+
+

‘राजागञ्ज’ले जित्यो ६५ लाख राशिको अन्तर्राष्ट्रिय पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १२:५३

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज : द स्काई इज माइन’ले ४५ हजार युरो (झण्डै ६५ लाख रुपैयाँ) राशिको अन्तर्राष्ट्रिय फन्ड जितेको छ । अन्तर्राष्ट्रिय उदीयमान फिल्ममेकरलाई सघाउने अन्तर्राष्ट्रिय संस्था टोरिनो फिल्म ल्याबबाट यो फिल्मले उक्त राशिको अडिएन्स डिजाइन फन्ड अवार्ड जितेको हो ।

स्क्रिन-डेली म्यागजिनका अनुसार उक्त राशिको पुरस्कारसँगै फिल्मले आर्थिक सहायता र फिल्म वितरणको चरणमा प्रशिक्षण समेत प्राप्त गर्नेछ । ‘राजागञ्ज’सँगै भारतीय निर्देशक पायल कपडियाको ‘अल वी इम्याजिन एज अ लाइट’ र इजिप्टका निर्देशकद्वय नदा रियाद तथा आयमन अल आमिरको फिल्म ‘द ब्रींक अफ ड्रिम्स’ले पनि यो पुरस्कार जितेका छन् ।

यी तीनै फिल्म अहिले पोस्ट-प्रोडक्सनको चरणमा छन् । अनुदानसँगै यी तीनै फिल्मलाई धेरै दर्शकमाझ लैजान अनलाइन परामर्श सत्र समेत प्रदान गरिने भएको छ ।

‘राजागञ्ज’ले यसअघि नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) जितिसकेको छ ।

रौनियार निर्देशित पहिलो फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । त्यसपछि लोकार्नोमा । सन् २०१६ मा रिलिज भएको उनको अर्को फिल्म ‘सेतो सूर्य’ले भेनिस, पाम स्प्रिङ्स, फाइबर्ग र सिंगापुर फेस्टिभलमा अवार्ड जितेको थियो ।

रौनियार, डेभिड बार्कर र आशा मगरातीद्वारा लिखित, ‘द स्काई इज माइन’ले दक्षिण एसियामा जातीय प्रथाको कथा पेश गर्छ, जहाँ छालाको रङलाई लिएर विभेद गरिन्छ ।

फिल्मले गहुँगोरो वर्णकी नेपाल प्रहरी संगठनकी अधिकृतलाई पछ्याउँछ, जो शताब्दीयौं पुरानो लैंगिक विभेदको मान्यता तोड्दै देशकै पहिलो महिला जासूस अधिकृत बनेकी छन् । उनले हिंसा भड्किएको शहरबाट काम थाल्छिन् । कालो छाला भएका मधेशीमाथि हुने प्रणालीगत विभेदको विरोधमा हजारौं सडकमा उत्रिएका बेला दुई गहुँगोरो वर्णका युवक फिरौती मागेपछि अपहरणमा पर्छन् ।

फिल्मले यो विभेद र चर्किएको मधेश आन्दोलनको पृष्ठभूमिमा यी पात्र मार्फत कथा भन्छ । अभिनेत्री आशा मगरातीले पूजाको भूमिका निर्वाह गरेकी छन् । पूर्वमिस नेपाल निकिता चाण्डक ममता पात्रको रुपमा छिन् । दयाहाङ राई पनि मुख्य भूमिकामा छन् ।

फिल्मको निर्मातामा मगरातीसहित रामबाबु गुरुङ र एलन आर मिलिगन छन् । आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको तनहाउज गेटको ब्यानरमा फिल्म बनेको हो ।

यसै वर्ष ब्लकबस्टर नेपाली फिल्म ‘जारी’ निर्माण गरेका गुरुङले भने, ‘दीपकसँग मेरो प्रारम्भिक दिनदेखि नै मित्रता छ । उनीसँग काम गर्न पाउँदा म निकै उत्साहित छु । यो फिल्म नेपालका लागि एउटा ऐतिहासिक फिल्म हुनेछ र यसले बाँसुरी फिल्म्सको पोर्टफोलियो बढाउनेमा म खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?