+
+

वैशाख महिनामा ४ हाइड्रोपावर कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिने

आज र भोलि दुई कम्पनीको सेयरमा लकइन अवधि समाप्त हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते ९:३७

२ वैशाख, काठमाडौं । वैशाख महिनामा विभिन्न समूहमा होल्ड भएका ४ हाइड्रोपावर कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । म्युचुअल फण्ड, प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक समूहले होल्ड गरेको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीहरुलाई लकइन अवधि सकिनुभन्दा १ महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम कम्पनीहरुले विभिन्न समूहको लकइन अवधि सकिने समयबारे जानकारी गराएका छन् ।

सर्वसाधारणलाई आईपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनामा म्युचुअल फण्डको लकइन अवधि सकिन्छ । त्यस्तै ३ वर्षमा प्रभावित स्थानीयबासी र संस्थापक समूहको सेयरमा लकइन अवधि सकिन्छ । लकइन अवधि सकिएपछि ती सेयर साधारणसरह कायम हुन्छन् । जसले आपूर्ति बढ्न गई मूल्य घट्ने जोखिम रहन्छ ।

आज आइतबारदेखि माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त हुनेछ । लकइन अवधि समाप्त भएको भोलिपल्टबाट ती सेयर कारोबार गर्न बाटो खुल्नेछ ।

भोलि वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिने भएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिनेछ ।यी सेयर वैशाख ४ देखि साधारणसरह कारोबार गर्न खुला हुनेछ ।

त्यस्तै चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुने बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक तथा कर्मचारीलाई छुट्याइएको सेयरमा वैशाख ३० गते लकइन अवधि सकिने भएको छ । संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।

वैशाखमा लकइन अवधि सकिने कम्पनीहरू :

कम्पनी लकइन सकिने मिति लकइन सकिने सेयर संख्या
माथिल्लो मैलुङखोला वैशाख २ ७५ हजार
रुरु जलविद्युत् वैशाख ३ ४४ लाख ४४ हजार ९७८
चिरख्वा हाइड्रोपावर वैशाख १५ ४० हजार
सीईडीबी हाइड्रोपावर वैशाख ३० ५९ लाख २६ हजार २३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?