+
+

नेपाली श्रमिकको सिप विकासमा सघाउन कतारसँग श्रममन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १६:५५

४ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न कतारसँग आग्रह गरेका छन् ।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीसँग मंगलबार भएको भेटमा मन्त्री अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न आग्रह गरेका हुन् ।

‘हामी सिपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौं । त्यसैले श्रमिकको सिप विकासमा तपाईंहरूको सहयोगको अपेक्षा गर्छौं,’ मन्त्री अर्यालले भने ।

कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद दिए ।

‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनीय छ,’ उनले भने ।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए । कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उनले बताए ।

नेपाली श्रमिकको सिप विकास लागि कतार सहयोग गर्न कतार सधै तयार रहेको उनको भनाइ छ ।

‘नेपाली श्रमिकको सिप विकासका लािग के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने ।

भेटमा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासी श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक लागु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?