+
+

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

वैशाख २ गतेसम्मका लागि बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १३:०७

२८ चैत, काठमाडौं । प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।

आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।

आजको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएलगत्तै सहकारीको रकम हिनामिनामाथिको छानबिन रोकिएको र सहकारी पीडितहरु झन् पीडित भएको बताए ।

राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पनि सहकारीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं’ उनले भने ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाई ध्यान दिन सरकारलाई आग्रह गरे ।

जसपाका सांसद प्रदीप यादवले वीरगञ्जको सानो पाइला सहकारी संस्थाका बचतकर्ता पनि पीडित भएको भन्दै पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए ।

आकस्मिक समय सकिएपछि शून्य समयमा प्रवेश गर्ने क्रममा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए । सभामुख घिमिरेले यथास्थानबाट बस्न र बैठक सन्चालनमा सघाउन आग्रह गरे । तर सांसदहरुले नमानेपछि आजको कार्यसूचीका सबै विषय उठाउँदै संसद बैठक स्थगित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?