+
+

१० दिनभित्र दुई रेस जित्दै प्रिया राई एसिया ट्रेल मास्टर्सको फाइनलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते २०:१८

१ वैशाख, काठमाडौं । नेपाली अल्ट्रा धाविका प्रिया राईले १० दिनभित्र घरेलु भूमिमा भएको दुई अल्ट्रा ट्रेल रेसको उपाधि जित्दै मलेसियामा हुने एसिया ट्रेल मास्टर्स फाइनलमा छनोट भएकी छन् ।

२२ चैतमा काठमाडौंमा भएको चौथो मञ्जश्री ट्रेल रेसमा महिला ५० किमीमा पहिलो भएकी प्रियाले नयाँ वर्षको पहिलो दिन शनिबार जुम्ला रारा अल्ट्रा रेसको उपाधि जितेकी हुन् । खोटाङकी उनले निर्धारित दूरी ६ घण्टा ७ मिनेट ५७ सेकेण्डमा पूरा गरिन् ।

कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित जुम्ला रारामा प्रियाले स्थानिय धावकहरुलाई पछि पार्दै उपाधि जितेकी हुन् । दोस्रो भएकी जुम्लाकी राज्य लक्ष्मी रावलले ६ घण्टा १५ मिनेट ०९ सेकेण्डमा पूरा गरिन् । यस्तै अनिता बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकण्डमा दूरी पूरा गर्दै तेस्रो भइन् ।

घरेलु भूमिमा दुई रेस जितेपछि प्रियाले आगामी सेप्टेम्बरमा मलेसियामा हुने एसिया ट्रेल मास्टर्स फाइनल स्थान पक्का गरेको एसिया ट्रेल मास्टर्सले जनाएको छ । जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि जितेपछि प्रियाले सुरुमा चुनौतीपूर्ण भए पनि रेस जितेपछि रमाइलो अनुभव भएको बताइन् ।

चुच्चेमारासम्म स्थानीय धावक राज्य लक्ष्मी रावलसँगै दौडेकी प्रियाले त्यसपछि भने उनलाई पछि पार्दै अघि बढेकी थिइन् ।

साविक विजेता समेत रहेकी नेपालकी रशिला तामाङ भने एसिया ट्रेल मास्टर्स फाइनलका लागि यसअघि नै छनोट भइसकेकी छन् ।

प्रिया नेपालकै चर्चित र सफल अल्ट्रा धावक हुन् । उनले सन् २०२३ मा इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) नेशनल लिग २०२३ मा उनी नेपालको नम्बर वान धावक बनेकी थिइन् । उनले २ महिनामै ५ रेस जितेकी थिइन् ।

यसैगरी पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढा पहिलो भए । उनले निर्धारित दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेण्डमा पूरा गरे । दोस्रो र तेस्रो स्थानमा पनि जुम्लाकै धावक रहे ।

अघिल्लो संस्करणका बिजेता दलबहादुर कुँवरले ५ घण्टा १२ मिनेट ४० सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा ५ घण्टा १८ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरेका शेरबहादुर बुढा तेस्रो भए ।

दौड चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजार, जुम्लाबाट सुरु भई मुगु, रारा तालको हुटु छेउमा अन्त्य भएको थियो ।

विजेताले नगद १ लाख प्राप्त गर्दा दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?