+
+

सांसदलाई विज्ञ चाहियो : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १३:३८

२८ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहले सांसदहरूका लागि विज्ञ उपलब्ध गराउन सभामुख र सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले विज्ञ नहुँदा सांसदहरूको काम प्रभावकारी हुन नसकेको र यसको असर मुलुकले नै व्यहोर्नु परिरहेको बताएका हुन् ।

‘पीएचडी गरेको भएता पनि एउटा विषयमा गरेको हुन्छ । सबै विषय सबैलाई त थाहा हुन्न’ उनले प्रश्न गरे, ‘सभामुख महोदय एउटा सांसदलाई पाँच जना विज्ञ उपलब्ध गराउन सकिंदैन ?’

‘जनतालाई उपलब्धी के देखाउने ?’

साहले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यतिर पुगेको तर कानुन निर्माणको प्रगति निराशाजनक रहेको बताए ।

‘विधेयक अधिवेशनमा तीन वटा विधेयक पास भएको छ । अघिल्लो अधिवेशन समेत गरी चार वटा विधेयक पास भयो । त्यसमा पनि अधिकांश संशोधन विधेयक र अघिल्लो कार्यकालमै राष्ट्रिय सभामा दर्ता भएर आएका विधेयक छन् । अब जनताकहाँ जाँदा हामीले के काम गरेको भनी देखाउने,’ उनले भने ।

सांसदका लागि सिंहदरबार र संसद भवनमा काम गर्ने ठाउँसमेत नरहेको पनि उनले बताए । संसदीय दलमा प्रत्येक सांसदका लागि बस्ने ठाउँ नरहेको उनको भनाइ छ ।

सांसदका लागि अध्ययन गर्ने ठाउँ उपलब्ध गराउने, लाइब्रेरी प्रभावकारी बनाउने लगायतका काममा सभामुखले पहल लिनुपर्ने र सरकारले सुन्नुपर्ने उनको माग छ ।

प्रत्येक सांसदका लागि स्वकीय सचिव दिइएको तर उनीहरूका लागि काम गर्ने ठाउँ नरहेको साहले बताए । काम गर्ने ठाउँ नदिने भए सांसदका स्वकीय सचिव फिर्ता गर्न उनको आग्रह छ । अन्यथा स्वकीय र सांसदका लागि काम गर्ने ठाउँ दिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?