+
+

दिग्गज प्रविधि कम्पनीहरुले किन एआई स्टार्टअपमा अर्बौं लगानी गरिरहेका छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १२:५७

अमेजन कम्पनीले यसै हप्ता एउटा अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ‘एन्थ्रोपिक’ मा २ अर्ब ७५ करोड डलर लगानी गर्ने घोषणा गर्‍यो । योसँगै अमेजन कम्पनी कुनै होनहार एआई स्टार्टअपको हिस्सा लिने एक अर्को टेक जाएन्ट बनेको छ ।

यद्यपि आफ्नै एआई मोडेलमा काम गरिरहेको अमेजन मात्रै एन्थ्रोपिकलगायत एआई क्षेत्रमा लगानी गर्ने एक्लो कम्पनी होइन । गुगल, माइक्रोसफ्ट तथा फेसबुकको मातृ कम्पनी मेटाले पनि यसमा व्यापक लगानी ग्रिसकेका छन् ।

रिपोर्ट अनुसार यो रणनीतिक कदम हो, किनकि यस्ता लगानीहरु भेन्चर क्यापिटालिस्टबाट नभएर कम्पनीमार्फत् प्रत्यक्ष रुपमा गरिन्छ ।

अमेरिकी वित्तिय सेवा कम्पनी म्याकक्वारीका एआई तथा सफ्टवेयर विभागका प्रमुख फ्रेड ह्याभमेयरलाई उद्धृत गर्दै सिएनबीसीले लेखे अनुसार दिग्गज प्रविधि कम्पनीहरु आफ्नै निर्णयहरुलाई डोराइरहेको एआई पर्यावरणको हिस्सा बन्ने अवसर गुमाउन चाहँदैनन् ।

फ्रेड भन्छन्- उनीहरु निश्चित रुपमा एआई पर्यावरणको हिस्सा बन्ने मौका गुमाउन चाहँदैनन् । मलाई लाग्छ कि एआईको बजारमा सबैलाई आफु छुटिन्छ कि भन्ने डर छ ।

समाचार अनुसार यसमा ठूलो लगानीको आवश्यकता पर्दछ किनकि एआई मोडेल बनाउन तथा तालीम दिन निकै महंगो पर्दछ र हजारौं विशेष चिपहरु चाहिन्छ ।

एआई क्षेत्रको सबैभन्दा चर्चित लगानी चाहीँ ओपन एआईमा माइक्रोसफ्टले गरेको लगानी हो । ओपन एआईले नै च्याट जिपिटीको विकास गरेको हो ।

माइक्रोसफ्टले सन् २०१९ मा पहिलोपटक ओपन एआईमा एक अर्ब डलर लगानी गरेको थियो र त्यसयता उसको लगानी १३ अर्ब डलर पुगेको छ ।

माइक्रोसफ्टले ओपन एआईको मोडेल प्रयोग गर्दछ र आफ्नो Azure क्लाउडमा समेत यसको उपयोग गरेको छ ।

त्यस्तै एआई क्षेत्रमा लगानी तथा एआई मोडेलको विकासमा काम गरिरहेको अर्को प्रविधि दिग्गजचाहिं गुगलको मातृ कम्पनी अल्फाबेट हो ।

आफ्नै एआई प्लाटफर्म जेमिनीको विकासमा केन्द्रित हुनुका अलावा गुगलले एन्थ्रोपिकमा पनि २ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । उसले सो स्टार्टअपको १० प्रतिशत शेयर लिएको छ र कम्पनीहरुसँग बृहत क्लाउड करार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?