+
+

अस्ट्रेलियन आरोही पेपरले गरिन् अक्सिजनबिनै अन्नपूर्ण हिमाल आरोहण  

रासस रासस
२०८१ वैशाख २ गते १८:४०
Photo Credit : seven summit Treak

२ वैशाख, काठमाडौं । अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी छन् । वसन्त ऋतुको जारी आरोहणमा आरोही पेपरले विश्वको १०औं अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गरेकी हुन् ।

सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्णको चुचुरो पुग्न सफल भएकी हुन् ।

यसअघि १७ वर्षीय नेपाली आरोही निमा रिन्जी शेर्पाले पनि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका थिए । उनले अप्रिल १२ तारिखका दिन अपराह्न अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।

दुई आरोहीले बिना अक्सिजन अन्नपूर्ण हिमाल आरोहण गरेको जानकारी आएको तर आधिकारिक प्रमाणीकरण गर्न बाँकी रहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए । ‘अन्नपूर्ण–१ हिमालमा ‘रोपफिक्सिङ’को काम सफल भएसँगै धमाधम आरोहण भइरहेको छ । दुई दिनको अवधिमा दुई जनाले बिना अक्सिजन आरोहण गरेको जानकारी आएको छ, यसलाई हामी (विभाग) अफिसियली प्रमाणीकरण गर्न बाँकीछ,’ उनले भने ।

दुई वर्षभित्र विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अस्ट्रेलियन आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै ३ वटा ८ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन् । उनले यसपछि कञ्चनजंघा मकालु हिमालको आरोहण गर्ने लक्ष्य रहेको बताइन् ।

पेपरले सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बततर्फबाट बिना अक्सिजन हिमाल आरोहण सुरु गरेकी थिइन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको जनाइएको छ ।

सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन् ।

पर्यटन विभागका अनुसार यो याममा अन्नपूर्ण–१ हिमाल आरोहणका लागि तीन आरोही समूहका ११ महिला र १४ पुरुष गरी कूल २५ ले आरोहण अनुमति लिएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?