 
																			२५ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई एक घण्टामै श्रम स्वीकृती प्रदान गरिने भएको छ ।
आइतबार वैदेशिक रोजगार विभाग, ताहचलमा भएको पत्रकार सम्मेलनमा श्रम मन्त्री डीपी अर्यालले श्रम स्वीकृती अब एक घण्टामै दिइने बताएका हुन् । ‘श्रमिकले सबै प्रक्रिया पुरा गरी आवश्यक कागजपत्रसहित कार्यलय समयभित्र अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा श्रम स्वीकृती प्रदान गर्न सक्ने अवस्था छ’ उनले भने, प्राविधिक समस्या, विद्युतको आपूति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टा तोकेका हौं ।’
श्रम स्विकृतिका लागि श्रमिकले आवश्यक सबै कागजात कार्यालय समय (बिहान १० देखि बेलुका ५ बजे) भित्र अपलोड गर्नुपर्नेछ । कागजातमा समस्या नभएमा अनलाइन फराम भएको अवस्थामा एक घण्टाभित्रै श्रम स्वीकृती पाइने छ ।
अनलाइनमार्फत श्रम स्वीकृती दिन थालेको धेरै भइसक्यो । तर यसका लागि प्रयोग हुने बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) ले लोड थेग्न समयमै श्रम स्वीकृती पाउन गाह्रो थियो ।
आफू श्रम मन्त्रालयमा आएपछि नीतिगत र प्राविधिक सुधार गरेको मन्त्री अर्यालले दाबी गरे ।
वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गरेर प्रक्रिया छोट्याइएको छ । यसअघि एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्काे तहले स्वीकृती गर्ने व्यवस्था थियो । अहिले एउटै तहले श्रमिकको कागजपत्र प्रमाणीकरण गर्ने र श्रम स्वीकृती पनि त्यही तहले दिने व्यवस्था गरिएको छ ।
श्रम स्विकृतिलाई छिटो गर्न कर्मचारीहरुले दुई वटा सिफट्मा परिचालन गरिएको छ । हाललाई विहान ७ देखि दिउँसो २ बजेसम्म एउटा र २ बजेदेखि बेलुका ९ बजेसम्म अर्को गरी कर्मचारीले दुई सिफट्मा काम गर्ने व्यवस्था गरिएको छ ।
आगामी दिनमा भने विहान १० बजेदेखि साँझ ५ बजे नै कर्मचारी खटाउने योजना छ ।
सफ्टवेयरमा पनि सुधार गरिएको छ । ‘पहिले फेमिशमा अत्याधिक भार थियो’ विभागका महानिर्देशन डण्डुराज घिमिरेले भने, ‘अहिले सफ्टवयरमा भएका अनावश्यक डाटा फालेर भार कम गरेका छौं ।’ फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रुपमा राखिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4