+
+
बझाङमा एमाले जितको प्रभाव :

सुदूरपश्चिममा कांग्रेसको सत्ता पुनरागमन कठिन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १९:४९

१७ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि बझाङ (१) मा भएको उपचुनावमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

सोमबार सकिएको मतगणनामा भण्डारी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाए ।

२०७९ मंसिरमा भएको प्रदेशसभा चुनावमा यो क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । अघिल्लो चुनावमा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेसलाई समर्थन गरेको थियो ।

सिंह १७ हजार ११२ मतका साथ निर्वाचित हुँदा निकतमत प्रतिद्वन्द्वी एमालेका अफिलाल ओखेडाले १२ हजार ३३६ मत पाएका थिए । असार २०८० मा भएको सवारी दुर्घटनामा सिंहको निधन भएपछि उपचुनावमा कांग्रेसले उनकै छोरालाई उम्मेदवार बनाएको थियो । तर उनले जित्न सकेनन् ।

एकीकृत समाजवादी निर्णायक

उपचुनावको दुई महिना अगाडि मात्र केन्द्रदेखि प्रदेशससम्म सत्ता गठबन्धन फेरिएको थियो । माओवादी केन्द्रले कांग्रेसलाई छाडेर एमालेसँग नयाँ गठबन्धन बनायो, अनि एकीकृत समाजवादीले साथ दियो । तर यो उपचुनावमा सत्तारुढ दलहरुले चुनावी तालमेल गरेनन् ।

तालमेलप्रति एमालेले इच्छा नै देखाएन । जबकी माओवादी र एकीकृत समाजवादी गठबन्धनको साझा उम्मेदवार होस् भन्न चाहन्थ्यो । दुबै दल इलाममा एमालेलाई समर्थन गरेर बझाङको सिट आफू लिन चाहन्थ्यो । तर एमालेले इलाम २ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा (१) मा भण्डारीलाई उठाउने निर्णय ग¥यो ।

माओवादीले इलाममा एमालेलाई समर्थन गर्दै बझाङमा आफ्नो उम्मेदवार तोक्यो भने एकीकृत समाजवादीले दुबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय ग¥यो । बझाङ १ मा माओवादी उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत पाउँदा एकीकृत समाजवादीका दीपबहादुर सिंहले २ हजार ५१४ मत पाए ।

तुलनात्मक रुपमा राम्रो प्रभाव भएको यो क्षेत्रमा एकीकृत समाजवादीको आफ्नो भोट जोगाएको देखिँदैन । यस्तो तथ्य एकीकृत समाजवादीका नेताहरु पनि स्वीकार गर्छन् ।

उनीहरुका अनुसार कांग्रेस उम्मेदवार जित्नसक्ने देखिएपछि एमाले उम्मेदवारप्रति लचिलो भएकै हो । मतदानको अघिल्लो दिन साँझ दुई दलका नेताहरुबीच यसबारे छलफल भएको थियो ।

स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका बझाङका प्रतिनिधिसभा सदस्य  भानुभक्त जोशी पक्षका नेताहरुले एमाले नेताहरुलाई समर्थन गर्ने संकेत गरेका थिए ।

एमाले केन्द्रीय सदस्य ऐन महरले ‘बझाङमा एकीकृत समाजवादीलाई धन्यवाद, सहमति, सहकार्य र एकता’ भन्दै सामाजिक सञ्जालमा नै लेखिदिए । त्यसले एकीकृत समाजवादीमा भने नेताहरुबीच आरोप प्रत्यारोप भएको थियो । तर बझाङमा एमालेलाई जिताउन भूमिका खेलेको स्वीकार गर्दै एक नेता भन्छन्, ‘कांग्रेसले जित्दा सुदूरपश्चिम सरकार संकटमा पर्ने भएपछि हामीले वाम आओस् भनेकै हो । किनकी यसले सुदूरपश्चिम सरकारमा हामीलाई सहज हुनेछ ।’

मुख्यमन्त्री सोडारीलाई सहज

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् । चर्को रस्साकस्सीका बीच ६ वैशाखमा मुख्यमन्त्री बनेका सोडारीले विश्वासको मत लिन बाँकी छ ।

गठबन्धनको प्रमुख घटक एमालेले मन्त्री समेत पठाएको छैन भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) को बहुमत (७ मध्ये ५ सांसद) सोडारी सरकारको विपक्षमा छ । मुख्यमन्त्रीमा दाबी पेश गरेका नाउपाका लक्ष्मणकिशोर चौधरी त सोडारीको नियुक्तिविरुद्ध अदालत नै गएका छन् ।

एकीकृत समाजवादीका नेताहरुका अनुसार यदि बझाङ १ मा कांग्रेसले जितेको भए सोडारी सरकार थप संकटमा पथ्र्यो । किनकी कांग्रेसको हाल प्रदेशसभामा १८ जना सांसद छन् । बझाङ–१ जितेको भए १९ हुन्थ्यो । अनि नाउपाका ७ र राप्रपाका एक प्रदेश सांसद मिल्दा टुप्लुक्क २७ (५३ सदस्यीय प्रदेशसभाको बहुमत) पुथ्यो ।

बझाङ एमालेले जितेपछि कांग्रेसले सहजै अर्को गठबन्धन बनाउने सम्भावना टरेको नेताहरु बताउँछन् । अब सत्ता गठबनधनसँग एमालेको ११, माओवादी ११ (सभामुखसहित), एकीकृत समाजवादीका चार र स्वतन्त्र सांसद एक जना छन् । यो पनि टुप्लुक्क बहुमत हो । तर सभामुखले सरकार गठन प्रक्रियामा मत दिन नपाउने भएकाले नाउपा रञ्जिता श्रेष्ठ चौधरी पक्ष (२ सांसद) समर्थन नजुटाएसम्म सोडारीले विश्वासको मत पाउन सक्दैनन् ।

‘सुदूरपश्चिममा नाउपा निर्णायक नै हो । उनीहरु एउटा कित्तामा हुनेबित्तिकै समीकरण जता पनि बदलिनसक्छ’ एकीकृत समाजवादीका उपनेता प्रकाश रावल भन्छन्, ‘बझाङ पनि जितेको भए कांग्रेस नाउपा र राप्रपा मिल्दा बहुमत पुग्थ्यो । अब स्वतन्त्र पनि जुटाउनुपर्छ । उहाँ पनि वामपन्थी नै भएकाले यता विकल्प रहँदासम्म उता जानु हुन्न होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?