+
+

उद्योग वाणिज्य महासंघको भवन शिलान्यास गरेको दुई महिनामै जग्गा फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते २०:१२

४ वैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश समितिको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा भवन निर्माण गर्ने योजना अधुरै हुने भएको छ ।

भवन शिलान्यास गरेको दुई महिनामै हेटौंडा उपमहानगरपालिकाले जग्गा फिर्ता लिने निर्णय गरेको छ । २ वैशाखमा बसेको नगर कार्यपालिका बैठकले जग्गा फिर्ता लिने निर्णय गरेसँगै महासंघ बागमती प्रदेश समिति आश्चर्यमा परेको छ ।

११ फागुनमा भवन निर्माणको शिलान्यास गरेर आर्थिक सहयोग संकलनमा जुटिरहेको बेला जग्गा फिर्ता लिने निर्णयले आश्चर्यमा परेको कार्यकारी निर्देशक विवेक मानन्धरले बताए । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ११ फागुन २०८० मा बागमती प्रदेश कार्यालयको भवनको शिलान्यास गरेका थिए ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले १६ चैत २०७९ मा महासंघलाई भवन निर्माणका लागि ३ कठ्ठा जग्गा दिने निर्णय गरेको थियो ।। महासंघले उक्त जग्गामा कम्पाउण्ड वाल निर्माण गरिसकेको छ भने भवन निर्माण पनि अघि बढाएको थियो ।

‘भवन निर्माणका लागि आर्थिक सहयोग उठ्ने क्रम जारी थियो । एक्कासी जग्गा फिर्ताको निर्णयले क्षति पुगेको छ’, कार्यकारी निर्देशक मानन्धरले भने ।

एक्कासी जग्गा फिर्ता लिने निर्णयपछि महासंघको बागमती प्रदेश समितिका कोषाध्यक्ष कविराज खत्री, कार्यकारी सदस्य जीवनकाजी माकजु श्रेष्ठ, कार्यकारी निर्देशक मानन्धर र महासंघको पूर्वकेन्द्रीय सदस्य राजकुमार न्यौपानेले सोमबार अपरान्ह नगरप्रमुख मीनाकुमारी लामालाई भेट गरेका छन् ।

मेयर लामाले महासंघलाई दिएको जग्गाको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि फिर्ता लिने निर्णय गरेको जवाफ दिएकी छन् ।

महासंघको बागमती प्रदेश समितिले सुविधासम्पन्न कार्यालयसँगै बैठक कोठा र सभा सम्मेलन गर्ने स्थान, नवप्रवर्तन र स्थापित उद्यमीका लागि बिजनेस इन्क्युबेटर र एक्सेलेटरका स्थान पनि राख्ने भनिएको थियो ।

हेटौंडा उपमहानगरपालिकाले आफ्नो कार्यालय पछाडि बागमती प्रदेश सरकारलाई दिएको जग्गा पनि फिर्ता लिएको छ ।

उक्त जग्गा हेटौंडा उपमहानगरलाई नै आवश्यक रहेको हुँदा जग्गामा निर्माण हुने सभाहलको स्वामित्व र जग्गाको भोगाधिकार हेटौंडा उपमहानगरपालिकाको नै हुने गरी निर्माण सम्पन्न गरी हस्तान्तरण गरिदिन बागमती प्रदेश सरकारलाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता सबिन न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?