+
+
६ बलमा ६ छक्का हानेपछि दीपेन्द्रसिंह ऐरी :

‘चौथो छक्कापछि ढुक्क भएँ अरु दुई छक्का हान्न सक्छु’

खेलपछि बोल्दै दीपेन्द्रले भने, ‘मैले पहिलादेखिनै बलिङ, ब्याटिङ र फिल्डिङको अभ्यास यस्तै गर्थेँ । त्यही कुरा अहिले काम लागिराखेको छ ।’ त्यसपछि उनले थपे, ‘चौथो छक्कापछि मलाई लाग्यो कि अरु दुई छक्का हान्न सक्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते २०:२५

१ वैशाख, काठमाडौं । शनिबार ओमानमा भएको एसीसी प्रिमियर कप २०२४ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेर इतिहास रचेका छन् ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले बिसौं ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका हुन् ।

दीपेन्द्रले कतारका मध्य गतिका बलर कमरान खानलाई लगातार छक्का हानेका थिए । उनले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाएपछि नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

२११ रनको लक्ष्य पछ्याएको कतार ९ विकेट गुमाएर १७८ रनमा अलआउट भएपछि नेपालले खेल ३२ रनले जितेको थियो । बलिङतर्फ पनि दीपेन्द्रले दुई विकेट लिएका थिए । बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा  कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए ।

शनिबारको खेलको प्लेयर अफ दि म्याच चुनिएका दीपेन्द्रले खेलपछि भने, ‘मैले पहिलादेखिनै बलिङ, ब्याटिङ र फिल्डिङको अभ्यास यस्तै गर्थेँ । त्यही कुरा अहिले काम लागिराखेको छ ।’ त्यसपछि उनले थपे, ‘चौथो छक्कापछि मलाई लाग्यो कि अरु दुई छक्का हान्न सक्छु ।’

दीपेन्द्रले टोलीको विश्वासका कारणले नै आफूले राम्रो प्रदर्शन गर्न सकेको बताए । ‘एकदमै खुसी लागेको छ । कीर्तिमान बनाउन सकेँ । टिमले मलाई एकदमै सपोर्ट गर्छ । कोचले पनि फिनिसरको रुपमा नै हेर्नुहुन्छ । टिमले एक अर्कालाई सपोर्ट गर्दा म यहाँ छु’, उनले भने ।

दीपेन्द्रले २०८१ सालको सबै नेपालीलाई शुभकामना पनि दिएका छन् । ‘सबैलाई नयाँ वर्षको शुभकामना । हामीलाई सधैं यस्तै सहयोग गर्नुहोला । हामी नेपाललाई यस्तै जितका साथ आउने छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?