सन्तोषीले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् । पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।

विजेता सन्तोषीले २ लाख, पूर्णराज्य लक्ष्मीले १ लाख ६० हजार तथा पुष्पाले १ लाख २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै पाँच किलोमिटरको छात्रा तर्फ अरुणा चौधरी पहिलो, कुसुम ठगुन्ना दोस्रो र भुमा चौधरी तेस्रो भए । छात्रतर्फ उमेश बराई, सन्देश पाण्डे र आशिषकुमार क्षेत्री शीर्ष तीन स्थानमा आए । खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल दोस्रो र गणेश सिंह राउत तेस्रो भए । ५ किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे पहिलो, आशा राउत दोस्रो र निर्मला केसी तेस्रो भएका छन् ।

बिजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनिया राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?