+
+

अमेरिकी डलर महँगियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १०:११

३ वैशाख, काठमाडौं । अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २३ पैसा कायम भएको छ ।

इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन पाउँदा इरानी मुद्रा रियाल थप कमजोर बनेको छ भने इजरायली मुद्रा शेकेल बलियो बनेको छ । शनिबार र आइतबार अन्तर्राष्ट्रिय मुद्रा कारोबार बन्द रहेकाले सोमबारदेखि नै डलर मजबुत बनेको हो ।

अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक औसत १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक औसत १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा झनै नोक्सानी पर्दछ । डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ ।

सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । एकातर्फ आयातित परिमाण नै बढ्ने अर्कोतर्फ प्रतियुनिट परिमाणको मूल्य नै बढ्दा त्यसले सञ्चित विदेशी मुद्रामै धक्का दिन्छ ।

आयातित वस्तुको मूल्य बढ्दा आन्तरिक महँगी पनि बढ्छ । डलरका कारण पेट्रोलियम पदार्थको मूल्य समेत बढ्दा त समग्र ढुवानी लागत बढ्ने भएकाले सबै वस्तु तथा सेवाको मूल्य बढ्न जान्छ । त्यस्तै विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको भाउ महँगिन्छ । समग्रमा डलर महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी नै बढ्न जान्छ । तसर्थ डलरको मूल्यवृद्धिले नेपालको अर्थतन्त्रमै क्षति पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?