+
+

राजेश हमालले घरमा थन्किएका पुराना लत्ताकपडा ‘क्लोथ बैंक’मा दान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १३:४४

काठमाडौं । अभिनेता राजेश हमालले लामो समयदेखि प्रयोगमा नआएका र घरमा थन्किएका कपडा दान गर्ने भएका छन् । चन्द्रागिरि नगरपालिकामा ‘क्लोथ एण्ड फुड बैंक’को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘मैले पनि भोगेको समस्या हो यो । मेरो घरमा प्रयोगमा नआएका लुगा प्रशस्त छन् । कहाँ गएर दिऊँ भन्ने समस्या थियो । त्यत्तिकै मान्छेकहाँ गएर दिन पनि मिलेन,’ उनले भने, ‘म पनि एउटा डोनर त अवश्य पनि बन्छु नै ।’

अहिलेको जमानामा मेरोमा लत्ताकपडा छ, लगाउँछौ भनेर भन्दा मान्छेलाई नराम्रो पनि लाग्न सक्ने हमालको बुझाइ छ । ‘मैले विभिन्न स्रोतबाट आफ्ना लत्ताकपडा बाँड्दै आइरहेको छु । कहिले समस्यामा परेको बेला तराईमा गएर, कहिले आफ्नै सहयोगीमार्फत पठाएर,’ उनले भने, ‘अब क्लोथ बैंकमा दिनेछु ।’

तर प्रयोगमा नआएपनि आफ्नो करिअरसँग भावनात्मक सम्बन्ध राख्ने लुगा भने आफैंले राख्ने उनले बताए । ‘देउता फिल्मको फेमस डायलग ‘शंकर हुँ शंकर…’ बोल्दा लगाएको हाफ ज्याकेट र टिसर्ट धेरै समयसम्म थियो । प्रयोगमा नआएपछि त्यो कसैलाई दिएर पठाएँ । त्यो राखेको भए, आइकोनिक हुन्थ्यो कि भन्ने लाग्छ मलाई,’ उनले भने, ‘यस्ता कपडा चाहिं आफैंसँग राख्छु ।’

यस्ता किफायती र वातावरणीय रुपमा पनि राम्रो हुने लुगालाई गरिबले मात्र नभएर धनीले पनि लगाउन मिल्ने हमालको धारणा छ । देशभर कोही पनि कपडाविहीन हुन नपरोस् भन्ने उद्देश्यले उक्त क्लोथ एण्ड फुड बैंक चन्द्रागिरिमा स्थापना भएको हो ।

उक्त बैंकमा जोकोहीले प्रयोगमा नआएका लत्ताकपडा दिन सक्ने र आवश्यक परे रिसाइकल र प्रशोधित लुगा लिएर जान सक्ने जनाइएको छ । अभिनेता हमाल, नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, क्लोथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसीले क्लोथ बैंकको उद्घाटन गरे ।

कार्यक्रमका मुख्य अतिथि हमालले कपडाविहीनलाई कपडा दिने पुण्यकार्यमा सहभागी हुन सबैलाई आग्रह गरे । नगरप्रमुख गिरीले आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?