+
+

वन प्राविधिक संघमा प्रजातान्त्रिक प्यानलका कर्ण निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १७:१५

२५ चैत, बुटवल । नेपाल वन प्राविधिक संघको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन् ।

कर्ण प्रजातान्त्रिक वन प्राविधिक संघ, नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल र मधेशका लागि वन प्यानलका साझा उम्मेदवार थिए । उनले १२६१ मत पाउँदा एमाले निकट प्रगतिशील वन प्राविधिक संघका विजयराज पौडेलले ८६८ मत पाए ।

शनिबार राति सम्पन्न चुनावबाट प्रजातान्त्रिक प्यानलले एक उपाध्यक्ष र सदस्य बाहेक सबै पदमा जित हासिल गरेको हो । उपाध्यक्षमा प्रगतिशील प्यानलका सुजितकुमार झा १०८२ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी अमरदेव यादवले १०२६ मत पाएका छन् ।

प्रगतिशील वन प्राविधिक संघ र मधेशका लागि वनको असन्तुष्ट समूह मिलेर प्यानल बनाएका थिए । निर्वाचन समिति संयोजक अरुण शर्माका अनुसार महिला महासचिवमा सुनिता उलक, महासचिवमा गोविन्दप्रसाद दाहाल, महिला सचिवमा सिर्जना श्रेष्ठ, सचिवमा सुदिप छत्कुली र कोषाध्यक्षमा सुजितकुमार राउत निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा सुवासचन्द्र झा, प्रकाशराज रेग्मी, निरजबाबु भट्ट, प्रशासन सापकोटा, पुष्पाकुमारी मिश्रा, सिर्जना श्रेष्ठ र राधिका शर्मा निर्वाचित भएका छन् । राधिका शर्मा प्रगतिशील प्यानलकी हुन् ।

नवनिर्वाचित अध्यक्ष कर्णले देशको ४५ प्रतिशतभन्दा बढी हिस्सा वन क्षेत्रले ओगटेको हुँदाहुँदै काठ, दाउरा जंगलमै सडेको र वार्षिक अर्बौं रुपैयाँको काठ आयात गर्नु लज्जास्पद भएको बताए । उनले दिगो वन व्यवस्थापन कार्यक्रम तत्काल लागू गर्न सरकारलाई दबाब दिइने बताए ।

यस्तै वन विज्ञहरूलाई योग्यताको प्रमाणपत्र वितरण गर्न नेपाल वन परिषद् स्थापनालाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए । कर्णले वन स्रोतको प्रभावकारी व्यवस्थापनका लागि पर्याप्त मात्रामा दरबन्दी सिर्जना गरी वन व्यवस्थापन गर्न सबै तहका सरकारसँग पैरवी गरिने र ७५३ वटै स्थानीय तहमा वन प्राविधिकको दरबन्दी सिर्जना गर्नको लागि दबाब दिइने बताए ।

प्रजातान्त्रिक वन प्राविधिक संघ लुम्बिनीका महासचिव केशव खड्काले आफ्नो प्यानलले पाएको मत संख्या बराबर वृक्षरोपण गर्ने र सक्रिय वन व्यवस्थापन भएका क्षेत्रमा माउ रुखहरूको कलरिङ गर्ने प्रतिवद्धता पूरा गर्ने बताए । देशभर ३ हजार बढी वन प्राविधिक रहेको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?