+
+

पञ्चायतकालमा बन्द भएको जनता पुस्तकालय सञ्चालनमा

रासस रासस
२०८१ वैशाख २ गते १७:५७

२ वैशाख, वालिङ (स्याङ्जा) । पञ्चायतकालमा बन्द भएको स्याङ्जाको जनता पुस्तकालय सञ्चालनमा आएको छ ।

वालिङ नगरपालिका– १ ठाँटीमा विसं २०२७ मा स्थापना भएको जनता पुस्तकालय तत्कालीन पञ्चायती व्यवस्थाका कारण ६ महिना नपुग्दै बन्द भएको थियो ।

लामो समयदेखि बन्द रहेको पुस्तकालय हाल वडा कार्यालयको पहलमा सञ्चालनमा आउन लागेको हो । तत्कालीन समयमा प्रजातन्त्रका सेनानी सूर्यप्रसाद रेग्मीको पहलमा स्थापना भई पञ्चायती व्यवस्थाका कारण बन्द गराइएको पुस्तकालयलाई नयाँ वर्षका दिनबाट खहरेस्थित वडा कार्यालयमा सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदमराज गुरुङले बताए ।

‘तत्कालीन समयमा जनतालाई पञ्चायती शासन व्यवस्थाका बारेमा जानकारी दिनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेलेको थियो’, उनले भने, ‘तत्कालीन समयमा महत्वपूर्ण भूमिका खेलेको पुस्तकालयको महत्त्व अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको ठानी पुस्तकालयलाई ब्यूँताएका छौं ।’

पुस्तकालयमा विभिन्न संघसंस्था तथा दाताले उपलब्ध गराएका शैक्षिक, धार्मिक, सामाजिक, नैतिक शिक्षा, कानुनसम्बन्धी तथा प्राविधिक धारका विषयका पुस्तक राखिएका छन् । ‘अहिले वडा कार्यालयको एउटा कोठामा राखेर सुरुआत गरेका छौं’, उनले भने, ‘पुस्तकालयको जग्गा रहेकाले अब छिट्टै भवन निर्माण गर्ने र नयाँ पुस्तक थप गर्नका लागि दाताहरुसँग समन्वय भइरहेको छ ।’

पुस्तकालयलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने उनले बताए । नागरिकमा पढ्ने बानीको विकास गर्नका लागि पनि पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख कृष्ण खाँणले बताए । विसं २०२७ मा स्थापना भई बन्द भएको पुस्तकालय ढिलै भए पनि सञ्चालनमा ल्याइएको नगर प्रमुख खाँणले जानकारी दिए ।

‘तत्कालीन समयमा जनतालाई सुसूचित गराउनका लागि स्थापना भएको पुस्तकालय लामो समय टिक्न सकेन’, उनले भने, ‘पञ्चायती व्यवस्थाका कारण बन्द गराइएको पुस्तकालय पुनः सञ्चालनमा आएको छ, अब यसको निरन्तरताका लागि नगरपालिकाले आवश्यक सहयोग गर्छ ।’

पुस्तकालयलाई व्यवस्थित बनाउन पुस्तक थप गर्ने र पुस्तकालय भवन निर्माण कार्यका लागि नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘एक वडा, एक पुस्तकालय’ निर्माण गर्न आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम र बजेटको समेत व्यवस्था गर्ने तयारीमा नगरपालिका रहेको छ ।
जनतालाई ज्ञान सूचना तथा शिक्षा दिने उद्देश्यसहित स्थापित पुस्तकालय लामो समय बन्द भई पुनः सञ्चालनमा आएसँगै स्थानीय खुसी छन् । अब यसको निरन्तरता तथा दिगोपना आवश्यक रहेको भन्दै फुर्सदका समयमा पुस्तकालयमा आएर पढ्ने बानीको विकासमा सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?