+
+

अपांगता भएका व्यक्तिहरुको सहभागितामा ह्विलचेयर म्याराथन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १८:१६

काठमाडौं । अपांगता भएका व्यक्तिको सहभागितामा शनिबार राजधानीमा ह्वीलचेयर म्याराथनको आयोजना गरियो । भृकुटीमण्डपस्थित पद्मोदय स्कुलको प्रांगणबाट सुरु भएको म्याराथनमा २०० भन्दा बढीले सहभागिता जनाए ।

अन्तर्राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी अमेरिकी विशेष सल्लाहकार सारा मिङ्कारा, अमेरिकी राजदूत डीन आर थम्पसन, अभिनेता राजेश हमाल लगायतले म्याराथन विजयीलाई पुरस्कार वितरण समेत गरे ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनकी सल्लाहकार समेत रहेकी मिङ्काराले अपाङ्गता भएका व्यक्तिको महत्व अभिवृद्धि गर्ने समाज निर्माणमा खेलकुदको विशेष महत्व हुने बताइन् । उनले आफूलाई विश्वास गरेर अघि बढ्न अपांगता भएका व्यक्तिहरुलाई आग्रह गरिन् ।

अपाङ्गता भएका व्यक्तिलाई सीप र रोजगारीसम्बन्धी तालिम प्रदान गर्ने, उनीहरूलाई समुदायमा पूर्णरूपमा सहभागी हुन सक्षम बनाउन लागिपरेको सामाजिक संस्था बोधिसत्व इन एक्सन् (बीआईए)को कामको उनले प्रशंसा गरिन् ।

अपाङ्गता भएका व्यक्तिले आफूलाई मैदानमा देख्दा उनीहरूमा आत्मविश्वास बढ्ने बताउंदै उनले यसप्रकारको खेलकुदले सामाजिक अवरोध कम गर्न मद्दत गर्ने बताइन् । अपाङ्गता भएका व्यक्तिले भोग्नुपर्ने सामाजिक विभेदको सामना गर्न खेलकुदमा यस किसिमको प्रतिनिधित्वले प्रमुख भूमिका खेल्ने उनको भनाई छ ।

यस किसिमको प्रतिनिधित्व खेलकुदमा मात्र सीमित हुन नहुने बताउँदै उनले भनिन्, ‘हामीले फिल्म र टेलिभिजनमा क्यामेराको पछाडि र अगाडि दुवैमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वलाई पनि विचार गर्नुपर्छ । जति ठूलो प्रतिनिधित्व हुन्छ, अपाङ्गता भएका व्यक्तिलाई उपेक्षा गर्न त्यति नै गाह्रो हुन्छ’ उनले भनिन् ।

मिङ्कारा विश्वभर अपाङ्गता भएका व्यक्तिको अधिकार र स्वतन्त्रताको प्रचार समेत सक्रिय छिन् । तीन दिने नेपाल भ्रमणको सिलसिलामा उनले सरकारी अधिकारी, अपाङ्गता भएका व्यक्तिका लागि वकालत गर्ने नागरिक समाज संस्था र अमेरिकी सरकारको शैक्षिक आदानप्रदान कार्यक्रममा पूर्वसहभागिसँग भेटघाट गर्नुका साथै समावेशी विकासलाई अगाडि बढाउन साझेदार संस्थासँगको कामको बारेमा जानकारी लिइरहेकी छिन् ।

राजदूत थम्पसनले अपांगत भएका व्यक्तिहरुले म्याराथनमा देखाएको कौशलताको प्रशंसा गरे । अभिनेता हमालले पनि म्याराथनले आफूमा उत्साह थपेको बताए ।

उक्त अवसरमा हिव्लचेयरबाटै अपांगता भएका व्यक्तिहरुले प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिमा सल्लाहकार मिङ्कारा, राजदूत थम्पसन लगायतले पनि साथ दिए ।

म्याराथनमा पुरुषतर्फ रमेश खत्री, रामकाजी मिजार र प्रेम विके क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ ऐश्वर्या कुमाल, एमी झाँक्री र रजनी राई क्रमशः उत्कृष्ट भए । उनीहरुले पद्मोदय स्कुलबाट सुन्धारा, केशरमहल, दरबारमार्ग, रत्नपार्क हुँदै पुनः पद्मोदय मोडसम्मको ५ किलोमिटर दौड पुरा गरेका थिए । अपांगता भएका व्यक्तिमा आत्मविश्वास र सचेतना जगाउने उद्देश्यले म्याराथनको आयोजना गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?