+
+

थुप्रै स्टार जन्माएको फिल्म ‘होस्टेल’ को तेस्रो श्रृंखला बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते ११:२२

काठमाडौं । नेपाली फिल्ममा थुप्रै स्टार जन्माएको फिल्म श्रृंखला ‘होस्टेल’ को तेस्रो अध्याय निर्माण हुने भएको छ । निर्माता कम्पनी र निर्देशक हेरेफेरसहित तेस्रो श्रृंखला बुधबार घोषणा भएको छ ।

संगीतकर्मी सशान कँडेलले यो फिल्मबाट निर्देशकीय डेब्यु गर्दैछन् । यसअघि फिल्मका दुई भागलाई सुनिल रावलको दुर्गिश फिल्म्सले निर्माण गरेको थियो । दुर्गिश फिल्म्सले निर्माणको जिम्मेवारी अर्को ब्यानर सम्मान इन्टरटेनमेन्टलाई प्रदान गरेको जनाइएको छ ।

फिल्मको तेस्रो भागको नाम तय नभएपनि यसको निर्देशन कँडेलले गर्नेछन् । पटकथा लेखकको रुपमा माधव शर्मा छन् । अघिल्ला दुई भागका निर्माता रावलले तेस्रो श्रृंखलामा अभिनय गर्ने बताइएको छ ।

यसअघि २०७६ सालमा निर्माता रावल आफैंले निर्देशन गर्ने गरी ‘होस्टेल ब्याक अगेन’ शीर्षकमा तेस्रो भाग बनाउने तयारी गरेका थिए । अब भने सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ’होस्टेल ३’ बनाउनेछ । निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शंकर कोइराला, सहनिर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् ।

२०७० सालमा रिलिज भएको ‘होस्टेल’लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने २०७२ सालमा रिलिज भएको ‘होस्टेल रिटर्न्स’लाई सुरज भुसालले निर्देशन गरेका थिए । यी दुवै फिल्म टिनएज ड्रामा जनराका थिए । घरेलु बक्स अफिसमा यी दुवैले राम्रो कमाइ समेत गरे ।

निर्देशक कँडेलले तेस्रो श्रृंखला होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोरकिशोरी र उनीहरूको भविष्यका घटनामा आधारित रहने बताए । उनले यो फिल्मबाट पनि अघिल्ला भागमा जस्तै स्टार कलाकार जन्मिने संकेत गरे ।

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारले डेब्यु गरेका थिए । ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला, प्रदीप चौधरी लगायतले डेब्यु गरेका थिए ।

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका कँडेल डेढ दशकदेखि गायक र म्युजिक भिडियो निर्देशकको रूपमा सक्रिय छन् । उनले अभिनेता राजेश हमाल, आर्यन सिग्देल, पल शाह, आकाश श्रेष्ठ तथा अभिनेत्री करिश्मा मानन्धर, पूजा शर्मा, स्वस्तिमा खड्का, आँचल शर्मा, केकी अधिकारीलाई म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् ।

उनले निर्देशन गरेको चर्चित भिडियोमा पुष्पण प्रधानको चर्चित गीत ‘बाबुको जुङो’, राजेश राईको ’तोडियो तोडियो’, प्रमोद खरेलको ’अन्त माया’, ‘आफू दुःखी बनेर’ आदि छन् ।

फिल्मलाई २०८१ सालको अन्त्यतिर प्रदर्शन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?