+
+

अर्याल र गुरुङलाई बढुवा गर्न प्रहरीमा प्राविधिकतर्फ २ डीआईजीको विशेष पद थपियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १८:४६

२५ चैत, काठमाडौं । नेपाल प्रहरीका दुई जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न प्रहरी नायब उपरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।

गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो ।

यसअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा रहने गरी डीआईजीको दरबन्दी थप भएको छ ।

प्रहरी स्रोतका अनुसार, सीआईबी मातहत रहेको साइबर ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्याल र प्रहरीको कुकुरसम्बन्धी केनाइन कार्यालयकी एसएसपी डा. देउती गुरुङलाई बढुवा गर्ने गरी दरबन्दी थप भएको हो ।

अर्याल साइबर ब्यूरो स्थापना हुनुअघि केन्द्रीय अनुसन्धान ब्यूरोमा साइबर शाखा प्रमुख थिए । ब्यूरो स्थापना हुँदा उनी त्यता पठाइएका थिए ।

अवकाश हुनुअघि एक तह बढुवा गर्न प्रहरी प्रधान कार्यालयले केही अघिदेखि लबइङ गरिरहेको थियो । त्यसअनुसार, उनीहरुको अवकाशपछि दरबन्दी स्वतः खारेज हुने गरी डीआईजीको पद थप भएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले बताए ।

यसअघि प्रहरीको सञ्चार निर्देशनालयमा डीआईजी राजीव सुब्बालाई एआईजी बनाउन दरबन्दी थप गर्ने प्रयास भएको थियो । यद्यपि, दरबन्दी नथपिएपछि एक वर्ष अवधि बाँकी छँदै उनले राजीनामा दिएका थिए ।

संगठनमा आफूभन्दा जुनियरहरु माथिल्लो पदमा पुगेपनि प्राविधिक इञ्जिनियरतर्फ डीआईजीभन्दा माथिल्लो पद नभएकाले उनले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?