+
+

पर्यटन उद्योग विकासका लागि नीतिगत तहमा महत्व दिन माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १५:३७

२८ चैत, काठमाडौं । नेपालको पर्यटन विकासका लागि नीतिगत तहमै प्राथमिकता दिनु पर्ने सरोकारवालाले बताएका छन् ।

नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग गरेको छलफलमा सहभागीले यस्तो बताएका हुन् ।

परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकेको बताए ।

उनले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताए ।

युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा जोड दिंदै उनले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने बताए ।

निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसकेको भन्दै यसको सफल सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न अवलम्बनका उपायबारे सुझाव दिन आग्रह गरे ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले पर्यटन कम लगानीमा धेरै प्रतिफल हासिल गर्न सक्ने क्षेत्र रहेको बताए ।

पर्यटन क्षेत्रको समग्र विकासका लागि समितिले उच्च महत्व दिइरहेको भन्दै उनले नीतिगत स्थिरताको आवश्यकता औंल्याए ।

यादवले पर्यटन क्षेत्रको विकास, यसबाट लाभ लिन निजी क्षेत्रबाट सामूहिक रुपमा स्पष्ट सुझाव आउनुपर्नेमा जोड दिए ।

आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने विषयहरु जति सक्दो छिटो लिपिबद्ध गरी दिन उनले आग्रह समेत गरे । निजी क्षेत्रको सुझावहरु पर्यटन,  अर्थमन्त्रीसम्म पुर्याउन समितिले सहयोग गर्ने बताए ।

सांसद उदय शंशेर राणाले प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिबेदन समितिले माग्दा ९ महिनासम्म नपाएको बताए ।

उनले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रुपमा अध्ययन गर्न लागेको जानकारी गराए ।

उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने विषयमा राजनीतिक दलहरुले भन्दा निजी क्षेत्रले आम समुदायलाई आश्वस्त पार्न सक्नुपर्ने बताए ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा सबै सहमत रहेको भएपनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसक्दा निजगढका विषयमा प्रश्न आउने गरेको उनको भनाइ छ ।

पूर्वपर्यटन मन्त्री समेत रहेका सांसद भीम आचार्यले पोखरा र भैरहवा विमानस्थल राम्रोसँग सञ्चालनका लागि सरकारले कुनै गृहकार्य नै नगरेको बताए ।

यी दुवै विमानस्थल सञ्चालन हुन सक्ने भन्दै विमानस्थलमा उडान भर्न पहल गर्नुपर्नेमा उनले जोड दिए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निकै आवश्यक रहेको समेत बताए ।

सांसदहरु एकनाथ ढकाल, डा. धवल शंशेर राणा, शिशिर खनालले पर्यटन क्षेत्रको समस्या र समाधानका लागि स्पष्ट सुझावका लागि निजी क्षेत्रलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?